जाडोसँगै पात्लेका विद्यार्थीलाई जुत्ता वितरण

ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको मोलुङ ७ पात्लेस्थित पात्ले माध्यमिक विद्यालय पात्लेका विद्यार्थीलाई जुत्ता वितरण गरिएको छ । पात्ले मावि भुपु विद्यार्थी समाजको अगुवाईमा जुत्ता वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत २ सय ५० विद्यार्थी र शिक्षकलाई जुत्ता वितरण गरिएको समाजका महासचिव तथा जुत्ता वितरण संयोजक सार्की शेर्पाले जानकारी दिनुभयो । अमेरिकी नागरिक क्याथलिन कैपको अगुवाईमा हार्ट स्टेप फाउन्डेनको सहयोग, सौल हिमालय ट्रेक्स एण्ड टुर कम्पनीको समन्वयमा विद्यार्थीहरुलाई जाडो मौसमका लागि जुत्ता वितरण गरिएको महासचिव शेर्पाको भनाइ छ ।


गोल्डस्टार कम्पनीको जुत्ता बालकक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुका लागि वितरण गरिएको र यसअघिपनि झोला, ज्याकेट, स्टेशनरी लगायतको सामाग्री नियमित रुपमा वितरण गर्दै आएको विद्यालयका प्रधानाध्यापक लाक्पा शेर्पाले जानकारी दिनुभयो । समाजले आगामी दिनमा विद्यालयमा दीर्घकालिन कार्यक्रमहरु समेत सञ्चालन गर्ने योजना रहेको जनाइएको छ । विद्यालयको भौतिक, शैक्षिक वातावरणमा समाजलाई निरन्तर रुपमा सहयोग गर्दै आएको र छिट्टै खानेपानी योजना समेत सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।
आधारभूत तहको दरवन्दी मात्रै रहेको विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या भइरहेको भएतापनि पूर्व विद्यार्थीहरुको अगुवाईमा सहयोग प्राप्त हुँदा विद्यार्थीहरुलाई पठनपाठन र नियमित विद्यालय आउन हौसला मिल्ने गरेको शिक्षक रोहित नेपालको भनाइ छ ।
जुत्ता वितरण कार्यक्रममा विद्यार्थीहरुले बालगीत, शेर्पा सांस्कृतिमा आधारित श्याब्रु लगायतको नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, ओखलढुंगाका अध्यक्ष लाक्पा जी शेर्पाले पूर्व विद्यार्थीहरुको सहयोगले विद्यालयमा विद्यार्थी टिकाउदर बृद्धि गर्दै शैक्षणिक उपलब्धि हासिल गर्न मद्धत पुगेको भनाइ राख्नु भयो ।


त्यस्तै, अगुवा सार्की शेर्पाले सामाग्रीले विद्यार्थीहरुलाई विचैमा कक्षा छाड्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि नियमित रुपमा आवश्यकीय सामाग्रीहरु सहयोग गर्दै आएको बताउनुभयो । सहयोगी क्याथलिनले आफूले दुर्गम क्षेत्रको विभिन्न ठाउँमा सहयोग गर्दै आएको र आगामी दिनमा थप क्षेत्र विस्तार गरी सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार