लाक्पा जी शेर्पा
सोलुखुम्बु । विभिन्न तालिम, गोष्ठि, प्रबद्र्धनका नाममा राज्यले बार्षिक अरबौं बजेट खर्च गरिराखेका हुन्छन् । क्षमता अभिबृद्धि, विषयगत ज्ञान, युवाहरुलाई विभिन्न विधामा तालिम दिई स्वरोजगार बनाउने कार्यक्रमहरु तीनै तहको सरकारको बार्षिक नीति तथा कार्यक्रममा समेटिन्छन्, केही शिर्षकहरुमा त बजेट समेत विनियोजन हुन्छ । तर, त्यो बजेट कार्यान्वयनपछि आउने नतिजा भने शून्य जस्तै हुन्छ । अधिकांश यस्ता कार्यक्रम त लक्षित बर्गमा समेत पुग्दैनन् ।
राज्यबाट विषयगत रुपमा तालिमहरु उपलब्ध नगराउँदा स्थानीयस्तरमै सानोतिनो व्यवसाय सञ्चालन गरि स्वदेशमै केही गर्छु भनि कम्मर कसेर लागेकाहलाई भने निराश बनाउँदै लगेका छन् । यस्तै, चेपुवामा परेको एक युवा हुन्, बाबुकाजी मगर (३२) ।
नवितम् पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै गरेको ओखलढुंगा र सोलुखुम्बु जिल्लाको सिमानामा पर्ने धापमा मगरको ‘होमस्टेसहितको होटल’ छ । अन्तरिक र वाह्य पर्यटकका लागि लक्षित गरी सिद्धिचरण लोकमार्गमा मगरले होटल सञ्चालन गर्न थालेको तीन बर्ष वित्यो । बाटैको छेउमा घर बनाउँदादेखि होटललाई चिरिच्याट्ट बनाउँदासम्म मगरले ३५ लाख भन्दा बढी खर्चेका छन् ।
प्रवेशीकासम्म अध्ययन गरेका मगर त्यसअघि भने सिकर्मी, डकर्मीको रुपमा खुम्बु, नाम्चेतिर मजदुरी गरी परिवार धान्थे । अहिलेपनि पर्यटक आउने समयमा मगर होटल सञ्चालन गर्न गाउँमा वस्छन् भने फुर्सदको समयमा खुम्बु, नाम्चेतिरै रोजगारी खोज्न जान्छन् । आफ्नो घरको झ्यालढोका र भित्रको र्याकहरु समेत मगर आफैले निर्माण गरेका हुन् । आफू मजुदुरीको लागि गएको बेला होटल चलाउने जिम्मा श्रीमती कोपिला मगर (२९) को काँधमा हुन्छ । यी दम्पतीको दुई सन्तान छन् । छोराछोरीलाई नजिकै पत्तालेमा रहेको सरकारी विद्यालयमा पढ्न थालेका छन् । कोपिलाको जिम्मा लालाबालालाई हुर्काउने, घर वरिपरि सागसब्जी उब्जानी गर्ने र आलु खेती गर्नेपनि छ ।
‘पानोरामा’ नाममा खोलिएको होटलमा ‘सिजन’ मा खुम्बु, पिके लगायत घुम्न आउने पर्यटकहरुको ओइरो लाग्छ । त्यस्तै, गर्मी छल्न तराईबाट, विदाको सदुपयोग गर्न राजधानी लगायतका ठाउँबाट आउने अन्तरिक पर्यटकले पनि खचाखच भरिन्छ । अरु बेला भने प्रायः खाली नै बस्नुपर्छ ।
मगरको होटलमा ६ वटा कोठाहरु छन्, एक रातमा १२ जनासम्म बास बस्न सक्ने क्षमता छ । होटलमा नेपाली लगायत विभिन्न स्वाद अनुसारका खानाहरु ‘अर्डर’ अनुसार तयार हुन्छ । परम्परागत रुपमा आगो र ग्याँस चुल्हो मध्ये स्वऐच्छिक रुपमा रोजाईमा पकाएका खान खाना पाइन्छ । त्यस्तै, जाडोको समयमा भित्रै चिम्नी र बाहिर आगो बालेर (क्याम्प फायर) गरेरपनि रमाइलो गर्न सकिन्छ ।
मगर दम्पतीले होटल सञ्चालनका लागि कुनै तालिम प्राप्त ‘सेफ, भान्से, वेटर’ भने राखेका छैनन् । उनीहरुले परम्परागत रुपमै आफूमा भएको ज्ञानबाट खाना पकाउँछन् र पहुनाको सत्कार गर्छन् । अहिलेसम्म कुनै सैद्धान्तिक ज्ञान, तालिम लिन नपाएपनि गाउँघरकै चलनचल्ती अनुसार पकाएर खुवाउने गरेको मगर बताउँछन् ।
सरकारले पर्यटन प्रबद्र्धन, होमस्टे सञ्चालन, पाककलासँग सम्वन्धित विभिन्न तालिमहरु सञ्चालन गर्ने र त्यसका लागि बजेट व्यवस्थापन गरेको भन्ने समाचारहरु सुन्दै आएपनि आफूहरुले त्यस्तो अवसर अहिलेसम्म नपाएको होटल व्यवसायी मगर दम्पतीको गुनासो छ । पर्यटकहरुले खानाको मेनु राख्नुपर्ने, इच्छा अनुसारको खाना ‘अर्डर’ गर्ने भएपनि पाककला सम्वन्धित तालिम नहुँदा माग अनुसारको सेवा दिन नपाएको उनीहरुको दुखेसो छ । बार्षिक करोडौं रुपैयाँ तालिमहरुका लागि खर्च भएको भन्ने सुनिन्छ, सामाजिक सञ्जाल तिर पढ्छौं तर आफूहरु जस्तो वास्तविक व्यवसायीले त्यस्तो कुनै तालिम लिन नपाएको कोपिला सुनाउँछिन् ।
तालिम अभावकै कारण होटललाई सोचे जसरी सञ्चालन गर्न नसके पाइएपनि स्थानीय खानाहरु भने स्वदिष्ट बनेको भन्दै होटल पानोरमामा बास बस्ने आइपुगेकी अमेरिकी नागरिक क्याथलिन क्यापले खुसी व्यक्त गरिन् । स्थानीय तहले समेत तालिमहरुमा सहभागि गराएर प्रोत्साहन गर्न सके व्यवसाय प्रबद्र्धनसँगै पर्यटकको आकर्षण समेत बढ्ने सोल हिमालय ट्ेक्सका टिम लिडर सार्की शेर्पा बताउँछन् । यस क्षेत्रमा आफूहरु धेरै पटक पर्यटक लिएर आउने गरेपनि खानाको परिकार तयार गर्न होटल सञ्चालकहरुलाई माग निर्देशन गर्नुपर्ने वाध्यता रहेको पथ प्रदर्शक शेर्पाको भनाई छ ।
पथ प्रदर्शक सार्की शेर्पा, होटल पानोरमामा ।
आफूले अँगालेको व्यवसायसँग मिल्ने तालिमहरु भए समय मिलाएर सिक्ने र पर्यटकलाई अझ गुणस्तरीय सेवा दिने रुची भएपनि त्यस्तो मौका नमिलेको मगर दम्पती बताउँछन् । तर, यता सोलुदुधकुण्ड नगरपालिकाले भने आर्थिक बर्ष २००७९÷०८० मा पिके पदमार्ग लक्षित व्यवसायीहरुका लागि ‘किप’ नामक संस्थाको सहकार्यमा होमस्टे सञ्चालन तथा पाककला सम्वन्धि तालिम सञ्चालन गरेको दाबी गर्छन् । पर्यटन प्रबद्र्धन र व्यवस्थित होटल सञ्चालनका लागि नीति नै बनाएर नगर अघि बढेको जनप्रतिनिधिहरुको भनाइ छ ।
अमेरिकाबाट आएकी क्याथलिन, साथीहरुसँग होटलमा खाना खाँदै ।
आफ्नै बारीमा फलेको मुलाको आचार, आलू रोटी, हिमाली शेर्पा समुदायको आलुको विशेष परिकार रिल्दुक, गहुँ, कोदो, फापरको ढिँडो, रोटी, दालभात मात्रै नभएर तालिम लिन पाएमा चाइनिज, कोरियन, कन्डिडेटल खानाहरु समेत बनाएर खुवाउने सोच रहेको मगर दम्पती बताउँछन् ।
आफूसँग सैद्धान्तिक ज्ञान नभएपनि होटलबाट अधिकांश हिमालहरु देख्न पाउने भएकाले पर्यटकहरु वस्न रुचाउने बाबुबाजीले सुनाए । तालिम, सीप लिएर होटल व्यवसायलाई अझ व्यवस्थित गर्दै आम्दानी बढाउन सकेमा मजदुरीका लागि टाढा जान नपरे हुन्थ्यो भन्ने बाबुकाजीको धारण छ ।
धेरै दौत्तरीहरु विदेशीए, आफू स्वदेशमै केही गरौं भनेर होटल क्षेत्रमा हात हालेपनि तालिम, ज्ञान, सीपको अभावले सोचे अनुरुप आम्दानी गर्न नसकेको उनको बुझाई छ । धेरै खाले परिकार बनाएर पर्यटकलाई खुसी पार्न सके आम्दानीपनि बढ्थ्यो । राजधानीतिर गएर तालिम लिएर आउनेपनि सामाथ्र्य छैन । यहीँको व्यवसायीहरुलाई लक्षित गरेर सरकारले केही गरिदिए हुन्थ्यो भन्ने बाबुबाजीलाई लागेको छ । व्यवसायलाई व्यवस्थित गर्न, विभिन्न तालिमहरु माग गरेर सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन भरखरै उनीहरुले होटल व्यवसायी संघ गठनका लागि पहल गरेका छन् ।
बाबुबाजी पनि तदर्थ समितिको सदस्य छन् । उनीहरुले छिट्टै तालिम र थप ज्ञान सीप लिएर व्यवस्थित होटल व्यवसाय सञ्चालन गर्न सकेमा राज्यलाई पनि राजस्वमार्फत आम्दानी बढ्ने निश्चित छ । होटल खोलिएपनि भाषाको ज्ञान समेत नहुँदा पहुनाहरुसँग दोहोरो संवाद गर्न असहज हुने समस्यापनि उनीहरुमा छ । कतिपय विदेशीसँग पथ प्रदर्शक हुने भएपनि अहिले केही पर्यटकहरु आफू मात्रै घुम्न आउँछन् । यसरी यस क्षेत्रका होटल व्यवसायीहरुले पाककला, सत्कार, सरसफाई, अतिथि व्यवस्थापन र भाषाको समस्याका भावजुदपनि व्यवसाय सञ्चालन गरिराखेकै छन् । मगर दम्पतीको माग जस्तै सबैलाई व्यवसायीक रुपमा तालिम दिएर दक्षता अभिबृद्धि र भाषिक तालिमहरु सञ्चालन गरेर सीप दिने हो भने स्वदेशमै रोजगारीको अवसर र संभावना देखेका युवाहरुले निराश हुनुपर्ने अवस्था आउँदैन थियो की ?
तस्वीरहरुः लाक्पा जी शेर्पा