संविधान विपरीतका गतिविधि भए आदिवासीहरु चुप लागेर वस्दैनः अध्यक्ष शेर्पा

काठमाडौं (सार्वजनिक) । पछिल्लो समय संविधान र प्रचलित व्यवस्था विपरित विभिन्न अराजक गतिविधि भइरहेको भन्दै आदिवासी जनजाति संगठनहरुले आपती जनाएको छ । नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा पत्रकार सम्मेलन आयोजना गरेर विधि, व्यवस्था र संविधानको खिलापमा बोल्ने अधिकार कसैलाई नभएको भन्दै त्यसो भए प्रतिबाद गर्ने चेतावनी दिएको हो ।
विभिन्न कालखण्डमा भएका जनसंघर्षबाट धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र स्थापना भएको र त्यसलाई संस्थागत गर्नका लागि संविधानसभामार्फत संविधान जारी भएको ती संगठनले स्मारण गराएको छ । राजधानीको अनामनगरमा पत्रकार सम्मेलन आयोजना गरेर संविधान पूर्ण नभएपनि जनसंघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै बाँकी माग संबोधन गर्न प्रदेश स्तरीय पहिचान सभाको कार्यक्रम आयोजना गर्ने घोषणा गरेको महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो । महासङ्घसहित राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ, नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ लगायतका विभिन्न सङ्घ–संस्थाले संयुक्त पत्रकार सम्मेलनमार्फत पहिचानजन्य आन्दोलनका वारेमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष शेर्पाले जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह, आदिवासी जनजाति आन्दोलनलगायत विभिन्न बलिदानबाट देशमा वर्तमानमा उपलब्धिहरु प्राप्त भएको र त्यसको विरुद्धमा कसैले पनि आवाज उठाउने दुष्शाहस गरेमा प्रतिबाद गर्ने चेतावनी दिनुभयो । उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि आदिवासी जनजातिहरु संघर्षमा रहेको अध्यक्ष शेर्पाको भनाइ छ ।
पत्रकार सम्मेलनमा ताम्सालिंग स्वायत्त प्रदेश संघर्ष समितिका संयोजक तथा पूर्व राजदूत डा. गणेश योञ्जनले २०७२ मा जारी नेपालको संविधानलाई संशोधन गरेर आदिवासी जनजाति मागलाई सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हामीले संविधान संशोधन गरेर अगाडि जानुपर्छ भन्ने मान्यता हो । आदिवासीको आन्दोलन शिथिल अवस्थामा रहेको सन्दर्भमा प्रदेश १ मा निरन्तर अगाडि बढाइरहेको सन्दर्भमा विभिन्न किसिमका गतिविधि विभाग गठन गर्दै योजना अगाडि बढाउनुपर्ने धारण राख्नुभयो ।
भ्रष्टाचार, अराजकता, बेथितीको अन्त्य, धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र, लोकतन्त्र र पहिचान रक्षाको पक्षमा चरणबद्धरुपमा विभिन्न गतिविधि गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार