आफ्नै तस्वीर मायाको चिनो पाएपछि…

तुलसा राई

ओखलढुंगा । करीव एक सय ५० बर्षअघि बनेको गुम्बा । त्योपनि १९९०, २०४५ र ७२ सालको भूकम्प र कयौं पराकम्पनहरुले झिर्ण बनेको । ०७२ को भूकम्पपछि धेरै गुम्बाहरुले पुनर्जिवन पाए अर्थात पुनः निर्माणमा परे तर यो गुम्बाले त्यस्तो मौका पाएनन् । त्यतिमात्रै हैन स्थानीयस्तरबाट सामान्य मर्मतको काम समेत भएन । यही झिर्ण सोनाम छोलिङ गुम्बाको अगाडी २१५१ औं ग्याल्पो ल्होसार शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको थियो ।


ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ५ धर्तुकनासा (शेर्पा भाषामा) अर्थात उदिन्ढुंगामा गुम्बा व्यवस्थापन समितिले ल्होसार कार्यक्रम आयोजना गरे । सिद्धिचरण वडा नं. ४, ५, ७ र ११ का स्थानीय बौद्धमार्गी र गैरवौद्धमार्गीहरु समेत कार्यक्रममा बाक्लो उपस्थिती थियो । माघ २७ गतेबाट शुरु भएको ग्याल्पो ल्होसारको अन्तिम दिन फागुन १२ गते आयोजना भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन खनाल (तेजेन्द्र) लाई आमन्त्रण गरेपनि पार्टीको कामका कारण देखाउँदै उपस्थित हुनुभएन ।

यसपटक मात्रै हैन उहाँ गत बर्षपनि नआउनु भएको आयोजकको भनाइ थियो । प्रमुख अतिथि नआइपुगेपछि कार्यक्रममा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई विशेष अतिथि तर प्रमुख अतिथिकै भूमिकामा आसनग्रहण गराइयो । त्यस्तै, कार्यक्रममा नगरभित्रका वडा नं. ५ का अध्यक्ष डिल्लीशेर राई, वडा नं. ७ का अध्यक्ष भलबहादुर कटवाल र वडा नं. ११ का अध्यक्ष विनोद ताम्राकार लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुलाई मञ्चमा बोलाइयो । नेपाल शेर्पा संघका केन्द्रीय सचिव लाक्पा जी शेर्पा, केन्द्रीय सदस्य ल्हमु शेर्पा, जिल्ला अध्यक्ष पेम्बा शेर्पा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु कार्यक्रममा हुनुहुन्थ्यो ।
ल्होसार मनाउने परम्परागत विधि अनुसार विहानैदेखि आयोजकले डेसिल, छङ्ग्युल, खाप्से, सुचिया लगायत तयार पारेर अतिथिको स्वागत गरी रहेका थिए । त्यस्तै, पेयपदार्थहरु स्थानीय उत्पादन कोदोको रक्सी मात्र नभई ड्यु, स्प्राइट लगायतको पनि राम्रो प्रबन्ध थियो । त्यस्तै, अन्य परिकारहरु स्वऐच्छिक रुपमा पस्किएर खाने व्यवस्था मिलाइएको रहेछ ।


गुम्बाको जति ऐतिहासिक महत्व छ कार्यक्रमपनि त्यस्तै रुपमा सम्पन्न हुँदै थियो । शेर्पा संस्कृतिमा आधारित विभिन्न खाले नृत्यहरुले कार्यक्रमलाई रौनकता बढाई रहे । विशेषगरी बालकलाकारहरुको सुन्दर नृत्यबाट सहभागिले भरपूर मनोरञ्जन लिइरहे । सँगै नाचे सँगसँगै झुमिए । अतिथिहरुले आ–आफ्नो क्षेत्रबाट बोल्ने क्रम चल्यो । कतिपयले जनप्रतिनिधिप्रति आक्रोश पोखे । जनप्रतिनिधिले गुम्बालाई तत्काल पुनः निर्माण गर्ने आश्वान दिए । अधिकांशले भाषा, कला, संस्कृतिको संरक्षण र विकासका लागि जागरुप हुनुपर्नेमा एकमतले जोड दिइरहे ।
करीव १० जना बढीले भनाइ राखिसकेपछि विशेष अतिथिले आफ्नो भनाइ राख्ने पालो आएसँगै खिजीदेम्बा गाउँपालिका अध्यक्षले आफ्नो भनाइ राख्नुभयो । गुम्बा पुनः निर्माण, लोसारको ऐतिहासिकता, ओखलढुंगामा शेर्पा जातिको इतिहास, शेर्पा समुदायको राजनैतिक अवस्था र नेतृत्व चयन लगायत विषय अध्यक्षका भनाइमा समेटिए ।

