शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग

ओखलढुंगा । ओखलढुंगाको मोलुङ ७ पात्ले च्यावलीटोलमा निर्माण हुन लागेको गुम्बा लागि कुर्सी र थर्मास सहयोग प्राप्त भएको छ । तेर्जे हियुम गुम्बाका लागि प्लाष्टिकको कुर्सी र थर्मास सहयोग प्राप्त भएको हो ।
स्थानीय आङ दावा शेर्पाको अगुवाईमा १ सय ५० थान प्लाष्टिक कुर्सी र ५ थान थर्मास सहयोग प्राप्त भएको गुम्बा निर्माण समितिका सचिव मिङमार शेर्पा ‘टिक्पे’ ले जानकारी दिनुभयो । जर्मनी नागरिक वारनर र हन्नालोराको सहयोगमा गुम्बालाई जिन्सी समाग्री प्राप्त भएको सचिव शेर्पाको भनाई छ ।
शेर्पा समुदायको बाक्लो वसोवास रहेको यहाँ गुम्बा निर्माणका लागि स्थानीय युवाहरु जुर्मुराएका छन् । गुम्बा निर्माण शुरु नहुँदै आवश्यकीय सहयोग प्राप्त हुन थालेपछि चाँडै गुम्बा निर्माण सम्पन्न गर्न हौसला मिलेको स्थानीय अगुवा देण्डी शेर्पाको भनाइ छ ।
गुम्बा निर्माणका लागि लामो समयदेखि प्रयास भएपनि प्रयाप्त आर्थिक स्रोत नहुँदा काम अघि बढ्न नसकेको तर पछिल्लो समय अगुवा शेर्पा र युवाहरुको पहलमा गुम्बा दर्ता गर्ने, गुम्बाको नाममा जग्गा दर्ता गरी घडेरी तयार गर्ने, ढुंगा फुटाउने र अन्य निर्माण सामाग्री जुटाउने कार्य भइरहेको थियो । विदेशी दाता र स्थानीयहरुबाट सहयोग प्राप्त भएसँगै स्थानीय बौद्धमार्गी शेर्पाहरु हर्षित भएका छन् । अगुवा शेर्पा लामो समयदेखि पर्यटन र शिक्षण पेशामा संलग्न रहँदै आउनुभएको स्थानीय समाचारदाता मिङमार शेर्पाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार