माेरङ, २४ चैत । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित स्वास्थ्य चौकीमा आइतबार स्वास्थ्यसम्बन्धी नौलाे सन्जाेग मिल्यो ।

नगरपालिकाको आयोजनामा हलमा विश्व स्वास्थ्य दिवस—२०१९ चलिरहेको थियो । नगरको कार्यकारी अधिकृत सुर्यप्रसाद गौतमको सभापतित्वमा स्वयम सेवी, सञ्चारकर्मी, जनप्रतिनिधिहरु वीचको कार्यक्रममा स्वास्थ्य सम्बन्धी आदर्शका विवरणहरु पेश भइरहदा बाहिर सयभन्दा बढी नवजात शिशु रोइरहेका थिए ।

नियमित खोप लगाउन आफ्ना नानीहरु बोकेका बाबुआमा बस्नेठाउँ नपाएर उभिएर लामै लाइनमा थिए । गर्मिको कारण कतिपय बाबुआमाको अनुहारमा पसिना देखिन्थे ।

अधिकांश शिशु रोइरहेका थिए । नगरपालिकाको हल भित्र नगरको सहसंयोजक जगत मगर र उमेश गुरागाईले प्रोजेक्टरद्वारा स्वास्थ्य सम्बन्धी जानकारीमूलक विभिन्न विवरणहरु पेश गरिरहेका थिए ।

बाहिर भने आफ्नो नानीहरुलाई खोप लगाउन लाइनमा बस्दा नै स्वास्थ्य अवस्था विग्रने गरी लाइनमा उभिरहेका देखिन्थे । यसरी लाइनमा उभिनेमा चार महिनाको नानी बोकेका नगरपालिका—१ का कम्लेस सहनीले नगरले विरामी र खोप लाउन आउने आम बुवाको लागि टहरा बनाइ दिए राम्रो हुने बताए ।

नगरपालिका—१० को सञ्चमाया राई र विमला मगरले भने घरैदेखि हट कार्पेट बोकेर ल्याएका रहेछन् । उनीहरु धुलाम्य भुँइमा ५ महिनाभन्दा कम उमेरका नानी बोकेर लाइन कुरिरहेका भेटिए । आइतबार यसै गरी ३—४ घण्टा कुरेर आमाबुबाले १३० जना नानीहरुलाई खोप लगाए ।

प्रत्येक महिनाको २४ गते उक्त स्थानमा सय भन्दा बढी बाबुआमाले यसैगरी लाइन लाग्नु पर्ने बाध्यता छ ।

स्वास्थ्य चौकीमा विरामी र खोप कार्यक्रममा सुत्केरी आमा बस्ने स्थानको निर्माण किन गरिएन त ? यो प्रश्नमा पथरीशनिश्चरे—१ का वडा अध्यक्ष बाबुराम लिम्बूले भने आफूले पटक—पटक नगर कार्यपालिकामा बिरामी बस्ने टहरा निर्माण गर्न प्रस्ताव राख्दा सुनुवाई नभएको बताए ।

स्वास्थ्य प्रमुख मुरारी आचार्य भने टहरा निर्माण हुँदा राम्रो हुने धारणा दिए । नगरपालिकाले चाहेमा श्रोतको अभाव नहुदा नहुँदै पनि नानिहरुलाई खोप लाउन आउदा सुत्केरी आमा आफै विरामी हुँनुपर्ने बाध्यताको अन्त्य हुनुपर्दछ ।

नगरपालिका भित्र चार स्थानमा यस्तै खोप कार्यक्रम हुने गरेको स्वास्थ्य कर्मी यमबहादुर खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here