त्यस्तै, अध्यक्ष शेर्पाले समयसापेक्ष जनप्रतिनिधिहरुले काम गर्न सोही अनुरुप नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सँगै, राष्ट्र प्रेमले ओतप्रोत गीतपनि गाउनुभयो । त्यस्तै, आफ्नो पुराना दुईतीन वटा गीतमार्फत सहभागिलाई मनोरञ्जन समेत गराउनु भयो ।
अध्यक्ष शेर्पाको मन्तव्य लगतै मायाको चिनो दिने पालो आयो । उद्घोषिका दालकी शेर्पाले उद्घोष गर्न पाउँदा नपाउँदै मञ्चमा ठूलो ‘फ्रेम’ आइपुग्यो । मायाको चिनो प्रदान गर्न कार्यक्रमका सभाध्यक्ष छिरिङ दावा शेर्पा मञ्चमा पुगिसक्नु भएको थियो भने ग्रहण गर्न अध्यक्ष शेर्पापनि मञ्चमा उक्लिनुभयो । ठूलो ‘फ्रेम’ पर्दा अर्पण भएकै थिएन ।

केही समय ढिला गरी ठूलो फ्रेमलाई सभाध्यक्षले दर्शकतिर फर्काए । महोलमा एकाएक सन्नटा छायो । अध्यक्ष शेर्पा स्वयम् भावुक बने । ठूलो फ्रेममा विशेष अतिथि अध्यक्ष शेर्पाकै ‘स्केच’ थियो । अत्यन्तै कलात्मक तवरले कोरिएको त्यो स्केच हस्तान्तरण गर्दै गर्दा केही समयअघि चुपचाप रहेका दर्शकले ठूलो आवाजसहित जोडदार ताली बजाए । यो क्रम करिव १० मिनेटसम्म चल्यो । मायाको चिनो प्रदान गर्दै गर्दा सबै अतिथि, दर्शक लगायत पालैपालो तस्वीर खिच्न पुगे ।

 

सामुहिक र एकल तस्वीर खिच्ने क्रम चल्यो । स्थानीय एक जना शेर्पा कलाकारले ‘स्केच’ गर्नुभएको रहेछ । आयोजकमने सिर्जनशिलतालाई सबैले सम्मान गरे । नागरिकको मायाप्रति अध्यक्ष शेर्पाले शिर निहुराउँदै सम्मान व्यक्त गर्नुभयो । लामो समय अमेरिका वसाई त्यागेर नेपाल आउनुभएका शेर्पा अध्यक्षमा निर्वाचित भई सकृय रुपमा नागरिकको सेवा गरीरहनुभएको छ । श्रम संस्कृतिमार्फत समृद्धीको यात्रा अघि बढाइराख्नु भएका अध्यक्ष शेर्पाको क्रियाशिलताको सम्मान स्वरुप आफ्नै तस्वीर ‘स्केच’ गरी मायाको चिनो स्वरुप प्रदान गरिएको आयोजकले सुनाए ।


जनप्रतिनिधि, नेताहरुले सर्वत्र गाली पाइरहेको बेला अध्यक्ष शेर्पाले तालीसँगै आकर्षक मायाको चिनो पाउनुभयो । राम्रा काम गर्नेलाई सबैले रुचाउने रहेछ भन्ने प्रमाणित भयो । यसबाट आफूलाई काम गर्न थप हौसला मिलेको अध्यक्ष शेर्पाले प्रतिकृया दिनुभयो । ‘यहाँहरुको यस्तो अपार मायालाई संगालेर सदैव सेवा गर्न पाउँ, सबैप्रति सम्मान, नमन ।’ भन्नु हुँदै अध्यक्ष शेर्पा कार्यक्रमस्थलबाट विदा हुनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार