काठमाडौं, ३० फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ले मार्ने योजना बनाएका बताएका छन् ।

आज काठमाडौंको पेरिसडाँडामा वाइसिएलले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

यसअघि उनले मोहन वैद्यले पनि आफूलाई मार्ने योजना बनाएको तर पाँच सेकेण्डले गर्दा मात्रै आफ्नो ज्यान बचेको बताएका थिए ।

आदिवासी जनजाति संगठनले केही महिना बानेश्वरमा आयोजना गरेको अन्तरक्रियामा उनले सो कुरा बताएका थिए ।

अहिले विप्लवले पनि आपूmलाई मार्नका लागि माइन्युट गरेको सूचना आफूले प्राप्त गरेको उनले सुनाए ।

‘विप्लवले पहिलो नम्बरमा प्रचण्डलाई नै मार्नुपर्छ भनेर माइन्युट गर्नुभएको छ रे, र टिम पनि खटाउनुभएको छ रे,’ उनले भने, ‘मलाई ति साथीहरु सम्झिदा माया पनि लाग्छ, दया पनि लाग्छ ।’

उनले जनताको काम गर्दागर्दै आफू प्रचण्ड बनेको भन्दै विप्लवलाई प्रचण्ड बन्न नखोज्न आग्रह गरे ।

‘प्रचण्ड बन्दैन अब । साथीहरु नयाँ बाटो खोज्नुहोस् । कसैले फेरि प्रचण्ड बन्छु भन्छन् भने यो भ्रम हो,’ उनले भने, ‘मैले हिजोका साथीहरुलाई यही सल्लाह दिइरहेको छु ।’

उनले राज्यले संविधान र नियम कानुन अनुसार काम गर्ने चेतावनी दिँदै सोच विचार गरेर मात्रै अघि बढ्न विप्लवसँग आग्रह गरे ।

उनले विप्लवले राजनीतिक परिवर्तन उल्टाउने काम गर्न खोजेको समेत बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here