‘सिविआर’ खिजीदेम्बालाई सम्मान

काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा २ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयको ४६ औं बार्षिकोत्सवको अवसरमा ‘सिविआर कार्यक्रम’ सम्मानित भएको छ । ओखलढुंगा सामुदायिक अस्पताल, समुदायमा आधारित पुनः स्थापना कार्यक्रम (सिविआर) खिजीदेम्बालाई विद्यालयले सम्मानपत्र प्रदान गरेको हो ।
स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, शसक्तिकरण र सामाजिक समावेशिकरणलाई जोड दिई अपांगता क्षेत्रमा काम गर्दै आएको कार्यक्रमलाई बार्षिकोत्सवको अवसरमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले सम्मान पत्र प्रदान गर्नुभएको प्रधानाध्यापक चित्रकुमार पौडेलले जानकारी दिनुभयो ।


सन् २०२० देखि लागू भएको परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै विद्यालयलाई अपांगता मैत्री बालकक्षा निर्माण गरी पठनपाठनका लागि सहयोग गरेको थियो । त्यस्तै, शिक्षक र अपांगता भएका परिवारका अभिभावकका लागि तालिम, विद्यालयलाई फर्निचर, शैक्षिक तथा श्रव्यदृश्य सामाग्री समेत सहयोग गरेको सिविआर कार्यक्रमका खिजीदेम्बा टोली प्रमुख प्रेम जिसीले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत विद्यालयमा सन्देशमुलक भित्ते लेखन, अपांगमैत्री वातावरण निर्माणमा सहायता, समावेशी शिक्षा र बालकक्षाका सहजकर्ताहरुका लागि आइसिडिपी तालिम समेत सञ्चालन गरेको थियो । सिविआरले अपांग बालबालिकाको शैक्षिक उन्नयनका लागि घरपरिवार र अभिभावकहरुलाई अभिमूखिकरण तालिम, जिविकोपार्जनका लागि आर्थिक सहयोग, घरमै पढ्न र सहज रुपमा हिँडडुल गराउन सहयोगी सामाग्री उपलब्ध गराउने लगायतका कार्यहरु गरेर योगदान पुर्याएको भन्दै विद्यालयले सम्मान गरेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो. ।


सिविआरले ओखलढुंगा जिल्लाको खिजीदेम्बा र मोलुङ गाउँपालिकाभित्र अपांगताको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । त्यसै अनुरुप चण्डेश्वरीमा पनि कार्यक्रमहरु सञ्चालन गरेको र कार्यक्रम प्रभावकारिताको मूल्याङ्कन गर्दै विद्यालयले आफूहरुलाई सम्मान गरेको कार्यक्रमका खिजीदेम्बा टोली प्रमुख जिसीको भनाई छ । सिविआरले अपांगता भएका व्यक्तिहरुलाई जिविकोपार्जन लगायत विभिन्न पाँच वटा क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार