काठमाडौं, २६ चैत । राष्ट्रिय जनता पार्टीले नागरिकता सम्बन्धी सर्वोच्च अदालतले दिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार राजपाको अध्यक्ष मण्डलको अध्यक्ष शरतसिंह भण्डारीको अध्यक्षतामा पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डल बैठक बसेपछि राजपाले प्रेस विज्ञप्ती जारी गरी सर्वोच्च अदालतको आदेशप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

केही दिनअघि गृहमन्त्रालयले ७७ वटै जिल्लामा जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन निर्देशन तथा परिपत्र गरेको थियो ।

सोमबार अदालतले गृहमन्त्रालयको उक्त परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेश संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था विपरीत भएको राजपाले दाबी गरेको छ ।

राजपाले सर्वोच्च अदालतले यसअघि जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन आदेश दिएको भए पनि हाल आप्mनै आदेशको विरुद्धमा अर्को आदेश दिएको उल्लेख गरेको छ ।

अदालतको यो आदेशबाट लाखौ नेपालीलाई नागरिकताविहीन बनाउन सक्ने भन्दै राजपाले चिन्ता व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here