४२ महिना जेल बसेर छुटेका लक्ष्मण थारुसँग थारुवान डटकमले अन्तर्वार्ता लिएको छ ।
जसमा उनले आफ्नाे जेल जिवनको भोगाइ साट्दै अबको थारु आन्दोलनबारे योजना सुनाएका छन् ।

उनले आन्दोलनको विकल्प नभएकाले तयार रहन अपिल पनि गरेका छन् । आफूहरुलाई जेलमा कोचेर थारुविरोधी संविधान जारी गरिएको उनको भनाइ छ ।

४२ महिनापछि जेल बाहिर आउनुभएको छ । जिल्ला अदालत कैलालीले गरेको फैसलालाई कसरी लिनुभएको छ ?

२०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जुन फैसला गरेको छ, यसले हामीलाई असाध्ययै गम्भीर बनाएको छ । र यो धेरै ढिलो भएको फैसला हो ।

अर्को कुरा यो फैसलालाई गम्भीरताका साथ लिदै कैलाली जिल्ला अदालतलाई सम्मान गर्दै यो फैसला पूर्ण होइन । हाम्रो संवैधानिक कानुनी अधिकार अझै बाँकी छ । र हामी कैलाली जिल्ला अदालतले गरेको फैसलाको अपिल छिटै समयमै हामी पुनरावेदन जान्छौ ।

फेरि पनि हाम्रो आगामी अपिललाई अझ पूर्णता दिँदै हामीलाई न्याय दिनेछ भन्ने विश्वासमा छौ ।

तपाई भैरहवादेखि पक्राउ परी केन्द्रीय कारागारमा ४२ महिना बिताउनुभयो । कारागारका तपाईका तितामिठा घटनाहरु कसरी व्यक्त गर्न चाहनुहुन्छ ?

म बनावटी कैदी हुँ । जबरजस्ती मलाई जेलमा हालियो । कुनै पनि गल्ती कुनै पनि अपराध गरेको थिइनँ ।

यदपि शासकहरुको नियत, थारुलाई हेर्ने दृष्टिकोण, दास मानसिकता, थारुहरुलाई दास बनाउने जुन षडयन्त्र छ यसकैको उपज म लगायत थुप्रै साथीहरुले जेलमा बितायौ ।

जेलमा केही चिज हामीले नयाँ सिक्न पायौ । जेल जिवन सहज थिएन । घर परिवारसँग बिछोड हुनुपर्ने, साथीभाइसँग बिछोड हुनुपर्ने, थुप्रैथुप्रै अभावहरुलाई स्वीकार्दै बस्नुपर्ने र कतिपय साथीहरुको घरमा छोराछोरी पढाउन नसक्ने कापीकलम किन्न नसक्ने समस्या उत्पन्न भयो ।

फेरि पनि हामी सामुहिक रुपमा छलफल गर्यौ र सहज रुपमा जेल जिवन बिताउन चाहन्थ्यौ ।

४२ महिना जेल जिवन बिताउदा देश विदेशका थुप्रै साथीहरुले तन मन धनका साथ जे सहयोग गर्नुभयो उहाँहरु सबैलाई म धन्यवाद दिन चाहन्छु ।

कठोर जिवन शैली र अभावको बिचमा उर्जा प्राप्त गरेर जेलबाट छुटकारा मिलेको छ जस्तो लाग्छ मलाई ।

तपाईका धेरै समर्थकहरुले एउटा प्रश्न गरेका छन् । अब लक्ष्मण थारुले के गर्छन् ? तपाईको अबका एजेण्डा के हुनेछ ?

अब म मेरो गृह जिल्ला धनगढी फर्किदैछु । जहाँ साढे तीन वर्षअघि दुखद् घटना घट्यो । यदपि त्यो थारुहरुको शान्तिपूर्ण आन्दोलन थियो ।

हामीलाई जेलभित्र कोचेर बनाइएको नेपालको नयाँ संविधान २०७२ थारुहरुको भावना, थारुहरुको राजनीतिक अधिकार, कानुनी अधिकार, सांस्कृतिक अधिकार, पहिचानको अधिकार समाप्त पारेको छ ।

र यो संविधान खासगरी थारुविरोधी, थारुहरुलाई फेरि पनि दास बनाउने र थारुहरुको पहिचान समाप्त पार्ने किसिमले आएको छ ।

म चाहन्छु यो संविधान टिकाउपूर्ण होस्, दिर्घायु होस् । यदपि यो संविधान हाम्रो विरुद्धमा छ ।
सिंहदरबारका शासकहरुले थारुहरुलाई हेर्ने दृष्टिकोण के हो ? टीकापुर घटनालाई हेर्ने दृष्टिकोण के हो ? थारुहरुको शान्तिपूर्ण आन्दोलनलाई हेर्ने दृष्टिकोण के हो ?

थारुहरु कुनै आतंककारी होइनन् । थारुहरु हिंसात्मक गतिबिधि गर्ने जत्था होइन । थारुहरु यो देशको सबभन्दा ठूलो राष्ट्रवादी शक्ति हो, राष्ट्रवादी कित्ता हो, राष्ट्रवादी समुदाय हो । जसले आफ्नाे श्रमबाट यो देशलाई राजश्व तिर्छ, यो देशको राजश्वमा सहभागी भएको छ । देशको आर्थिक उन्नतिको लागि थारु समुदायले साथ दिएको छ ।

यो देशको राष्ट्रघाती काम थारुहरुले गरेका छैनन् । त्यसकारण म भन्छु हाम्रो लागि आगामी दिनमा आन्दोलन बाहेक विकल्प छैन ।

साथीहरु जोश र होसका साथ सशक्त भूमिका मैले के गर्न सक्छु ? मेरो समुदायमाथि भएको अन्यायको विरुद्ध मेरो भूमिका के हुन सक्छ ? भनेर तयारी हालतमा सबैजना बस्नुहोस । छिटै नै शान्तिपूर्ण आन्दोलनको माध्यमबाट अगाडि बढ्ने सोच बनाएको छु ।

यही अपिल सबै साथीहरुलाई गर्न चाहन्छु ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here