जग्गादाता र भवन निर्माणमा सहयोगी सम्मानित

ओखलढुंगा (सार्वजनिक) । नेपाल शेर्पा संघ, जिल्ला कार्य समिति ओखलढुंगाको कार्यालय निर्माणका लागि जग्गा दान गर्ने र भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाता सम्मानित भएका छन् । ओखलढुंगाको खिजीदेम्बा ९ पात्लेमा आयोजित एक कार्यक्रमकावीच दाताहरु सम्मानि भएका हुन् ।
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जग्गादाता सोनाम टासी शेर्पा र आर्थिक सहयोगी गुरुनिमा शेर्पालाई सम्मान गर्नुभएको नेपाल शेर्पा संघ, ओखलढुंगाका अध्यक्ष पेम्बा च्यावा शेर्पाले जानकारी दिनुभयो । २० दिने श्याब्रु तथा सिली नृत्य प्रशिक्षण समापनका अवसरमा खिजीदेम्बा ५ चुप्लभन्ज्याङ निवासी सहयोगीद्धयलाई सम्मान गरेको अध्यक्ष शेर्पाले जनाएको छ ।
सोनामले संघको भवन निर्माणका लागि २ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनु भएको थियो भने गुरुनिमाले भवन निर्माणका लागि एक लाख रुपैयाँ नगद सहयोग गर्नु भएको संघका सचिव आङ ङिमा शेर्पाले जानकारी दिनुभयो । सहयोगीलाई खादा, सम्मान पत्रद्धारा सम्मान गरिएको र तत्काल भवन निर्माण लगायतको कार्य समेत अघि बढ्ने संघ खिजीदेम्बाका कोषाध्यक्ष आङ माया शेर्पाले जानकारी दिनुभयो ।
संघको जिल्ला कार्यालयको भवन खिजीदेम्बा ५ चुप्लुभन्ज्याङमा निर्माण गर्ने तयारी भइरहेको छ । विभिन्न व्यक्तिहरुसँग आर्थिक सहयोगले भवन निर्माणका लागि सहज भएको र त्यसमा स्थानीय सरकारको समेत योगदान रहने कार्यक्रममा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।
संघले जिल्लाको शेर्पा जातिको सघन बसोबास रहेको ठाउँमा विभिन्न सांस्कृतिक, सचेतनामुलक र जागरण सम्वन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार