१४ औँ ञिङमा मोन्लाम शुरु

काठमाडौं  । शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा १४ औँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम शुरु भएको छ । पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमा (पौष ६ देखि १० गते) सम्म पाँच दिनसम्म हुने मोन्लाम शुक्रबारबाट शुरु भएको हो ।
ञिङमा संघले १४ बर्षअघिदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथ चैत्य परिसरमा मोन्लम कार्यक्रम आयोजना गर्दै आएको भए तापनि बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गर्नेहरुलाई असहज हुने भएकोले आठौँ मोन्लमदेखि शेर्पा गोन्पामा आयोजना गर्न थालेको आचार्य नुर्बु शेर्पाले जानकारी दिनुभयो । विभिन्न गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपोनहरू त्यस्तै, उपसक उपसिकाहरुको सहभागितामा शुरु मोन्लम पूजापाठमा प्राणी जगतमा कुनै पनि प्रकारको रोग व्याधी, युद्ध, कलह नहोस भन्ने कामना गरिन्छ । त्यस्तै, प्राकृतिक प्रकोप आदि विघ्न बाधा नभई दिगो शान्ति, सुख, समृद्धिको कामना गर्दै मोन्लम पाठ गर्ने धर्मगुरुहरु बताउँछन् ।
मोन्लाममा बुद्धभूमि नेपालमा रहेका बौद्ध तीर्थहरूको प्रचारप्रसार एवम् धार्मिक तथा सांस्कृतिक महत्वलाई अटुट राख्न र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन, दिगो शान्ति स्थापना गर्नको लागि कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
दैनिक बिहान ७ः३० देखि अपह्रान ४ बजेसम्म हुने पाठपूजा कार्यक्रममा महायान बौद्ध परम्परा अनुसार विहान शरण गमन, बोधिचित्त उत्पाद, प्रज्ञापरामिता हृदय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्या प्रनिधान राजा, आर्य मञ्जुश्री नाम सांगीति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिन्छ ।
व्यक्तिगत स्वार्थ र खुशीको सानो परिधिबाटमाथि उठेर समस्त प्राणीहरूको हितार्थ बौद्धमार्गीहरूले सामूहिक रूपमा सम्पूर्ण प्राणीहरूको सुख, शान्ति र संवृद्धिको कामना गर्दै बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिका, उपसक, उपसिकाहरूले लाया बद्ध रूपमा मोन्लम मन्त्र पाठ गरिरहेका छन् । पूजा स्थलमा रांगीचंगी विभिन्न आकारमा निर्माण गरिएको तोर्मको साथै निर्माल जलले सजाएको छ । आफुले मन्त्र पाठ गर्न नआए पनि रिन्पोछेज्यूहरूको दर्शन र लामाहरूले सामुहिक रुपमा पाठ गरेको देख्न र सुन्न मात्र पाएपनि आफूलाई मनमा शान्ति भएको पूजामा उपस्थित भक्तजनहरूको भनाई रहेको छ ।
मोन्लम कार्यक्रममा विशिष्ठ धर्म गुरु टुल्कु रिग्जीन पेमा रिन्पोछे, खेन्पो साङग्या राङज्यूङ रिन्पोछे, गेटक टुल्कु ङवाङ थरछिन रिन्पोछे लगायतले दैनिक पूजापाठ र प्रवचन गरिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार