काठमाडौं, २७ फागुन । पहिचानका लागि खुलेका राजनीतिक दल र सामाजिक संगठनमा लागेकाहरुले नै लिम्बुवान विरोधी हर्कतमा लागेकाहरुलाई सुरक्षा दिइरहेको भन्दै लिम्बुवान पक्षधर केही युवाहरुले ‘लिम्बुवान स्प्रिङ आन्दोलन’ सुरु गरेका छन् ।

उनीहरुले आइतबार प्रेस वक्तव्यमार्फत आफूहरु लिम्बुवान स्प्रिङ आन्दोलनको नाममा संगठित भएको जनाएका हुन् ।

उनीहरुले लिम्बुवान भूमिको पहिचान र अस्तित्वका लागि विभिन्न मञ्चमार्फत निरन्तर आन्दोलन गरिरहेकाहरुलाई लिम्बुवान विद्रोहका लागि तयार रहन आह्वान समेत गरेका छन् ।

लिम्बुवानविरुद्ध अभिव्यक्ति दिने व्यक्तिहरुलाई सशक्त बहिष्कारको अभियान चलाइने चेतावनी दिइएको छ ।

‘पछिल्लो समय लिम्बुवानको ऐतिहासिकतालाई नामेट गर्दै पहिचानमा लागेका आम उत्पीडित समुदाय, वर्ग र क्षेत्रको भावनामाथि जुन कुठाराघात हुने किसिमले हत्कण्डा मच्चिरहेको छ, त्यो निन्दनीय छ,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रदेशको नामाकरणको सवाल उठिरहँदा पूर्वको संघीय इकाईलाई लिम्बुवान बाहेकको नामले सम्बोधन गराउने जुन दुस्प्रयास भइरहेको छ, त्यस कदमको हामी गहिरो शब्दमा विरोध प्रकट गर्दछौ ।’

प्रेस वक्तव्य
मितिः २०७५।११।२६
आदरणीय लिम्बुवानवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरू ।

ऐतिहासिक पृष्ठभूमि, पहिचान र अधिकारका आधारमा विगत लामो समयदेखि लिम्बुवान आन्दोलन चलिरहेको छ । नेपालको पहिचानको आन्दोलनमा समानान्तर इतिहास बोकेको लिम्बुवान भूगोल मुलुकको सङ्घीयकरणको पछिल्लो कडी पनि हो । साँँस्कृतिक, सामाजिक, राजनीतिक र संवैधानिक हिसाबले पटकपटक अनुमोदन भएको ऐतिहासिक शासकीय भूगोल हो लिम्बुवान ।

तर, पछिल्लो समय लिम्बुवानको ऐतिहासिकतालाई नामेट गर्दै पहिचानमा लागेका आम उत्पीडित समुदाय, वर्ग र क्षेत्रको भावनामाथि जुन कुठाराघात हुने किसिमले हत्कण्डा मच्चिरहेको छ । त्यो निन्दनीय छ । न्याय, समानता र लोकतन्त्रका खातिर लिम्बुवानवासीले पटकपटक गरेको सङ्घर्ष र बलिदानीपूर्ण आन्दोलनको अवमूल्यन भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेशको नामाकरणको सवाल उठिरहँदा पूर्वको सङ्घीय इकाईलाई लिम्बुवानबाहेको नामले सम्बोधन गराउने जुन दुष्प्रयास भइरहेको छ त्यस कदमको हामी गहिरो शब्दमा विरोध प्रकट गर्दछौँ ।

अतः लिम्बुवान आन्दोलन चर्किरहँदा गुमनाम भएका अभियान र निर्जीव नामहरूलाई अगाडि सारेर ऐतिहासिक पहिचानलाई धराप पार्न लिम्बुवानविरोधी तत्वहरू सक्रिय भएकोले प्रतिरोधको अभियानमा सामेल हुन आम पहिचानवादी र लिम्बुवानवासी नागरिकहरूलाई हार्दिक आह्वान गर्दर्छौँ । सामाजिक सञ्जालमा जोडिएर निरन्तर लिम्बुवानका पक्षमा विचार प्रकट गर्दै आ–आफ्ना क्षेत्रमा सङ्घर्ष गरिरहेका हामी तपसिलका अभियानकर्मीहरू आजदेखि लिम्बुवान स्प्रिङ आन्दोलन को नाममा सङ्गठित भएको सम्बन्धित सबैमा जानकारी गराउँदछौँ । यसैगरी, पहिचानको नाममा खुलेका राजनीतिक र सामाजिक सङ्गठनमा लागेकाहरूले नै लिम्बुवानविरोधी हर्कतमा लागेका व्यक्ति, तत्व र समूहहरूलाई प्रश्रय दिइरहेकोप्रति पनि हाम्रो समूह घोर भत्सर्ना गर्दछ । लिम्बुवानविरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने व्यक्तिहरूलाई आजैबाट सशक्त बहिष्कारको अभियान पनि सुरु भएको सबैमा अवगत गराउँदै सहभागी हुन अपिल गर्दछौँ ।

लिम्बुवान स्प्रिङ आन्दोलन स्वतःस्फूर्त रूपमा लिम्बुवान युवा अभिायनकर्मीहरूले जन्माएको आन्दोलन हो । सन् २०१० मा भएको अरब स्प्रिङ आन्दोलन यसैगरी सामाजिक सञ्जालबाट सुरु भएर नागरिक तहसम्म पुगेर अवज्ञा, प्रतिरोध र क्रान्तिको चरणसम्म पुगेको इतिहास साक्षी छ । यसर्थ, लिम्बुवान भूमिको पहिचान र अस्तित्वका लागि विभिन्न मञ्चमार्फत् निरन्तर आन्दोलन गरिरहेका आन्दोलनकर्मी मित्रहरूलाई लिम्बुवान विद्रोहका लागि तयार रहन यसै विज्ञप्तिमार्फत आह्वान गर्दछौँ ।
धन्यवाद । जय लिम्बुवान ।

३लिम्बुवान )स्प्रिङ )आन्दोलन३ मा आबद्ध अभियन्ताहरूः
टङ्क सेलिङ सागर केरूङ संगम सुहाङ
अमित थेवे मधु केरूङ इक्साहाङ चेम्जोङ
सेसेफुङ शेर्मा अंशुवर्मा लिम्बु शिव पयाङ्गु
रोहित आङ्बो कबिन्द्र सम्बाहाङफे सञ्जय तुम्बाहाङ्फे
सन्त थलङ विशाल साँबा मुक्साम लाओती
विवश बेनाम हाङ्सेम हाङ्सेम नरेन्द्र खापुङ
धनेन्द्र जवेगू मात्रिका नेम्बाङ नुनाम केरूङ
युगेश सेलिङ सुमी लङ्वा सिङजाङ चेम्जोङ
पदम चेन्जी माबो आदाङ्बे सम्बाहाङ्फे किरण चेम्जोङ
हिमान्सु हिमाली गैरीघरे ठूले लिम्बु किङ
विकेन पालुङ्वा उदय पूर्वेली चोङवाङ क्याक मौसम कुरुम्वाङ लिम्बु
गीता पालुङ्वा पुष्पहाङ लोवा काप्पोबा चुम
कृष्णकुमार सेन्दाङ काम्बाङ हिराप पूर्ण तुम्रोक
मच्छिन्द्र मुदेन्छङ साँवा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here