समय चक्रमा चल्ने जनप्रतिनिधि ‘गम्बु शेर्पा’ (भिडियो)

काठमाडौं । जनप्रतिनिधि, नेता वा कुनैपनि सरकारी जिम्मेवारी सम्हालेका मानिस प्राय व्यस्त हुन्छन् । सामान्य वडा अध्यक्षदेखि उच्च ओहोदासम्म पदीय जिम्मेवारी पाउने वितिकै आफूलाई व्यस्त देखाउँछन् । कामको जिम्मेवारी र व्यवस्थापकीय कारणले व्यस्तता बढ्ने हो । अधिकांश नेता, जनप्रतिनिधिहरुलाई लाग्दै आएको आरोपपनि यही हो ‘चुनावअघि फोन गर्छन, जितेपछि विर्सन्छन् ।’ ‘फलनोले त चुनाव जितेर गएपछि फोनै उठाउन छोड्यो । हामीलाई विर्से ।’ अधिकांश नागरिकको मुखबाट सुनिने गुनासो हो यो ।


कार्यबोझ देखाउँदै कतिपय जनप्रतिनिधिहरुले खाना पकाउने भान्से, फोन उठाउने लगायत निजी सचिव, सहयोगी कर्मचारीहरु समेत भर्ति गरेका हुन्छन् । रवाफ देखाउनकै लागि पनि कतिपयले सहयोगीहरु अघिपछि लगाएर हिड्ने गरेको आरोप समेत जनप्रतिनिधि र नेताहरुमाथि छ ।
यस्तो प्रवृत्तिका बिच फरक तरिकाले पहिचान बनाउन सफल एक जनप्रतिनिधि हो ‘गम्बु शेर्पा ।’ खिजीदेम्बा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट गाउँपालिका अध्यक्ष निर्वाचित शेर्पाको शैली भने विल्कुल फरक छ । शेर्पाको पुरानो पेशा कलाकारिता हो । विशेष गरी गायक गम्बु शेर्पा भनेरै उहाँले पहिचान बनाउनु भएको हो ।


१८ बर्ष लामो समय अमेरिका बसेका शेर्पा त्यहाँको सुख त्यागेर नेपाल आएर राजनैतिक अभियानमा लागे । १८ महिनाको निरन्तर प्रयासुपछि दोस्रो स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष जिते । चुनावअघि घर–घर पुगेका शेर्पापनि चुनाव जितेपछि नाकमुख देखाउँदैनन् भन्ने अधिकांशको मनमा लागेको थियो । गम्बु दैलोबाट हिड्न नपाउँदै पछाडिबाट कुरा काट्नेहरुले भन्थे ‘यो पनि उस्तै त हो । नजितेसम्म मात्रै हो । जितेपछि उही अरु जस्तै हो । नाकमुख देखाउँदैन ।’


२०७९ को स्थानीय तह निर्वाचनमा अध्यक्षको उम्मेदवार बनेका शेर्पाले चुनाव जिते । नतिजा निकाले लगत्तै शेर्पाले श्रम संस्कृतिको विकास गर्ने, जनताकोवीचमा रहने घोषणा गरे । शपथ ग्रहण लगतै अध्यक्ष शेर्पा हिजो भोट माग्न पुगेका घरघर पुगेर मतदातालाई धन्यवाद दिन पुगे । गाउँपालिकाभित्रका बा–आमाको पाउमा परे । अध्यक्ष शेर्पालाई जनताले फोन गर्नुपरेन । मिसकल मात्रै आएपनि शेर्पाले तुरुन्तै समय मिलाएर फोन गर्ने र समस्या बुझ्ने सुखदुःख, हलखबर सोध्ने काम भइहाल्थ्यो ।


चुनाव नतिजासँगै बर्षातको समय शुरु भयो । गाउँपालिकामा पर्याप्त बजेट नभएको, अन्तरिक स्रोत कमजोर भएकाले बर्षातको पानीले विग्रेका, भत्किएका सडक, बाटो मर्मतका लागि अध्यक्ष शेर्पा स्वयम् सावेल, कोदाली लिएर सडकमा निस्किए । सँगै, गाउँपालिकाभित्रका आम सर्वसाधारणलाई समेत श्रमदानका लागि आह्वान गरे । फलस्वरुप बर्षातमा केही बाहेक अधिकांश सडक चालु रह्यो । जनताले सडककै कासरण सास्ती खेप्नु परेन । यसरी श्रम संस्कृतिका विकास गरेर दिनहुँ अध्यक्ष शेर्पाकै अगुवाईमा विकास निर्माणमा श्रमदान गरे । त्यतिमात्रै हैन । गाउँघरमा हुने विहे, भोज, जन्म, मृत्यु, सांस्कृतिक पूर्वाधार निर्माण, खेलकुद लगायतमा पनि अध्यक्ष शेर्पाको वाक्लो उपस्थिती रह्यो । यो सबै व्यवस्थापन अध्यक्ष शेर्पाको इच्छा शक्ति र जनताको सेवक बनेर सावित हुने हुटहुटीले संभव भएको हो ।

अधिकांश समय श्रमदान र जनताको बिचमा रहनु पर्ने भएकाले कार्यालयमा रहने अध्यक्षको कुर्सी अधिकांश समय खाली हुन्थ्यो । तरपनि दैनिक प्रशासनिक तथा नीतिगत विषयमा भने कुनै वाधा आउन दिएनन् । यतिमात्रै हैन । समय चक्रसँग चल्न जानेका अध्यक्ष शेर्पाले आफ्नो पेशागत धर्मलाई पनि जोगाएरै राख्नुभयो ।

श्रमदान, पदीय जिम्मेवारीकै बिच सेलो गीतपनि रेकर्ड गराउनुभयो । नागरिकको सेवा, गाउँपालिकाको नेतृत्वमा व्यस्त शेर्पाले तामाङ सेलो भाकामा ‘घर मेरो पूर्व तीन नम्बर’ बोलका गीतमा स्वर दिनुभयो । सुमन लामाको शब्द रचनामा गायिका इन्दिरा गोले गुरुङसँग युगल स्वरको गीत हालै सर्वजनिक भएको छ ।
समान्यतय टेलिफोन समेत नउठाउने, आफूलाई व्यस्त रहेको आभाष दिलाउनेहरुका लागि अध्यक्ष शेर्पाबाट धेरै पाठ सिकाउन सक्छ । इच्छा शक्ति र गर्न चाहे के हुँदैन र ? भन्ने एउटा उदाहरण अध्यक्ष शेर्पाले सावित गराउनु भएको छ ।


नागरिकसँग हाँस्दै खेल्दै अघि बढ्ने अध्यक्ष शेर्पा जसपा प्रदेश समिति सदस्य समेत हुनुहुन्छ । शेर्पालाई गाउँपालिकाको मात्रै हैन युनेस्को, संघ र प्रदेश सरकार अन्तर्गत निर्देशक समितिको सदस्यको रुपमा पनि जिम्मेवारी छ । त्यस्तै, जिल्ला अन्तर्गत विभिन्न समितिहरुको जिम्मेवारी पनि छँदैछ । यी सबै दायित्वका अलावापनि शेर्पा नागरिकसँग दैनिक साक्षात्कर गर्न पाएका छन्, गीतपनि गाएकै छन् । अध्यक्ष शेर्पाले जस्तै समयचक्रसँग चल्न सक्ने हो भने देश समृद्ध हुन समय लाग्ने थिएन । नेताहरुकै कार्यशैलीका कारण व्यवस्थामाथि यति छिटो नैरस्यता पनि छाउने थिएन की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार