खिजीदेम्बा–४ मा बज्रागुरु मन्त्रजप हुने

दावा जाङ्बु शेर्पा

काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–४ चर्नालुमा बज्रागुरु मन्त्रजप कार्यक्रम आयोजना हुने भएको छ । यहाँस्थित नाम्ड्रोल थर्पालिङ गुम्बामा आगामी फागुन २७ गतेदेखि बज्रागुरु मन्त्रजप तथा विश्व शान्ति पूजा आयोजना हुने भएको हो ।
पूजा आयोजना सम्वन्धमा गत मंसिर ५ गते एक सर्वपक्षीय भेला आयोजना भएको थियो । भेलाले हिमालयन शेर्पा बौद्ध धर्म संस्कृति संरक्षण समाज र नाम्ड्रोल थर्पालिङ गुम्बाको संयूक्त आयोजनामा बज्रागुरु मन्त्रजप तथा बिश्वशान्ति पूजा आयोजना गर्न बृहत् छलफल गरेको संयोजक थोचेन लामा शेर्पाले जानकारी दिनुभयो ।
छलफलमा हिमालयन शेर्पा बौद्ध संरक्षण समाजका अध्यक्ष ख्येंन्पो ङिमा शेर्पाले अध्यात्मिक सुख—शान्तिको लागि पूजा आयोजना गर्न लागेको बताउनुभयो । “आधुनिक समाज भौतिकवादमा गएर कतै हामीले हामी भित्रका संसारलाई गुमाइरहका त छैनौं ? यदि छ भने पुण्यको माध्यमवाट उकास्न सकिन्छ भन्ने हेतुका साथ यो मन्त्रजप कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण छ ।’ खेन्पो शेर्पाले भन्नुभयो । कार्यक्रममा सवै जाति, धर्म संप्रदाय, वर्गका समुदाय सहभागि भई पुण्य आर्जन गर्न सक्ने भएकाले यो बौद्धमार्गीहरुको लागि मात्रै हो भनी बुझ्न नहुने संयोजक थोचेनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बज्रागुरु मन्त्रजप पूजा आयोजना गर्ने अवसर ओखलढुंगामा संयोगले मौका पाएको र यसलाई सदुपयोग गर्दै सफल बनाउनुपर्ने धारण राख्नुभयो । गाउँपालिकाले बिश्वशान्ति पुजा स्थानसम्म जाने सडक र अवश्य खानेपानी ‘हेलिप्याड’ र पूजा अवधीभर स्वस्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्था गरिदिने अध्यक्ष शेर्पाले प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, व्यक्तिगत रुपमा आर्थिक सहयोग पनि उपलब्ध गराउने अध्यक्ष शेर्पाले घोषणा गर्नुभयो ।
छलफलमा गाउँपालिकाभित्रका अधिकांश वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा स्थानीय शेर्पा कलाकारहरुले शेर्पा संस्कृतिमा आधारित श्याब्रु नृत्य समेत प्रस्तुत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार