विश्व शेर्पा दिवसको तयारी पूरा

लाक्पा जी शेर्पा

काठमाडौं (सार्वजनिक) । हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डेको तयारी पूरा भएको छ । नेपाल शेर्पा संघको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो सम्बन्धि जानकारी दिइएको हो ।
विश्व शेर्पा संघले सो अवसरमा विभिन्न औपचारिक तथा ऐतिहासिक कार्यक्रमहरु आयोजना गर्ने अध्यक्ष ई. आङ दोर्जी लामा शेर्पाले जानकारी दिनुभयो । दिवसको साथमा संघको दोस्रो महाधिवेशन समेत सम्पन्न हुनेछ । दिवसको अवसरमा शेर्पा भाषा सम्वन्धि बहुउपयोगी मोवाइल एप्लिकेशन ‘शेर्पा वाल्र्ड’ लाई समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको अध्यक्ष शेर्पाको भनाइ छ । राजधानीको स्मार्ट पार्टी भेन्यूमा हुने उद्घाटन कार्यक्रममा विश्वभरको १७ वटा देशको प्रतिनिधीहरु सहभागि रहने आयोजकले जनाइएको छ । हालसम्म १० देशका प्रतिनिधी नेपाल आइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । करीब दुई सय प्रतिनिधीहरुको सहभागितामा हुने कार्यक्रममा अधिकांश देशका प्रतिनिधीहरु भर्चुअलको माध्यमबाट सहभागि रहने दिवस तथा महाधिवेशन आयोजक समितिका संयोजक समेत रहनु भएका अध्यक्ष शेर्पाको भनाइ छ । सन् २०१७ को अक्टोबर ८ मा विश्व शेर्पा संघ स्थापना भएको र सोही दिनलाई विश्व शेर्पा दिवसको रुपमा विश्वभरका शेर्पाहरुले मनाउँदै आएका छन् । संघको कार्य समितिको कार्यकाल ४ बर्षको हुने भएपनि कोभिड लगायतका कारणले महाधिवेशन आयोजना गर्न केही समय ढिलाई भएको सो अवसरमा जानकारी दिइयो । संघको मूख्य उद्देश्य शेर्पा समुदायको भाषा, कला, संस्कृतिको जगेर्ना गर्नु रहेको र सोही अनुरुप सन् २०१९ मा शेर्पा भाषाको एप्स निर्माण अघि बढाइएको अध्यक्ष शेर्पाको भनाइ छ । २०२२ मा शेर्पा भाषा एप्सको औपचारिक रुपमा सार्वजनिकीकरण भएपनि प्रभावकारी बन्न नसकेको निष्कर्षसहित नयाँ अवधारणसहित एप्लिकेशन निर्माण गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । बहुउपयोगी एप्स शेर्पा जातिको इतिहास, संस्कार, संस्कृति, लिपी, भाषा प्रयोग, कला, गीतसंगीत, धार्मिक पर्यटकीय स्थलहरुको बारेमा समेत राखिएको जनाइएको छ ।
अक्टोबर ८ विहान ८ बजे ठुल्सिक रिन्पोछेको ह्याङसीको बाहुलीबाट उद्घाटन हुने कार्यक्रम सोही दिन वन्दसत्र सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ । नयाँ नेतृत्व चयन पश्चात् शेर्पाहरुको सघन वसोवास रहेको सिन्धुपाल्चोको भोटेकोशी ४ सलाङकट्टीको दुई दिने भ्रमणको कार्यक्रम रहेको कार्यक्रम व्यवस्थापन संयोजक च्येङा शेर्पा (साहिल) ले जानकारी दिनुभयो । यस पटकको सम्मेलन ‘जनमासको व्यापकता भन्दापनि प्रतिनिधिमुलक सहभागिता’मा जोड दिइएको र नीतिगत निर्णय गर्दै समुदायलाई मार्गदर्शन गर्ने सन्दर्भमा दिवस केन्द्रीत रहने नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको भनाइ छ ।
विश्व शेर्पा संघको नयाँ नेतृत्व चयन पालैपालो गर्ने व्यवस्था अनुसार महाधिवेशनले भारतको अलइन्डिया बुद्धिष्ट शेर्पा संघले सिफारिस गरेर पठाएको प्रतिनिधीलाई नेतृत्व चयन गर्ने र अर्को कार्यक्रम भारतमा आयोजना हुने समेत पत्रकार सम्मेलनमा जनाइएको छ । पत्रकार सम्मेलनमा शेर्पा किदुग युकेका महासचिव रिन्जी शेर्पा लगायत शेर्पा संघका पदाधिकारीहरु सहभागि रहनुभएको नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार