काठमाडौं- राष्ट्रिय जनमुक्ति पार्टीका सचिव बलदीप प्रभाश्वर चाम्लिङले २००७ सालमा तानाशाही राणा शासन ढाल्ने काममा तत्कालीन कांग्रेसको भन्दा माझ किरातको ठूलो भूूमिका रहेको बताएका छन् ।

फेसबुकमार्फत आफ्नाे विचार राख्दै आएका उनले राणा शासन ढाल्ने निर्णायक भूमिका खेल्ने माझ किरातका नारदमुनि थुलुङ र रामप्रसाद राई नै भएको बताए ।

उनले १०४ वर्षे राणा शासन ढाल्न भूमिका खेल्ने किरातीहरु आज कोही कांग्रेस र कोही कम्युनिष्ट पार्टीको नाममा बिटुलिएको टिप्पणी गरेका छन् ।

यस्तो छ उनको लेखः

राणा ढाल्ने कांग्रेस होइन, माझ किरात
राणा शासन ढाल्ने काममा निर्णायक भूमिका खेल्ने त्यो बेलाका माझ किरातका नारदमुनि थुलुङ र रामप्रसाद राई कांग्रेस थिएनन् ।

नारदमुनि थुलुङले त प्रजातन्त्र आएपछि विस २००८ मा मात्र कांग्रेस सभापति मातृकाप्रसाद कोइरालाको आग्रहमा कांग्रेसको सदस्यता लिएका थिए । रामप्रसाद राईलाई पछि बेपत्ता बनाइयो ।

उता जीबी याक्थुम्बा भने कांग्रेस नै थिए ।
माझ किरातका राईहरू विद्रोहमा होमिएपछि मात्र राणाहरूको ढ्याङ्ग्रो बज्यो । किराती जागेपछि टिक्न सकिन्न भन्ने मनोविज्ञानको विराषदले ठूलै काम गर्यो ।

उता कांग्रेसको संगठन देशव्यापी थिएन । अन्य ठाउँमा कांग्रेसले गरेका आक्रमणहरूलाई राणाहरूले भुसुनाको टोकाई ठानिरहेका थिए । कांग्रेसले युद्धमा जे गर्नुपर्ने त्यसको नाक जीबी याक्थुम्बाले थामिदिएका थिए ।

ओखलढुङ्गाको एक आक्रमणमा संलग्न भोजपुर दिङ्ला निवासी मुक्तिप्रसाद चापागाईंले राणाविरूद्ध लड्ने कोही बाहुनछेत्री लडेको नदेखेको कुरालाई औल्याउँदै लेखेका छन्

म मात्रै एउटा कांग्रेस थिएँ अरू सबै
किराती थिए ।

आजको किरात
हिजोका अर्ग्यानिक किरातहरू आज कांग्रेस-कम्युनिष्टहरू भएर दुषित भएका छन् । बिटुलिएका छन् । आफ्ना सन्ततिहरूलाई गुलाम बनाइरहेका छन् । आफ्नो नामाकरण सगरमाथा गरिदिने हुँदा पनि नदुख्ने मुर्दा भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here