प्रदेश नं. ३ मा शेर्पालुङ पुनः गठनको तयारी

काठमाडौं (सार्वजनिक) । प्रदेश नं. ३ मा शेर्पालुङ राष्ट्रिय समिति पुनः गठन गर्न भेला आयोजना हुने भएको छ । जनता समाजवादी निकट शेर्पालुङ राष्ट्रिय समिति पुनः गठनका लागि दोलखाको जिरीमा भेला आयोजना गरिएको हो ।
पौष २२ गते ३ नम्बर प्रदेशको जिरीमा शेर्पालुङ सभा आयोजना गरिएको र सोही सभामार्फत समिति पुनः गठन हुने जसपा शेर्पालुङ इन्चार्ज लाक्पा शेर्पाले जानकारी दिनुभयो । जसपाको विधानमा प्रदेश नं. १ मा मात्रै राष्ट्रिय समिति रहने व्यवस्था गरेपछि प्रदेश नं. ३ मा पनि समिति गठन हुनुपर्ने पार्टी संबद्ध शेर्पाहरुले माग गर्दै आएका छन् । पार्टीको विधानमा व्यवस्था नभएपछि नेतृत्वलाई दबाब बढाउन भेला आयोजना गरिएको एक नेताले जानकारी दिए ।
‘हामीले प्रदेश नं. १ र ३ मा शेर्पालुङ समिति हुनुपर्छ भनेका थियौं, विधानमा ३ नम्बरमा राखिएन । त्यसलाई सुधार गर्न पटकपटक नेतृत्वलाई अनुरोध गरेपछि व्यवस्ता भयो । तसर्थ, स्वतस्फुर्त समिति पुनः गठन गर्न लागिएको हो ।’ ती नेताले भने ‘पहिचानलाई स्थापित गर्दै संघीयतालाई सवलीकरण गर्नपनि शेर्पालुङ समिति वागमती प्रदेशमा हुनु जरुरी छ ।’
शेर्पाहरुको सघन वसोवास प्रदेश नं. १ र ३ मा रहेकाले दुवै प्रदेशमा समिति गठन गरी गतिविधि सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको भनाइ छ । केन्द्रीय नेतृत्वले भने बागमतीमा ताम्सालिङ–नेवा प्रदेश मात्रै रहने गरी विधानमा व्यवस्था गरेको छ ।
प्रदेश नं. ३ (बागमती) मा समिति पुनः गठन लगतै प्रदेश नं. १ मा पनि समिति गठन हुने शेर्पालुङ राष्ट्रिय समितिका अध्यक्ष दावा शेर्पाको भनाइ छ । प्रदेश नं. १ मा समिति गठन गर्न ताप्लेजुङको मिक्वाखोलामा माघ ६ गते भेला आयोजना गरिएको जनाइएको छ ।
हिमाली क्षेत्रमा बसोवास गर्ने पार्टी संबद्ध जातीय संगठनहरुको अगुवाईमा शेर्पालुङ समिति घोषणा हुने भएपछि पार्टी नेतृत्व तिब्र दबाबमा परेको छ । नयाँ संविधानपछि घोषणा भएको सात प्रदेशमा पनि शेर्पाहरुलाई खण्डित गरेको र पार्टीमा समेत शेर्पाको अस्तित्वमाथि प्रहार गर्ने खाले चालबाजी भइरहेको भन्दै शेर्पालुङ क्षेत्रबाट पार्टीमा सम्बद्ध नेता, कार्यकर्ताहरु आक्रोशित छन् । भेला रोक्न शिर्ष नेतृत्व चरणबद्ध छलफल समेत गरीरहेको बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार