भक्तपुर, २४ चैत । नयाँ शक्ति पार्टीका नेता नेता पेम्बा लामा र शेरबहादुर तामाङ संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

साथै समाजसेवी अशोक तामाङ पनि ससफोमा प्रवेश गरेका छन् ।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा तीन नेतासहित ४९ जना ससफोमा प्रवेश गरेका छन् । उनीहरुलाई ससफोका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत गरे ।

सो क्रममा उनले आजसम्म सिंहदरबार धनी वर्गको पक्षमा मात्रै उभिएको बताए ।

उनले भने, ‘आजसम्म सिंहदरबार धनीको सेवामा लागे, उत्पीडित समुदायहरु वरिष्करणमा परे । अब उत्पीडनमा परेका सबैखाले गरिब दुःखीले सिंहदरबारमा झण्डा हल्लाउन सक्ने दिनको सिर्जना गर्नुपर्छ ।’

उनले ससफोको नीति, सिद्धान्त र विचार नयाँ भएकोले यस पार्टीले मात्रै मुलुकलाई निकास दिन सक्ने बताए ।

सांसद श्रेष्ठले आफ्नो पार्टीले अगाडी सारेको सङ्घीय समाजवाद उत्पीडित समुदाय र श्रमजीवी वर्गको मुक्ति र समृद्धिको सिद्धान्त भएको बताउँदै भने, ‘उत्पीडित समुदाय र गरिव दुःखिको सिंहदरवार बनाउन सङ्घीय समाजवाद चाहिन्छ ।’

उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी दुुबैले संघीयताका सन्दर्भमा सही दृष्टिकोण आत्मसात गर्न नसकेको मात्र होइन समाजवादकै दृष्टिले पनि ती पार्टीहरू नक्कली भएको बताए ।

जिल्ला अध्यक्ष दिना लामाको अध्यक्षतामा भएको उक्त प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका सहइन्चार्ज कृष्णवहादुर घःजु, नेवाः प्रदेशका इन्चार्ज न्हुच्छेलाल महर्जन, संघीय तामाङ संघका अध्यक्ष जय गोले, पार्टीका ३ नम्बर प्रदेश सदस्य सुरेन्द्र प्रधान लगायतले पनि ससफाेमा आवद्ध भएका नयाँ साथीहरूलाई स्वागत गर्दै यथासिघ्र जिम्मेवारी दिइने बताए ।

कार्यक्रममा समाजवादी युवा फोरमका सचिवालय सदस्य दिलीप पटेल, ताम्सालिङ समितिका उपाध्यक्ष ज्ञानुलामा लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here