काठमाडौं, २४ फागुन । टीकापुर घटनामा राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरी लगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरेपछि थारु कल्याणकारिणी सभा र थरुहट÷थारुवान संयुक्त संयुक्त संघर्ष समितिले आन्दोलन थालेको छ ।

आज काठमाडौंको माइतीघर मन्डला र तराईका सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरिएको छ ।

काठमाडौ उपत्यकामा बसोबास गर्ने थारु नेता तथा कार्यकर्ताहरुले माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरे । नेपाल आदिवासी जनजाति महासंघ र विभिन्न जातीय संस्थाका प्रतिनिधिहरु समेत आएर उक्त आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

उनीहरुले थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक संवाद र सहमतिकै आधारमा समाधान गर्न माग गरे ।

टीकापुर घटनालाई राजनीतिक तवरले नै समाधान गर्न माग गरिएको कालो व्यानर र हातमा प्लेकार्ड बोकेर माइतीघरमा करिब दुईघन्टा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा उक्रिएका उनीहरुले ‘थारुहरुमाथिको दमन बन्द गर सरकार, थरुहट आन्दोलन राजनीतिक हो, अपराधिक होइन, झुटा मुद्दा खारेज गर’लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

समितिले भोलि फागुन २५ गते सर्वपक्षीय बैठक राखेर आन्दोलनको थप कार्यक्रम तय गर्ने भएको छ ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here