काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग वार्ता नगर्ने बताएका छन् ।

उनले हिंसा र बिस्फोट गरेर आतंक मच्चाउने र लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने प्रष्ट पारेका हुन् ।

नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

गत फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग आज बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको बताए ।

‘कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए ।

कम्युनिष्टले त यूवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘कम्युनिष्टले त यूवाहरुलाई कर्मशिल हुन, सही बाटोमा हिडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो,’ उनले भने, ‘यहाँ त कम्युनिष्टको नाममा यूवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

प्रधानमन्त्री ओलीले गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गरे । उनले यस घटनाबारे सरकारले छानविन गर्ने प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here