२० लाख बराबरको जग्गा निःशुल्क प्राप्त

काठमाडौं (सार्वजनिक) । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा निर्माण हुने चिस्यान केन्द्रका लागि २० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । वडा नं. ५ पात्लेखर्कमा २० लाख बराबरको पाँच रोपनी जग्गा निःशुल्क प्राप्त भएको हो ।
वडा नं. ६ का अध्यक्ष समेत रहनु भएका स्थानीय पासाङ्ग निमा शेर्पा र श्रीमती याङ्गजी शेर्पाबाट दुई रोपनी ११ आना र स्थानीय शिक्षक समेत रहनु भएका खिजीदेम्बा ४ चर्नालुका प्रेमबहादुर तामाङ्ग र धनमाया तामाङ्गबाट दुई रोपनी पाँच आना गरी पाँच रोपनी जग्गा चिस्यान केन्द्र निर्माणका लागि निःशुल्क प्राप्त भएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।
चलनचल्तीमा यो करीव २० लाख रुपैयाँ जग्गा रहेको र निःशुल्क रुपमा गाउँपालिकालाई जग्गा उपलब्ध गराउनु भएकोमा दाताहरुलाई अध्यक्ष शेर्पाले धन्यवाद दिँदै गाउँपालिकामा आयोजना हुने एक विशेष कार्यक्रमकावीच सम्मान गर्ने योजना रहेको बताउनुभयो ।
चिस्यान केन्द्र निर्माणका लागि प्रदेश सरकारले करीव २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि नै जग्गा रजिष्ट्रेशन गर्न खोजेपनि संघीय मन्त्रालय, विभागको स्वीकृती लिनुपर्ने प्रवधानका कारण केही समय ढिलाई भएको जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट चिस्यान केन्द्रको नाममा जग्गा दाखिला खारेज गर्ने निर्णय भएसँगै जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेशन पारित भएको प्रमुख प्रशासकीय अधिकृत रमेश सुनुवारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार