खिजीदेम्बामा दिवा खाजा नर्मदेश्वर माविबाट शुरु हुने

खिजीदेम्बा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बामा पहिलो पटक दिवा खाजा कार्यक्रम लागू हुने भएको छ । कल्स ओभर रिजेज संस्थाबाट दिवा खाजाका लागि वडा नं. १ को नर्मदेश्वर मावि चप्लेटीलाई छनौट गरिएको हो ।
गाउँपालिकाभित्र नमुना परियोजनाका रुपमा दिवा खाजा कार्यक्रम वडा नं. १ बाट शुरु हुने र त्यहाँ सफल भएसँगै आगामी साउन महिनादेखि गाउँपालिकाभित्रको ७ वटै माविमा सञ्चालन गर्ने तयारी रहेको परियोजनाका प्रमुख कार्यकारी अधिकृत साङ डोमा शेर्पाले जानकारी दिनुभयो ।
वि ग्लोबल फाउन्डेशनको सहयोगमा ग्रामिण क्षेत्रको बालबालिकाको शिक्षामा पहुँच परियोजना अन्तर्गत खिजीदेम्बामा पहिलो पटक परियोजना अन्तर्गत दिवा खाजा र छात्रावृत्ति कार्यक्रम शुरुवात गर्न लागेको प्रमुख कार्यकारी अधिकृत शेर्पाको भनाई छ ।
भौगोलिक विकटता, विद्यालयबाट प्राप्त सकारात्मक जवाफ र भूगोल अनुसार वडा नं. १ बाटै दिवा खाजा शुरु गरिएको र नर्मदेश्वर माविसहित अन्य ४ वटा माध्यामिक विद्यालयमा छात्रावृत्तिका लागि विद्यार्थी छनौट गरिएको खिजीदेम्बाका लागि कार्यक्रम संयोजक मिङमा शेर्पाले जानकारी दिनुभयो ।
दिवा खाजा कार्यक्रमका लागि स्थानीय तह र विद्यालयले प्रति विद्यार्थी १० रुपैयाँ र परियोजनाले दैनिक २० रुपैयाँ उपलब्ध गराउने गरी गाउँपालिकासँग सम्झौता भएको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । अभिभावक, स्थानीय तह र परियोजनाको संयूक्त सहकार्यबाट आगामी माग २ गतेबाट नर्मदेश्वरमा दिवा खाजा शुरुवात गर्न लागेको अध्यक्ष शेर्पाको भनाइ छ ।

कक्षा ५ सम्म सरकारले नै दिवा खाजा वापतको रकम उपलब्ध गराउँदै आएकाले बाँकी कक्षाका विद्यार्थीहरुका लागि दैनिक दिवा खाजा कार्यक्रम खुवाउने लक्ष्य रहेको परियोजनाले जनाइएको छ ।
दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन, पौष्टिक र पोषणयूक्त खानेकुराहरु समावेश गरिने र विद्यालयमा नै कर्मचारी नियूक्त गरेर खाजा खुवाइने जानकारी प्राप्त भएको विव्यस अध्यक्ष निर्मल सुनुवारले जानकारी दिनुभयो । यसबाट विद्यार्थी टिकाउदर, शैक्षिक गुणस्तर र शैक्षाणिक उपलब्धि हासिल गर्न समेत सहयोग पुग्ने भएकाले कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको प्रधानाध्यापक जिवन शाहीले बताउनुभयो ।
परियोजनाले वडा नं. ३ माझगाउँस्थित चण्डेश्वरी मावि, वडा नं. ४ कातिस्थित कुण्डली मावि, वडा नं. ५ खिजीफलाटेस्थित फुलमती मावि र वडा नं. ९ पात्लेस्थित शिवालय मावि छेर्मादिंगमा कक्षा १देखि १० सम्मका ५–५ जना विद्यार्थी छनौट गरी छात्रावृत्ति समेत उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार