शेर्पाको लगानीमा बनेको मानेको प्राणप्रतिष्ठा

ओखलढुंगा । खिजीदेम्बा ९ वाङदीडाँडामा व्यक्तिगत लगानीमा बनेको हातले घुमाउने मानेको प्राण प्रतिष्ठा (रभ्ने) सम्पन्न भएको छ । स्थानीय धर्मगुरु ङावाङ सम्तेन शेर्पाको लगानीमा बनेको मानेको बौद्ध धर्म विधि अनुसार प्राण प्रतिष्ठा गरिएको हो ।
करीव एक बर्षअघि निर्माण गरेको मानेको विहिबार धार्मिक विधि पूर्वक लामा गुरुहरुले पूजापाठ गरी प्राण प्रतिष्ठा गरिएको निर्माणकर्ता शेर्पाका छोरा, स्थानीय शिक्षक नुरी शेर्पाले जानकारी दिनुभयो । धार्मिक तथा पर्यटकीय दृष्टिले गाउँको महत्व दर्शाउने हेतुले शेर्पाले व्यक्तिगत रुपमा करीव तीन लाख रुपैयाँ लगानी गरेर माने निर्माण गरेको जनाइएको छ ।


पुण्य आर्जन गर्न मात्रै नभई गाउँको सौन्दर्यता बढाउने र बौद्ध धर्मको प्रबद्र्धनका लागि व्यक्तिगत लगानीबाट सार्वजनिक सडक छेउमा माने निर्माण गरिएको र विद्यार्थी, शिक्षक, घुम्न आउने पहुनाहरुले परिक्रमा गरेर आनन्द लिने गरेको परिवारका सदस्य मिङमा शेर्पाको भनाइ छ । यसरी नै सबैले आफ्नो ठाउँबाट धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका पूर्वाधारहरु निर्माण गर्दै गाउँपालिकाको विकासमा इँटा थप्ने काम गरे परिवर्तन टाढा नभएको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको भनाइ छ । अध्यक्ष शेर्पाले निर्माणकर्तालाई धन्यवाद ज्ञापन गर्दै यस्तै खाले अभियानमा संलग्न हुन गाउँपालिकावासीलाई अपिल समेत गर्नुभयो ।
निर्माणकर्ता शेर्पा उन्जे लामा स्मृती प्रतिष्ठानका अध्यक्ष तथा स्थानीय फाप्रे छेर्मादिङ्ग देच्यान छोकुर छोलिङ गुम्बाका प्रमुख लामा समेत हुनुहुन्छ । शेर्पाले यसअघि नजिकै रहेको शिवालय मावि छेर्मादिङलाई समेत निःशुल्क जग्गा उपलब्ध गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार