पिके फाप्रेका विद्यार्थीलाई शेर्पाद्धारा सहयोग

ओखलढुंगा । ओखलढुंगाका खिजीदेम्बा गाउँपालिका वडा न ९ पिके आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि विभिन्न सागम्री वितरण भएको छ । स्थानीय पर्यटन व्यवसायी पासाङ दावा शेर्पाको नेतृत्वमा ६५ जना विद्यार्थीलाई सामाग्री वितरण गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमकावीच ७० थान ज्यामिक्ट्री वक्स, ८० जोर लत्ताकपडा, एक सय जोर पञ्जा, ६० जोर मोजा र बालकक्षादेखि कक्षा ३ सम्मका लागि ३८ जोर जुत्ता वितरण भएको प्रधानाध्यापक नुरी शेर्पाले जानकारी दिनुभयो । सिंगपुर बस्नुहुने त्रिस तन, डेनिला तन, ती वि लि, करेन तनको सहयोगमा जीवन सारथी संस्था र व्यवसायी शेर्पाले सामाग्री हस्तान्तरण गर्नुभएको प्रअ शेर्पाले जानकारी दिनुभयो ।


पर्यटनसँगै सामाजिक सेवामा क्रियाशिल शेर्पा साविक पात्ले ४ मैदान निवासी हुन् । दुर्गम क्षेत्रको बालबालिकाहरुको अवस्थालाई ध्यानमा राख्दै पठनपाठनलाई निरन्तरता दिन हौसला प्रदान गर्ने हेतुले सामाग्री सहयोग गरेको सहयोगी शेर्पाको भनाइ छ । तत्कालिन अवस्थामा गाउँमा विद्यालय नहुँदा र पठनपाठनका लागि वातावरण नहुँदा राम्रो शिक्षादिक्षा हासिल गर्न नसकेपनि बालबालिकाहरुलाई त्यसो नहोस् भन्ने भावनाका साथ बालबालिकाको उज्ज्वल शैक्षिक भविष्यको कामनासहित स्टेशनरी लगायतको सामाग्री वितरण गरेको शेर्पाको कथन छ ।


कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा अन्य दाताहरुले पनि नियमित रुपमा सहयोग गरिरहेको र पर्यटन व्यवसायी शेर्पा समेत सहयोगीको रुपमा थपिँदा व्यवस्थापन गर्न हौसला मिलेकाले यसबाट विद्यार्थी टिकाउदर र भर्नादर समेत बृद्धि हुने कार्यबहाक अध्यक्ष आँदामी शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार