ओखलढुंगाबासी तामाङ समुदायको ल्होछार काठमाडौंमा सम्पन्न

काठमाडौं । ओखलढुंगा–काठमाडौं तामाङ सेवा समाजको आयोजनामा २८६० डुक सोनाम ल्होछार सम्पन्न भएको छ । राजधानीको गोकर्णस्थित यज्ञडोल शहिद पार्कमा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको प्रमुख आतिथ्यतामा ल्होछार शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।


समाजका अध्यक्ष दिर्गमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका आजिवन सदस्य, विभिन्न सहयोगी महानुभावहरु, कलाकार र खिजीदेम्बा गाउँपालिका अध्यक्ष लगायतलाई सम्मान गरेको सहसचिव सुवास तामाङले जानकारी दिनुभयो ।


बार्षिक रुपमा आयोजना हुँदै आएको शुभकामना आदनप्रदान, बनभोज तथा सांस्कृतिक कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा ताम्बा कलाकारहरुले साङसेर्किम, वाई डम्फु नृत्य प्रस्तुत गर्नुका साथै बालकलाकारहरुले तामाङ संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरे । त्यस्तै, चर्चित नादिङ सेलो कलाकार इन्द्र गुरुङ, जिवन बम्जन, सुस्मिता कटवालको प्रस्तुती रहेको थियो ।


औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष शेर्पाले भाषा, कला, साहित्यको सम्द्र्धन विकासमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । भाषिक विकासका लागि तीनै तहको सरकारले बजेट व्यवस्थापन गरेर नीतिगत रुपमा अघि बढाउन सकेमात्रै आम आदिवासीहरु प्रति सम्मान हुने उहाँको भनाइ थियो । खिजीदेम्बा गाउँपालिकाले मातृभाषाको दिगो संरक्षण र सम्बद्र्धनका लागि स्थानीय विषय अन्तर्गत मातृभाषामा पाठ्यक्रम निर्माण लगायत थुप्रै नीतिगत र दीर्घकालिन विषयहरु अघि बढाएको र यसले भाषिक, सांस्कृतिक अधिकारलाई संस्थागत गर्न मद्दत पुग्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।


कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रीय महासचिव लाक्पा शेर्पाले पूर्खाहरुले मान्दै आएको ल्होछार पृथ्वीनारायण शाहको राज्य विस्तारसँगै दमित हुँदै गएको दाबी गर्नुहुँदै एकल नश्लिय चिन्तन भएका शासकहरुले आदिवासी ज्ञान, सीप, संस्कृतिलाई विस्तारै सिध्याउँदै लगेको दाबी गर्नुभयो । उहाँले नेपाल राष्ट्र राज्यको रुपमा विकास गर्दै एकल रुपमा अघि बढाउन खोजेको र त्यसैको प्रभावले पछिल्लो पुस्तासम्म ल्होछार मनाउने परम्परा नै विर्सिसकेको जिकीर गर्नुभयो । महासचिव शेर्पाले नेपाल बहुराष्ट्रिय राज्य बन्नु पर्ने त्यो भनेको ताम्सालिङ स्थापना हुनु रहेको बताउनुभयो ।


त्यस्तै, पूर्व अध्यक्ष प्रदीप तामाङले राज्यले आम तामाङ लगायत उत्पीडित जाति समुदायको आवाज कहिल्यै सुन्न नसकेको र अपहेलित भएर बस्नु परेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । अर्का वक्ता ओखलढुंगा ह्याङ्ला तामाङ समाजका अध्यक्ष अशोक तामाङले विभिन्न कार्यक्रमहरु संयूक्त रुपमा आयोजना गर्न आगामी दिनमा सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष दिर्गमान तामाङले संस्थामा पछिल्लो साधारणसभापछि १३ जना आजिवन सदस्य, दुई दर्जन भन्दा बढी डम्फु र टुग्ना सहयोग प्राप्त भएको सो अवसरमा जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार