काठमाडौं, २६ चैत । राष्ट्रिय जनता पार्टी पछिल्लो समय संघीय समाजवादी फोरम नेपालसँग एकता गर्न तयार भएको छ ।

राजपाले मंगलबार ससफोलाई एकताका लागि आफूहरु तयार रहेको भन्दै पत्र पठाएको हो ।

यसअघि ससफो अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकारमा रहेपनि आपसी सहमति र समझदारी कायम गरी वार्ता र एकताका लागि तयार रहेको भन्दै राजपालाई पत्र पठाएका थिए ।

तर राजपा नेता राजेन्द्र महतोले भने सरकारमा भएको पार्टी र विपक्ष पार्टीबिच कसरी एकता हुन सक्छ भन्दै सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।

मंगलबार राजपा पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकपछि राजपाले ससफोको पत्र सकारात्मक भएको भन्दै आफूहरु पनि वार्ता र संवादका लागि तयार रहेको पत्र पठाएको हो ।

‘सत्तापक्ष र प्रतिपक्षबीच एकीकरण सम्बन्धमा यहाँहरुले आपसी सहमति र समझदारीकै आधारमा यस्ता विषयहरु हल गर्न सकिने सकारात्मक कुरा गर्नुभएकोले यस विषयमा थप वार्ता र संवादन गर्न सकिन्छ,’ ससफोलाई पठाइएको पत्रमा उल्लेख छ ।

राजपाले वार्ता र एकताका लागि राजेन्द्र महतोको अध्यक्षतामा वार्ता समिति बनाएको छ । पत्रमा यो विषय पनि जनाइएको छ ।

र दुई दलबीच चाडै वार्ता हुने र एकता प्रयास निष्कर्षमा पुग्ने अपेक्षा समेत गरिएको छ ।

ससफोले भने यसअघि नै राजेन्द्र श्रेष्ठको अध्यक्षतामा वार्ता समिति बनाएको थियो ।

वार्ताका लागि उसले सबभन्दा पहिला राजपालाई पत्र पठाएको थियो ।

राजपाले यसअघि पनि सरकारमा भएको र प्रतिपक्षमा भएको दलबीच कसरी वार्ता र एकता गर्न सकिएला ? भन्ने प्रश्न र अन्यौलसहितको पत्र ससफोलाई पठाएको थियो ।

त्यसपछि नै ससफो अध्यक्ष यादवले आफूहरु सरकारमा रहे पनि आपसी सहमति र समझदारीको आधारमा एकता गर्ने र एकतापछि सरकारमा रहने वा नरहने भन्ने निर्णय गर्नुपर्छ भन्दै पत्र पठाएको थियो ।

यसबिच दुई दलबिच एकता जटिल पनि देखिएको विश्लेषण गरिएको छ । अर्कोतिर दुई दलबिचको वार्ता पत्रमा मात्रै सीमित भएको टिप्पणी पनि गरिएको छ ।

दुवै दलले एकताका लागि वार्ता समिति गठन गरिसकेको भए पनि अहिलेसम्म औपचारिक वार्ता भएको छैन ।
यसबिचमा ससफो र नयाँ शक्तिबिच पनि एकताको वार्ता गरिने बताइएको छ ।

ससफो उपाध्यक्ष रकम जेम्जोङले नयाँ शक्तिसँग पनि एकताको प्रयास जारी राखिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here