खिजीदेम्बाको विद्यालयमा पोषणयूक्त दिवा खाजा शुरु

काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका विद्यार्थीहरुका लागि पोषणयूक्त दिवा खाजा कार्यक्रम आराम्भ भएको छ । कार्यक्रम उद्घाटनमा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले दिवा खाजा खुवाउनु तीन वटै तहको सरकारको दायित्व हुनेमा जोड दिनुभयो ।


खिजीदेम्बा गाउँपालिकाका वडा नं. १ रगनी स्थित नर्मदेश्वर मावि चप्लेटीमा माघ १४ गतेदेखि पोषणयूक्त दिवा खाजा शुरुवात भएको गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धि मुलिचाले जानकारी दिनुभयो । कल्स ओभर रिजेज नेपाल, काठमाडौं, खिजीदेम्बा गाउँपालिका र विद्यालयको संयूक्त तत्वधनमा शुरु भएको कार्यक्रममा इसिडीदेखि कक्षा १० सम्मका बालबालिकाहरु लावन्वित हुने मूख्य संस्था कल्सका सिइओ साङ डोमा शेर्पाले जानकारी दिनुभयो ।


संस्थाले सञ्चालन गरेको ग्रामिण बालबालिकाको शिक्षामा पहुँच अभिबृद्धि परियोजना अन्तर्गत परीक्षणको रुपमा खिजीदेम्बा वडा नं. १ मा कार्यक्रम शुरु गरेको सिइओ शेर्पाको भनाई छ । कार्यक्रम अन्तर्गत सबै कक्षामा अध्ययनरत विद्यार्थीहरु मध्ये कक्षा ५ सम्मका विद्यार्थीलाई संघीय सरकारबाट दैनिक रुपमा १५ रुपैयाँ प्राप्त गर्ने र सो भन्दा माथिका विद्यार्थीका लागि परियोजनाले दैनिक २० रुपैयाँ, गाउँपालिका र अभिभावकबाट प्रतिदिन प्रति विद्यार्थी पाँच–पाँच रुपैयाँ लगानी गर्ने सम्झौता भएपछि कार्यक्रम लागू गरिएको परियोजनाका खिजीदेम्बा संयोजक मिङमा शेर्पाले जानकारी दिनुभयो ।
विद्यालयलाई पत्रु खाना (जंगफुड) मुक्त गर्दै स्थानीय जैविक खानालाई प्रोत्साहन दिई विद्यार्थीहरुको स्वास्थ्य र शिक्षा जस्तो संवेदनशिल विषयलाई ध्यानमा राख्दै खाजा कार्यक्रम लागू गरिएको संघसंस्थाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमको स्वामित्व तीनै तहको सरकारले लिनुपर्नेमा पालिका अध्यक्ष शेर्पाले बताउनुभयो ।


अहिले कक्षा ५ सम्म दैनिक १५ रुपैयाँ खाजा वापत अनुदान दिइँदै आएकोमा यसलाई कार्यान्वयन गर्न चुनौती सामना गर्नुपर्ने अवस्था रहेकाले तीनै तहले सबै कक्षाका विद्यार्थीलाई खाजा कार्यक्रमका लागि बजेट व्यवस्था गर्नुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।


खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थीहरु नियमित हुने, टिकाउदर र उत्तीर्णदर समेतमा बृद्धि हुने अपेक्षा रहेकाले आफ्नो विद्यालयबाट खाजा कार्यक्रम शुरुवात हुँदा खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल सुुनुवारको भनाइ छ । खाजा कार्यक्रमका लागि विद्यालयले भाडाकुडाको व्यवस्थापन गरेको र विद्यालयकै शिक्षिका पवित्रादेवी श्रेष्ठ परिवारबाट २ सय थान चम्चा र प्लेट समेत सहयोग प्राप्त भएको भन्दै प्रअ जिवन सिंहले धन्यवाद गर्नुभयो ।


दुई जना भान्से सहयोगी राखेर शुरुवात गरेको दिवा खाजामा दैनिक पुरी तरकारी, स्थानीय खिचडी, खिर, सातु लगायत खुवाउने तालिका रहेको र परीक्षण सफल भएमा आगामी साउन महिनाबाट गाउँपालिकाको अन्य माध्यमिक सञ्चालित विद्यालयमा कार्यक्रम लागू गर्ने योजना रहेको जनाइएको छ ।
गाउँपालिका अन्य विद्यालयमा केही दातृ निकायले दिवा खाजा खुवाउँदै आएपनि स्थानीय अभिभावक र गाउँपालिकाको समेत लगानी खाजा कार्यक्रम शुरुवात भएको कोशी प्रदेशमै यो पहिलो हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार