काठमाण्डाै- तपाइको मोबाईल हराए वा चोरी भएमा उजुरी गर्ने प्रकृया के कस्तो छ ? उजुरी गरेपछि भेटिने सम्भावना कत्तिको छ कति समय लाग्छ प्रकृया झण्झटिलो छ या सहजै भेट्टाउने वातावरण छ ? यी र यस्ता अनगिन्ती प्रश्नहरु हामी सबैका मनमा उब्जिन सक्छ ।

कति हराउँछन् मोबाइल ?

आर्थिक वर्ष २०७५/७६ को तथ्यांक हेर्ने हो भने एक महिनामा कम्तीमा एघार सयदेखि सोह्र सयसम्म मोबाइल हराएको रेकर्ड छ । यो तथ्यांक महानगरीय प्रहरी परिसरको मोबाइल खोजतलास शाखामा रीतपूर्वक आएका उजुरीहरुको मात्र हो । हराएपछि उजुरी गर्ने निकाय पनि छ र उजुरी गर्दा भेटिने सम्भावना पनि छ भन्ने थाहा नै नभएका र थाहा भएर पनि उजुरी गरे पनि हराइसकेको माल भेटिने होइन भनेर प्रकृयामै नजाने प्रयोगकर्ता त झन् कति होलान् ।

उजुरी कहाँ गर्ने ?

मोबाइल हराएको, चोरी वा लुटपाट भएको थाहा पाउनेबित्तिकै सम्बन्धित सेवा प्रदायक संस्थाबाट सिम ब्लक गर्न लगाएर महानगरीय प्रहरी महाशाखा त्रिपुरेश्वरको मोबाइल खोजतलास शाखामा मोबाइलको आईएमईआई नम्बर वा मोबाइलको बक्स र मोबाइल खरिद गरेको आधिकारिक बिलसहित निवेदन दिनुपर्छ । दर्ता नम्बरसहितको चिट दिएर कम्तीमा १५ दिनपछि सम्पर्क गर्नुपर्छ ।

खोजतलासको प्रक्रिया

दैनिक रीत पुर्याएर दैनिक रुपमा आएका उजुरीहरु आधिकारिक आईएमईआई ट्रेस गर्ने अनुमतिका लागि अदालतमा पठाइन्छ र अनुमतिको तोक लागेर आएका आईएमईआई ट्रेस गर्न सहयोगका लागि प्रयोग भएका सिमअनुसार सम्बन्धित टेलिकम संस्थाहरुसँग समन्वय गरी चोरिएका वा भेटिएका मोबाइल सेटहरु प्रयोग भइरहेको खण्डमा प्रयोगकर्तालाई परिसरमा हाजिर गराइनुका साथै मोबाइल सेट जफत गरी सम्बन्धित उजुरीकर्तालाई खबर गरी हस्तान्तरण गरिन्छ ।

हराएपछि भेटिने सम्भावना कत्तिको छ ?

भक्तपुरकी विन्द्रा श्रेष्ठको मोबाइन कलंकीबाट रत्नपार्क जाने बसमा चोरी भयो । तुरुन्तै टेकुमा रहेको मोबाइल खोजतलास शाखामा उजुरी दिनुभयो । २ महिनासम्म ताकेता गर्नुभयो तर पत्ता लागेन । घरीघरी फलोअप गर्ने र पत्ता लाग्ने सम्भावना खासै नदेखिएपछि उहाँले ताकेता गर्नुभन्दा अर्को मोबाइल किन्नु ठिक सोच्नुभयो ।

यसरी मोबाइल हराएर पहिलोपटक उजुरी गर्नेदेखि १५ दिन वा १ महिने फलोअपमा आउनेहरुको दैनिक लर्को लाग्ने गरेको छ । यसरी मोबाइल हराएको उजुरीको दश प्रतिशतको हाराहारीमा मात्र मोबाइल भेट्टाइने गरेको प्रहरीको भनाइ छ ।

भेटिने सम्भावना किन थोरै भयो त भन्ने प्रश्नमा महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटी भन्नुहुन्छ, ‘चोरिएका मोबाइल यताबाट भारत पुर्‍याइन्छ, त्यसपछि भेटिने सम्भावना रहँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here