शेर्पा परम्परागत वैवाहिक गीति संग्रह सार्वजनिक

काठमाडौं । शेर्पा जातिको वैवाहिक कार्यक्रमहरुमा गाइने परम्परागत गीतहरुको संग्रह सार्वजनिक भएको छ । ल्हाङिमा शेर्पाद्धारा संकलित गीति संग्रह राजधानीमा आयोजित एक कार्यक्रमकावीच सार्वजनिक गरेको हो ।
हिमाली शेर्पा सांस्कृतिक समाजद्धारा डुक ल्हो २१५१ औं ग्याल्पो ल्होसारको अवसरमा आयोजित कार्यक्रममा ‘जम्बुलिङ श्यर्वी जेन्दी लु’ को नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले सार्वजनिक गर्नुभयो ।
सोलुखुम्बु, ओखलढुंगा, ताप्लेजुङ, खोटाङ, सिन्धुपाल्चोक लगायत जिल्लामा शेर्पाहरुले गाइने रैथाने गीतहरुलाई संकलन गरेर पुस्तकको रुपमा प्रकाशन गरेको संकलन शेर्पाको भनाइ छ । ३५ वटा गीतहरु समेटिएको पुस्तक प्रकाशनका लागि नेचा सल्यान १ स्थित सिमखर्क र योली किदुगले आर्थिक सहयोग गरेका छन् । त्यस्तै, लेखन समूहमा लाक्पा शेर्पा, रिङिमा शेर्पा, पेम किली शेर्पा र छोकी शेर्पा रहनु भएको छ ।


गीतको पुनरालोकण र व्याकरणमा भाषाका जानकार नुरु छेपाल शेर्पाले भूमिका खेल्नु भएको छ भने कम्प्युटरमा पासाङ रिन्जी शेर्पा रहनु भएको जनाइएको छ । पहिलो संस्करण पाँच सय प्रति प्रकाशन गरेको र मूल्य व्यक्तिगत तीन सय र संस्थागत पाँच सय तोकिएको लेखक शेर्पाले जानकारी दिनुभयो ।
पुस्तकले शेर्पा जातिको गीतहरुको अभिलेखिकरण भएको र यसले समुदायमा ठूलो योगदान पुग्ने महासचिव शेर्पाको भनाइ छ । भाषा, संस्कृति, साहित्य, कला र परम्परागत मान्यताहरुको रक्षा गर्दै भावि पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनु हुँदै महासचिव शेर्पाले यस्तै खाले सत्प्रयासहरु समुदायका लागि महत्वपूर्ण हुने बताउनुभयो ।


गीत संकलकले शेर्पा समुदायमा रहेका विभिन्न संघसंस्थासँग मिलेर गाउने तरिका समेत सिकाउँने वातावरण निर्माण गर्न सकेमा पुस्तकको सार्थकता अझ बढ्ने कार्यक्रमका वक्ताहरुको जोड थियो ।


यसैवीच, हिमाली शेर्पा सांस्कृतिक समाजले आयोजना गरेको ल्होसार विशेष शुभकामना आदनप्रदान तथा संस्कृतिक कार्यक्रमका अवसरमा संस्थालाई आर्थिक, भौतिक सहयोगीहरुलाई सम्मान गरेको छ । झ्यम्टा, टुंना सहयोग गर्ने र आजिवन सदस्यता ग्रहण गर्नेहरुलाई संस्थाका अध्यक्ष पासाङ रिन्जी शेर्पाले सम्मानपत्र प्रदान गर्नुभएको आयोजक मध्येका आकेश शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार