पुर्ख्यौली भूमिमा शेर्पाको इतिहास पहिल्याउंदा

आङ लमी शेर्पा


अध्ययन
सार

 

राष्ट्रिय, अन्तर्राष्ट्रिय अभ्यासहरू, ऐतिहासिक दस्तावेजहरू, हस्तलिखित अभिलेखहरू, परीक्षणशालाको  बैज्ञानिक  तथ्यहरू तथा मौखिक परम्पराहरूले कुनै पनि जाति प्रजातिहरूको इतिहासलाई भरपर्दो र बैधता प्रदान गर्दछ । यो अध्ययन प्राथमिक एवं उपलब्ध दित्विय स्रोतहरूको आधारमा शेर्पाहरूको पुर्ख्यौली भूमि, बस्तीहरूमा उनीहरूको इतिहास पहिल्याउन उत्सुक रहेको छ । अध्ययनकर्ताले धेरै ऐतिहासिक हस्तलिखित पांडूलिपि, दस्ताबेज, अभिलेख, शाहीछाप निर्देशनहरू आदि खोजतलास गरि अध्ययन गरेकी छन्  । जसले ऐतिहासिक अध्ययनको मान्यता प्रमाणित गर्दछ । प्रथम पटक  पत्ता  लगाइएको प्रमाणहरू मौलिक एवं प्राथमिक श्रोतहरू हुन् । जसको प्रथम ब्याख्याकर्ता तथा  बर्णनकर्ता स्वयं खोजकर्ता नै हुन् । साथै, पछिल्लो चरणको उपलब्ध प्रयोगशालाको परीक्षण प्रतिबेदनहरूको समेत यस अध्ययनले उपयोग गरेको छ । बर्तमान अध्ययनले शेर्पा उनीहरूको मूल थातथलो क्षेत्रहरूको जन्मजात मूलबासि, आदिबासी  रहेको तथ्य ठम्याउँदछ । साथै अध्ययनले उनीहरूको  ऐतिहासिकता उनीहरूको पुर्ख्यौली भूमिहरूमा प्राग ऐतिहासिक कालसम्म पहिल्याउँदछ।

 

बिषय प्रवेश

 

बर्तमान नेपालमा करीब १ सय २६ जाति प्रजातिका मानिसहरू बसोबास गर्दछन । ती सबै जातिहरूको भाषा, भेषभूसा, संस्कृति, धर्म, परम्परामा पृथकता पाइन्छ । ती मध्ये शेर्पा एक हिमाली बासिन्दा हुन् । उनीहरू प्रकृतिप्रेमी, परम्परागत प्रकृति पूजकको साथ्- साथै बौद्धमार्गी हुन् ।  शेर्पाको प्रत्येक संस्कृति, रीतिरिवाज, रहन-सहन, दिनचर्या, दर्शन, आस्था उनीहरूको स्थानीय परिबेशमा आधारित छन् । उनीहरूको स्थानीय पुर्ख्यौली भूमि, हिमाल, लेक- तलाउ, नदी-नाला, भीर-पाखा, कुना, कन्दरा, गुफा, डाँडा-काँडा, वन जंगल उनीहरूको जीवनयापनका आधारहरू रहेको पाइन्छ ।  पृथक भौगोलिक बनोटको एवं आफ्नै स्वशासित व्यबस्थाको कारण शेर्पाहरू ऎतिहासिक कालदेखि नै अन्य तल्लो भेगबाट अलग्गै तथा एकान्त रूपमा रहँदै आएका बासिन्दाहरू हुन् ।

 

पछिल्लो चरणमा भोट, सेन बंशीय शासक, शाह, राना पुन: शाह बंशीय शासकहरूसँग उनीहरूको घुलमिल, राज्य व्यबस्थामा सरिक तथा नेपाल राज्यको प्रणालीमा समाहित भएको पाइन्छ । आफ्नो पिता-पूर्खाको परम्परागत संस्कृति, धर्म, आस्था, रीतिरिवाजलाइ जुनसुकै सहज-असहज परिस्थितिमा समेत जोगाउँदै, दोश्रो पुस्तालाई हस्तान्तरण गर्दै आजको २१ओँ शताब्दीसम्म नियमित रूपमा आफ्नो सभ्यता संरक्षण गर्दै जीवनयात्राको चरणहरू पार गर्दै आएका छन् ।

 

सातौं  शताब्दीसम्म हिमाली भेकहरूमा लेखन संस्कृति त्यत्ति  प्रचलनमा नरहेको कारण प्राचीन प्रमाणहरूमा लेखन संस्कृति नभएको कारण प्राचीन प्रमाणहरू शेर्पाको ऎतिहासिकता सम्बन्धि अभाव रहेको मनिन्छ । त्यस माथि उनीहरू मौखिक परम्परामा जिउने बिशेष मानिसहरू हुन् । पछिल्लो चरणमा बौद्ध धर्म अबलम्बनसँगै सातौं शताब्दि देखि मात्र सम्भोटा लीपिहरू मार्फत् पठन, पाठन र लेखनको संस्कृति अबलम्बन गरेको पाइन्छ ।

 

शेर्पाहरू आफ्नै बिशाल भूमि, क्षेत्रमा आफ्नै शासकीय ब्यबस्था अन्तर्गत चलि आएकोमा सेन र पृथ्वीनारायण शाहले पूर्बी भूमि हत्याएपछि सोलुखुम्बू क्षेत्र पनि नेपाल राज्यमा गाभिएको मानियो।

 

जीविकोपार्जनको हकमा स्थानीय कृषि, पशुपालन, बिशेषगरि नाक, याक (चौंरी) आदि, घर बुनुवा कपडा उत्पादन, हिमाल पारि र तराई, काठमाडौँ उपत्यका लगायतमा ब्यापार व्यवसाय मुख्य मानिन्थ्यो । पछिल्लो चरणमा जर्ज एभरेष्ट नाम गरेका व्यक्तिले संसारको अग्लो हिमाल पत्ता लगाएको भनिएकोले उक्त हिमालको नामै परिबर्तन गरि माउन्ट एभरेष्ट राखी नेपाल लगायत संसारले माने जबकि संसारको शिखर चोमोलुङ्ग्मा नै भएकोले शेर्पाहरू प्राचीन कालदेखि देवी मानि आदर, सत्कार गर्दथे । त्यस पश्चात् सन् १९५३ मा हिलारी र तेञ्जिङ्ग शेर्पाले चोमोलुङ्ग्माको आरोहण गरे । त्यस पश्चात् बाहिरि संसारमा शेर्पाको नाम प्रचलित हुन पुग्यो । त्यसपछि यो शेर्पा जाति प्रति संसारभरका मानिसहरूले उत्सुकता प्रकट गर्न थाले ।  कोहि उनीहरुलाई हेर्न आए, कोहि उनीहरूको हिमाल हेर्न आए भने कोहि उनीहरूको संस्कृति अध्ययन गर्न समेत आए ।

वर्तमान समयमा संसारभर नै कुन जातको मानिस बिशेष स्थानमा कहिले आगमन भयो, को पहिला प्रवेश गरेको, को नयाँ, को पुरानो, को भित्रिया, को बाहिरिया, को सक्कली इत्यादि जस्ता पहिचान खोज्ने क्रममा एकले अर्कोलाई पछाडिको, नयाँ, कमजोर स्थापित गर्ने र आफूलाई अघिल्लो, प्राचिन, शक्तिशाली, खाँटी स्थानीय मूलबासी प्रमाणित गर्ने होड चलिरहेको परिप्रेक्षमा नेपालमा समेत यही वायु  प्रवाहको स्थिति रहेको देखिन्छ । यही सन्दर्भमा यस अध्ययनकर्ताको अध्ययनको क्षेत्रमा शेर्पा पनि रहेकोले शेर्पाको इतिहास पहिल्याउने जमर्को गरेकी छन् ।

हालसम्मको भाष्य

सर एडमण्ड हिलारी र तेञ्जिङ्ग नोर्गे शेर्पाले चोमोलुङ्ग्मा आरोहण गरे पश्चात् ठूलो संख्यामा विदेशीहरू सो क्षेत्रमा भ्रमण गर्न आए । धेरैले शेर्पाको संस्कृति, धर्म आदिबारे अध्ययन गरे ।  केहि व्यक्तिहरुको  अन्दाजलाइ मुख्य सूचना मानि उनीहरूले शेर्पाको ऐतिहासिकताको भाष्य नै परिवर्तन गरि केहि सय अर्थात् पाँच छ सय वर्ष अघि मात्र नेपालमा उनीहरू आएको प्रकाशित गरि गलत प्रचारमा लागे । ती लेखकहरूमा बिशेष गरि माइकल ओपिज, ह्युग आर. डाउन्स , रोबर्ट ए. पाउल,  शेरी ओर्टनर,  फ्रान्सिस काजेल, फुरर मुख्य छन्।

 

त्यस्तै गरी देशकै प्राज्ञिकहरू पनि अध्ययन खोज अनुशन्धानको बाटो नसमाती स्थापित भाष्यकै पछि लागे ।   अझ राष्ट्रियस्तरका भनि गनिएका  इतिहासबिद् , संस्कृतिबिद् भनिएका व्यक्तिले त सोलोखुम्बुको भूमिमा पाइलै नटेकी त्यहाँ शेर्पा नै छैनन् भनेरै लेख्न थाले । शेर्पा लेखकहरू पनि बिदेशीकै भनाइलाई स्वीकार्दै पाँच छ सय वर्ष नै हो शेर्पाको इतिहास भन्नतर्फ लागे । नेपालका प्रथम मानबशास्त्री डोरबहादुर बिष्ट र पासांग शेर्पाले मात्रै  शेर्पाहरू बाहिरबाट न आइ त्यहींका स्थानीय जन्मजात मुलबासी, आदिबासीहरु हुन् भनि उल्लेख गरेका छन् तर उनीहरूले पनि यो तर्क पुष्टि गर्ने पर्याप्त आधारहरू पेश गरेका छैनन्।

बर्तमान समयसम्म यीनै भाष्यहरूको आधारमा बजारमा शेर्पा नवआगमित बाहिरी जात, बसाईं सरेर केवल पाँच छ सय वर्ष अघि मात्र नेपालमा प्रबेश गरेको भनि प्रचारमा लागेको जस्तो भान हुन जान्छ भने स्वयं शेर्पा समुदाय भने यसलाई स्वीकार गर्न तत्पर देखिंदैनन्। तसर्थ, बर्तमान कालसम्म नेपाल अर्थात् मूल पुर्ख्यौली थातथालोहरूमा शेर्पाको इतिहास के हो ? कति हो ? भन्ने गहन बिषयमा अस्पष्टता झल्किन्छ। यसर्थ, यस अध्ययनले तथ्य, प्रमाण, शोध, खोज, एवं अध्ययनको आधारमा अस्पष्टतालाइ चिर्ने जमर्को गरेको छ।

 

बर्तमान अध्ययनको बिषयबस्तु:

 

  • शेर्पाहरू बर्तमान शेर्पा भूमिहरूको स्थानीय जन्मजात मूलबासी हुन् कि होइनन्?
  • पुर्ख्यौली थात थालोहरूमा शेर्पाहरूको प्रमाणिक  इतिहास पहिल्याउनु

 

)  शेर्पाहरू बर्तमान शेर्पा भूमिहरूको स्थानीय जन्मजात मूलबासी हुन् कि होइनन् ?

 

शेर्पाहरू बर्तमान शेर्पा भूमिहरूको स्थानीय जन्मजात मूलबासी हुन् कि होइनन् भन्ने गहन बिषयमा अध्ययन गर्दा, अध्ययनले उनीहरु स्थानीय जन्मजात मूलबासी भएको तथ्यहरू प्राप्त भएका छन् । ती तथ्य तथा प्रमाणहरू यस प्रकारका छन् :

 

. स्थानीय नामाकरण शेर्पा भाषामा रहनु

 

शेर्पाहरू बसोबासित पुर्खौली थात थालोहरूमा प्रत्यक हिमाल, पहाड, लेक, ब्याँसी, डाँडा, पाखा-पखेरा, भन्ज्यांग, पर्बत, शिला, ताल-तलैया, खोला-नाला, बस्तीहरूको नामकरण अर्थपूर्ण रूपमा शेर्पा भाषामा गरिएको पाइएको छ।  परापूर्ब कालदेखि वर्तमान कालसम्म त्यही नामको निरन्तरता पाइन्छ । जस्तै हिमालको नाममा च्योमोलुङ्ग्मा, खुम्बीयुल्ल्हा, टाशील्हाप्चा आदि छन् । त्यस्तैगरि शेर्पा गाउँबस्तीहरू बिशाल क्षेत्र समेटेर फैलेकाछन् । तिनीहरू शेर्पाको रू (थर) अनुसारको गाउँबस्ती बसेका छन् (शेर्पा ८४) ।  जंगल, रूखहरू स्थानीय जडिबुटी, जंगली सागसब्जी, च्याउ, जंगली फलफूलहरू शेर्पा भाषामा नामाकरित छन् । यी तथ्यहरूले शेर्पाहरूको ऎतिहासिकता उनीहरूको बसोबसित क्षेत्रहरूमा धेरै हजार वर्ष पछाडीसम्म लैजन्छ । तसर्थ, यी तथ्यहरूले उनीहरू स्थानीय मूलबासी रहेको पुष्टि गर्दछ ।

 

. पूर्ख्यौली भूमिहरूमा रू (थर)को आधारमा बस्तीहरु बसालिएको

 

शेर्पाहरू रसुवा जिल्लाको आसपास देखि पूर्ब इलामसम्म फैलिएर बसेका छन् । ती मध्ये बर्तमान कालमा सोलुखुम्बुलाइ मूख्य पुरानो थलोको रूपमा मान्दछन् । सोलुखुम्बुमा पैतृक थरको बस्तीहरू आजपनि प्रचलनमा रहेको पाइन्छ ।   जस्तै लामा थरका बस्तीहरूमा जोङ्ग, फाब्लो, छ्युटाक्पू, छ्युखोर आदि छन् भने  भिनासा अर्थात् पिनासा थरि शेर्पाहरू लोदिङ्ग भेगमा केन्द्रित छन् । त्यस्तै शेर्पाको अर्को थर खाम्पाचे थाम्सेरे फेरा फाँटमा बसोबसित छन् भने ढाकतोक्पा थरि शेर्पाहरूको बसोबसित क्षेत्र ताक्तोर रहेको छ । अन्य जिल्लाहरूमा समेत शेर्पा नामका धेरै बस्तीहरू रहेको पाइन्छ । यी थर (रू) मा आधारित प्राचीन बस्तीहरूको आधारमा शेर्पाहरूको इतिहासलाइ प्राचीन एवं ऎतिहासिक कालसम्म लैजान सक्ने सम्भावना रहन्छ ।

. शेर्पाको स्वशासित व्यबस्था (सेल्फ गभर्निङ्ग सिस्टम)

बिगतमा शेर्पाहरूको आफ्नै राजा, मन्त्री, प्रशासक, नेता, कार्यकर्ता, बिबिध हैसियतयुक्त परम्परागत संस्था वा निकायहरू अभ्यासमा रहेको पाइन्छ । बर्तमान परिबर्तित समयमा समेत राजा बाहेक यी सबै परम्परागत निकायहरू कुनै न कुनै रूपमा समाजमा जीवित रही अभ्यासरत छन।

 

त्यसताका शेर्पा समाजलाई स्वयं शेर्पाले नै शासन गर्ने परम्परा थियो । शेर्पा सामाजको प्राचीन सभ्यतालाई निरन्तरता दिन, सामुदायलाई हरेक दृष्टिकोणबाट चुस्त रूपमा नेतृत्व दिन, सुन्दर भबिष्यतर्फ डोहोर्याउन शेर्पा भूमिहरूमा बिबिध पक्षका शासकीय प्रणालीहरु प्रचलनमा थिए । ती मध्ये मुख्य शासकीय प्रणालीहरु यस प्रकारका छन् :

धार्मिक शासन प्रणाली

 

शेर्पाहरू स्वभाबैले धार्मिक, मैत्री, करुणा, मुद्विता एवं उपेक्षा भावनायुक्त हुन्छन। समग्र शेर्पा समुदाय धार्मिक   रूपमा स्वसंचालित एवं स्वशासकिया प्रणालीबाट चलायमान रहेको पाइन्छ । उनीहरुको धार्मिक शासकीय व्यबस्थामा विभिन्न चरणको, विभिन्न हैसियतको एवं विभिन्न तहगत निकायहरू रहेको पाइन्छ । तिनमा मुख्य   रूपमा दान प्रणाली, दान मार्फत पूण्य एवं खुशी कमाउने कार्यमा सर्बसाधारण शेर्पाहरू संलग्न हुन्छन।

 

त्यस्तै गरेर अर्को तहमा जिन्दाक रहन्छ जसको मुख्य जिम्मेवारी निश्चित कार्यक्रमको व्यवस्थापकिया भूमिका निभाउनु रहन्छ।  त्यस्तै गोन्पा त्रीरत्न मध्यको एक रत्नको रूपमा रहन्छ ।  साथै गोन्पाले समग्र समाजलाई धार्मिक रूपमा नेतृत्व गर्दछ । लामा धार्मिक शासनको अर्को महत्वपूर्ण संरचना हो जसले धार्मिक तवरमा कसरी अगाडी बढ्ने जस्ता गहन बिषयबस्तुको नेतृत्वदायी जिम्मेवारी उसको रहन्छ । लामाले सामाजिक तथा अन्य परम्परागत संस्कृतिको समेत नेतृत्वदायी भूमिका निभाउँदछन्।  सर्बसाधारण शेर्पाहरू दान दिएर, धार्मिक कार्यक्रमहरूमा सरिक भएर, एवं अन्य बिबिध तवरबाट संलग्नता राख्दछ ।  यसरी शेर्पहरूमा धार्मिक रूपमा बाँध्ने,  नेतृत्व गर्ने आफ्नै धार्मिक स्वशासकीय प्रणाली रहेको पाइन्छ ।

 

सामाजिक स्वशासकिय ब्यबस्था

 

शेर्पाका सामाजिक स्वशासकिय प्रणाली स्थायी प्रकृतिको पाइन्छ जसले समाजलाई उदार एवं तानाशाही दुवै रूपमा नेत्रित्व गर्दछ । शेर्पाहरूमा बिबिध भूमिका, जिम्मेवारी एवं हैसियतका बिबिध सामाजिक निकायहरू अभ्यासमा रहेको पाइन्छ जसमा मुख्य निकायहरू यसप्रकारका छन् :

लावा

लावा एक स्थायी निकाय हो जसको जिम्मेवारी निश्चित् कार्यक्रम, निश्चित् क्षेत्र, निश्चित् जनसंख्या वा परिवारको निम्ति निश्चित् समयको निम्ति व्यक्तिहरू नियुक्त हुन्छन । नियुक्त हुने व्यक्तिहरु भने अस्थायी हुन्छन ।  कार्य बोझको आधारमा लावाको संख्या २ वा ४ वा ६ आदि संख्यामा हुन्छन् ।  कुनै समयमा उनीहरु नै सो कार्यक्रमको दाता समेत रहन्छन् ।   यो पालैपालो प्रत्येक परिवारले निर्बाह गर्नुपर्दछ । फरक लावा धार्मिक, सामाजिक दुवै प्रकृतिको कार्यमा सक्रिय रहन्छ।

छोक्पा

शेर्पामा छोक्पा अर्को परम्परागत संस्थागत निकाय हो ।  यो आफैंमा स्थायी प्रकृतिको हुन्छ भने यसका सदस्यहरू अस्थायी हुन्छन।  छोक्पाको मुख्य जिम्मेवारी आफू भन्दा माथिल्लो निकायको मूल उद्दश्य पूर्ति गर्न स-साना रूपको काम सम्पन्न गरिदिनु  रहन्छ । यो धार्मिक एवं सामाजिक दुवै रुपमा सक्रिय रहन्छ।

 

किदुग

किदुग प्राय: जसो छोक्पा भन्दा माथिल्लो निकायको रूपमा रहन्छ । किदुग  स्थायी प्रकृतिको हुन्छ भने यसका सदस्यहरू अस्थायी हुन्छन । किदुग शेर्पाहरूको सुख, खुसी, दु:ख आदि सबै प्रकृतिको कार्यमा सक्रिय रहन्छ ।   बिबाह, दाइँजो, चाडबाड, सामाजिक महत्व, मरण आदि जस्ता  कार्यमा किदुगको नेतृत्वदायी भूमिका रहन्छ।

 

चिछोग

चिछोगलाइ शेर्पा समाजको सर्वोच्च निकाय मानिन्छ । शेर्पाका सबै भन्दा उपल्लो निकाय चिछोगले उनीहरूको समग्र क्षेत्रहरूलाइ समेट्दछ । यो सम्पूर्ण शेर्पाहरुको साझा निकाय हो । सबै क्षेत्रहरूका शेर्पाहरूको  प्रतिनिधित्व चिछोगमा रहन्छ । परम्परागत तवरमा  चलिरहेको नियम, कानून कार्यान्वयन  गर्ने, समय सापेक्ष परिमार्जन गर्ने, नयाँ कानून नियमहरू निर्माण गर्ने जस्ता काम चिछोगले गर्दछ । यसरी समग्र समाजलाई नेतृत्व गर्ने भूमिकामा चिछोग रहन्छ ।

यसरी, प्राचिन कालदेखि बर्तमान कालसम्म नै लावा, छोक्पा, किदुग, चिछोग जस्ता परम्परागत स्वशासकीय निकायहरू शेर्पा समाजमा स्थायी रुपमा सक्रिय पाइन्छ ।

राजनैतिक एवं कानूनी स्वशासित व्यबस्था

शेर्पा समुदायलाई राजनैतिक रूपमा नेतृत्व गर्ने विशेष निकायहरू पाइन्छन ।  ती निकायहरू  विभिन्न तहमा कार्यरत हुन्छन । विभिन्न हैसियतका राजनैतिक निकायहरू विभिन्न भूमिकामा रहन्छन । पेम्बू, पाप्वोन, मूर्मीहरू    सामाजको उपल्लो भूमिकामा रहन्छन् । जसले शासन गर्ने, कर लगाउने, कर असुल्ने मुख्य काम गर्दछन् ।   उनीहरुलाई नजराना स्वीकार गर्ने, कोशेली प्राप्त गर्ने एवं कहिले काहीं नि:शुल्क श्रम समेत लिने अधिकार प्राप्त हुने गरेको पाका व्यक्तिहरू बताउंद छन् । पेम्बू, पाप्वोन, मूर्मीहरू नै समाजको मुख्य नेतृत्वमा रहने प्रचलन शेर्पाहरूमा रहेको पाइन्छ ।

ह्युल्गी ठिम एवं ह्युलठिम

ह्युल्गी ठिम एवं ह्युलठिम शेर्पा समुदायको अर्को राजनैतिक निकायको रूपमा रहेको पाइन्छ । जसको मुख्य जिम्मेवारी आवस्यक बिषयवस्तुमा सभा, सम्मेलन गर्ने, छलफल गर्ने, उपल्लो परिषद्को रूपमा रहन्छ । परिषद्को निर्णय समुदायलाई सार्वजनिक गराउने, सचेत गराउने, लागू गर्ने, दण्ड सजाय तोक्ने, जरिवाना उठाउने भूमिकामा ह्युल्गी ठिम एवं ह्युलठिम रहन्छ । यी प्रचलन आजपनि शेर्पा सामाजमा जीवित छन् ।

नावा

शेर्पा क्षेत्रमा वनजंगल, रूख, बिरुवा, जडीबुट्टी,  खोलानाला प्रशस्तै पाइन्छन । यी प्राकृतिक श्रोतहरूको   संरक्षण, सम्बर्धन, उपभोग, व्यबस्थापनका निम्ति बिशेष निकायको व्यवस्था पाइन्छ । यी कुराहरुको नेतृत्वकर्ता नावा हुन्छन् ।  नावाको शाब्दिक अर्थ वन जंगलहरूको रेखदेख गर्ने व्यक्ति वा निकाय भन्ने लाग्दछ । विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व हुने गरि नावाहरू नियुक्त गर्दछन् । नावा पद स्थायी प्रकृतिको हुन्छ भने चुनिने नावाहरू भने अस्थायी प्रकृतिका हुन्छन । य्हुलठिमको निर्णय मुताबिक चुनिने नावाहरूले  वनजंगल, रूखबिरुवा, जडीबुट्टी, चरण, खर्क इत्यादी प्राकृतिक श्रोतको न्यायोचित वितरण, संरक्षण गर्ने जिम्मेवारी पुरा गर्दछ । यी प्रचलन आज पनि शेर्पा भूमिहरूमा जीवित छन् ।

भूमि वितरण

शेर्पा भूमिलाइ परम्परागत रूपमा विभिन्न उपयोगका निम्ति वर्गीकरण गरेको पाइन्छ । जस्तै गोन्पाको पशुपालान, तिनका खर्क र चरणका निम्ति सोसोलो, गोन्पाको उपयोगको निम्ति विशेष भूमि गोन्पा, आनी गोन्पाको भोग चलनको निम्ति विशेष भूमि देउचे, तिर्थ स्थलहरुका निम्ति छुट्टै भूमि क्षेत्रहरु दोङ्गलामचो इत्यादी भूमि ब्यबस्थापन प्रणाली शेर्पा स्वशासित ब्यबस्थामा पाइन्छन् ।  त्यस्तै गरि खेतिपाति, गाउँबस्तीको निम्ति छुट्टै व्यवस्था रहन्छ । कतिपय शेर्पा क्षेत्रहरूमा उच्च उचाइमा फल्ने प्रकृतिको धान खेती, ठूला लामा, गोंपाहरूको निम्ति विशेष धान खेतीको व्यवस्था रहेको हस्तलिखित ग्रन्थमा उल्लेख पाइन्छ । यसरी शेर्पा भूमिहरूमा विशेष भूमि व्यबस्था लागू गरेको पाइन्छ ।

श्रम विभाजन

शेर्पा समुदायको पैतृक पुर्ख्यौली भूमिहरूमा कुन बस्ति, कुन क्षेत्र एवं कुन समूहका मान्छेहरुले के के काम गर्ने भन्ने परम्परागत रूपमा तय गर्ने गरेको पाइन्छ । यध्दपी  यो प्रथा बर्तमान कालमा न्यून रूपमा प्रचलनमा छन् । जस्तै पशुपालन, मासु मंसको व्यबस्थापन (प्रि बुद्धिस्ट कल्चर), कृषि कार्य, प्राचीन प्रणालीमा शिकारी कार्य (प्रि बुद्धिस्ट कल्चर), पर्मा प्रणाली इत्यादी छुट्टै समूहका मानिसहरुले गर्ने व्यबस्था रहेको थियो । यी मध्ये केहि परम्परा बर्तमान कालमा पनि जीवित छन् ।

प्रकृति संरक्षण

शेर्पा भूमिहरु केवल उच्च हिमाली लेकाली क्षेत्रहरुमा फ़ैलिएकोले ती भूमिहरूमा शेर्पा परम्परा, संस्कृति, धर्मसंग   प्रत्यक्ष अप्रत्यक्ष महत्व राख्ने हिमाल, लेक, डाँडा, चुचुरो, बिशाल पहरो, गुफा, खोलानाला, प्राचीन वृक्षहरू  इत्यादिलाई संरक्षण गर्न शेर्पा स्वशासकिया प्रणालीमा बिशेष व्यवस्था गरिएको पाइन्छ ।  ती महत्वपूर्ण एवं जोखिम प्राकृतिक सम्पदाहरूको संरक्षणका निम्ति पबित्र एवं धार्मिक नीति नियम रहेको पाइन्छ। यस्तो व्यवस्था बर्तमान कालसम्म प्रचलित छन्।

 

उम्जे प्रणाली

शेर्पामा उम्जे त्यस्तो नेतृत्व हो जसले सामाजिक लगायत आध्यात्मिक, धार्मिक दुवै पक्षबाट समाजलाई नेतृत्व दिने गर्दछ ।  पछिल्लो चरणको राजनैतिक प्रणालीमा समेत शेर्पाको परम्परागत शासकीय प्रणालीको उपयोग गर्दै शेर्पा भूमिको एक उम्जे सिपा फिन्जोलाई बि सं १८४७ मा “गुम्बाको व्यबस्थापन गर्ने,  समाजलाई शासन गर्ने, कर उठाउने, र चैनपुरमा पानफूल कर रु १० बार्षिक बुझाउने” भनि शाही निर्देशन रूपी लिखत  शाही निर्देशन पाइन्छ ।   यसबाट आज भन्दा ठिक २ सय ३३ बर्ष अगाडी सम्म त्यस्ता उम्जे नेत्रित्वहरूलाइ समेत परिबर्तित राज्य व्यवस्थाले स्वीकारेको देखिन्छ। आज पनि कतिपय शेर्पा भूमिहरूमा उम्जे प्रणाली अभ्यासमा रहेका छन्।

 

पछिल्लो परिबर्तित राजनैतिक व्यबस्थामा शेर्पाको स्वशासन प्रणाली

 

सेन बंशीय एवं पृथ्वीनारायण शाहको राज्य बिस्तार पश्चात् एकान्तमा स्वतन्त्र सार्बभौम रूपमा स्वचालित स्वशासित शेर्पा भूमि नेपाल राज्य अन्तर्गत समेटीए पश्चात् राज्यले तिनै स्थानिय परम्परागत स्वशासित प्रणालीका नेतृत्वबर्गलाई राज्यले आफ्नो प्रतिनिधिको रूपमा नियुक्त गरि कर लगाउने, असुल्ने क्रमको थालनी गरेको पाइन्छ।  त्यस्ताका शेर्पाहरूको नेतृत्वमा मिशार, गोर्चा, गान्वा, पगरी, आदिको भूमिकामा शाही निर्देशन एवं ताम्रपत्र अभिलेख मार्फत् उल्लेख गरि नियुक्त गरेको पाइन्छ (बि सं १८८२) ।

 

अम्बल प्रणाली

शेर्पा भूमिहरूलाइ परिबर्तित शासकीय ब्यबस्थामा अम्बलको रूपमा पुन: शेर्पाहरूलाइ नै भोग चलन गर्न दिएको पाइन्छ। अम्बललाइ खास क्षेत्र भित्रको सीमारेखाको रुपमा लिइन्छ।  स्थानिय शेर्पाहरूले खास क्षेत्रहरू, खास सिमा रेखाहरूसम्म भोग चलन गर्न पाउने  अधिकारको निरन्तरता रहेको देखिन्छ।  बि सं १९९९ मा समेत स्थानिय शेर्पा अम्बलको अधिकार अदालतको बिचारिले हडप्न लाग्दा पुन राज्यको (जनक बहादुर कुँवर) निर्देशनले बिचारी हटाएको देखिन्छ।

 

किपट ब्यबस्था

किपट भूमि व्यबस्थाको एक प्रणाली हो जुन राई, लिम्बू, तामाङ्ग, शेर्पा भूमिमा प्रचलित थियो (इङ्ग्नाम इङ्ग्नाम ४७)।  शेर्पाहरूले राजा राजेन्द्र बिक्रम शाहको लालमोहरले  बि सं १८८२ मा “बाबु बाजे देखि खाइ आएको” किपट को निरन्तरता दिएको देखिन्छ जसमा सोलु जोत्त लगायत परेको पाइन्छ।  किपट व्यवस्थाले भूमि सम्बन्धि स्वमित्व स्थापित गर्दछ (इङ्ग्नाम इङ्ग्नाम ४७-४८)।  तसर्थ, किपट व्यवस्थाले पनि राजा राजेन्द्र बिक्रम शाहको पालासम्म शेर्पा भूमिहरूमा उनीहरुको पुर्ख्यौली भूमि अधिकार निश्चित गरेको प्रष्टिन्छ।

 

 

मौजे एवं खर्क ब्यबस्था

स-साना शेर्पा बस्तीहरूमा समेत लालमोहरबाट शेर्पाको आफ्नो भूमिको स्वामित्व मौजे, खर्कको रूपमा निशाना छाप निर्देशनहरू मार्फत् निरन्तरता दिएको पाइन्छ।

 

यसरी ऎतिहासिक काल खण्डहरूमा राजनैतिक रूपमा शेर्पा भूमिहरूमा शेर्पाहरूको एक ब्यबस्थित, बिकसित परम्परागत प्रणाली अभ्यासमा रहेको पाइन्छ

 

मौखिक इतिहास

 

शेर्पा समाज मौखिक परम्परामा आधारित समाज मानिन्छ।  उनीहरूको समाजमा प्राचीन काल देखि नै निरन्तर रूपमा हस्तान्तरण हुँदै, मानिंदै, निरन्तरता दिंदै आएको प्रशस्त मौखिक इतिहासहरू पाइन्छन तिनमा दशौं शताब्दीको उत्तरार्धमा गोन्पो दोर्जी, उनको कुकुर, मिलारेपाको कथा आदि पाइन्छ।  त्यस्तै उनले सोलुखुम्बू क्षेत्रका गुफाहरूमा ध्यान गरेको, उनका बाजे बराजुहरूले खुम्बू तर्फ ब्यापार गर्ने गरेको इतिहास पाइन्छ। त्यस्तै साम्तेन छोलिङ्ग गोन्पामा शेर्पाहरूले दोङ्ग-याक मारी विभिन्न थरि शेर्पाहरू बीच भाग लगाएको, इतिहास पाइन्छ जसबाट शेर्पाहरू बौद्ध धर्म अबलम्बन अगावै उनीहरूको उपस्थिति बर्तमान भूमिहरूमा पाइन्छन्।

 

इतिहासकार लुसियाना पेटेकले आठौं शताब्दीमा शेर्पा भूमिहरूमा नेपाली कागज र पार (परम्परागत छापाखाना) को अभ्यास रहेको उल्लेख गरेका छन् (होयफ़र, १९७९)। यस् तथ्यबाट त्यसताका शेर्पाहरू बिकसित रहेको र कागज र कागजमा अक्षर छापी प्रयोगमा ल्याउने गरेको स्पष्ट हुन जान्छ।

 

इतिहास शिरोमणि बाबुराम आचार्यले शेर्पालाई नेपालकै भूमि पुत्र पुत्रीको रूपमा उल्लेख गरेका छन् (आचार्य, ६७)।   देशको उच्च कोटीको इतिहासकारले शेर्पालाई यहांको भूमि पुत्र पुत्री मान्नु उनीहरू यहाँका भूमिहरुको प्रथम भूमि पुत्र पुत्री रहेको तथ्यलाई थप पुष्टि गर्दछ।

 

यी बिबिध तथ्यहरूले शेर्पाहरू बर्तमान नेपालको हिमालय क्षेत्रहरूको एक जन्मजात भूमि पुत्र-पुत्री, मूलबासी   रहेको तथ्य पुष्टि   गर्दछ।  शेर्पाहरु अन्य बाहिरि भूमि बाट  केवल ५/६ सय बर्ष अघि मात्र बसाई सराइ मार्फत् आएको नभई वर्तमान भूमिकै प्राचीन मानबको रूपमा रहेको तर्कलाई थप बल पुर्याउदछ।  यसर्थ, उनीहरू नेपालको एक प्राचीन आदिम मानबको सन्ततिहरू रहेको मान्न सकिन्छ।

 

) पूर्खौली थात थालोहरूमा उनीहरूको प्रमाणिक इतिहास पहिल्याउनु

 

शेर्पाहरूको पुर्ख्यौली थात थलोहरू प्राचीन काल देखि निरन्तर रहँदै बर्तमान कालसम्म पनि रसुवा केरोङ्ग घाँटी देखि, नुवाकोट, सिन्धुपाल्चोक  तातो पानी घाँटी, धोलाखा नाका, रामेछाप, सोलुखुम्बू नाङ्गपाला   भन्ज्यांग हुँदै ओखल ढुंगा, उदयपुर , खोटांग, भोजपुर, संखुवासभा नाका हुँदै इलाम, दार्जिलिङ्ग, भूटान सम्म फैलिएर रहेका छन्।  ती पुर्ख्यौली थात थलोहरू एवं ती मध्ये प्राचीनतम थात थलोहरूमा शेर्पाहरूको इतिहास के हो? उनीहरू कहिले देखि त्यस भूमिमा बसोबासित छन् ? तिनको सभ्यताको आधार के हुन्? जस्ता गम्भीर बिषयमा बर्तमान अध्ययनले केहि झिल्कोको रूपमा प्रकाश पार्ने जमर्को गर्दछ। शोध, खोज, अनुशन्धानको आधारमा शेर्पाहरूको इतिहास उनीहरूको भूमिमा के कस्तो पाइन्छ भन्ने मुख्य बिषयबस्तुलाई टेवा पुर्याउने केहि तथ्यहरू यहाँ उल्लेख गरिन्छ।

 

 

) कथा

शेर्पा समाजमा उनीहरूको इतिहास गौरवान्तित गराउने, परापूर्ब कालदेखि प्रचलनमा आएका प्रशस्त कथा, किम्बदंतिहरू प्रचलित पाइन्छन जस्तै शेर्पाहरू आफ्नो प्रारम्भिक पूर्खा एक बाँदर र राक्षसनीको पुत्रलाई मान्दछन जसले आदिम मानवलाई इङ्गित गर्दछ।

 

) किम्बदन्ती

डेब्थार मार्पो मोला गीत अर्थात् रातो कथामालामा शेर्पाको इतिहास र उनीहरूको पूर्खाहरू उल्लेख रहेको पाइन्छ जसमा एकै समयमा खाम र हिमालको दक्षिण भाग वा बर्तमान नेपाल हिमाली क्षेत्रमा करिब ३०० वर्ष शासन गरेको उल्लेख पाइन्छ (गेसे साङ्ग्ये, मोला, ६ )।  शेर्पाको औपचारिक संस्कृति बिबाहको समयमा आफ्नो पिता पूर्खाको बयान गर्ने क्रममा यस्ता गौरबमय गाथा बोकेको थुप्रै गीतहरू गाइने चलन यध्यपि बिध्यमान छ।   यस्ता परम्परागत प्रचलनले शेर्पाहरूको ऎतिहासिकता  बर्तमान भूमिमा प्राग ऎतिहसिक काल खण्डसम्म लैजान सक्छ।

 

 

प्राचीन भूमिको लिखत

प्राचीन कालदेखि बर्तमान कालसम्म शेर्पाका केहि रू (थर) हरूको पूर्खौली भूमिहरूको सिमाङ्कन, सिमा क्षेत्र बेचबिखन , स्वामित्व हस्तान्तरण, लामा, गोंपाले चर्चेको भू-भागहरूको लिखत सम्भोटा एवं देवनागरि  लीपीमा प्राप्त छन्।  तिनले शेर्पा धर्म, संस्कृति, परम्परामा प्रत्यक्ष सरोकार राख्ने परम्परागत संस्कार संस्कृतिहरू बोकेका छन्।   यसबाट  शेर्पाको पूर्खौली भूमिहरू स्वच्छ रूपमा  उनीहरूकै पिता पूर्खाको मेहनत, सभ्यता एवं संस्कृतिसँग   सामन्जस्यता राख्दै उनीहरूको सम्बन्ध प्राचीन काल देखि निरन्तर रूपमा रही आएको इंगित गर्दछ।

 

सम्भोटा लीपीमा रहेको हस्तलिखित दस्ताबेजमा तत्कालिन विभिन्न थरका शेर्पाहरूको प्रतिनिधिहरुको   सहि छाप रहेको छ जसमा “तीनथरी शेर्पा हरू मात्र  चांग प्रदेशमा मंगोल छरिएको बेला नाङ्ग्पाला काटेर आएको” उल्लेख  पाइन्छ। उनीहरू नाङ्ग्पाला हुँदै खुम्बूमा स्थायी बसोबास खातिर आएका थिए। ती मध्ये तीन दाजुभाइ फाग्चे, किमो र नाग्छुङ्ग आगमनको   केहि समय पश्चात् उनीहरूको आगमन पूर्बनै प्रचलित रहेको “गोन्पाको बिशेष लामा फाग्चे बनेको” उल्लेख छ। केवल ती तीनथरी शेर्पाहरू र तीन दाजुभाइहरूको  स्थायी बसोबासको सुरुवात खुम्बूमा सन् १४०० तिर मानिन्छ।  यसबाट ती तीनथरी शेर्पाहरू सहित तीन दाजुभाइहरूको  स्थायी बसोबासको प्रारम्भ करिब २५ बंश अघिको  भएको प्रष्टिन्छ ।  यसैको आधारमा बर्तमान भाष्य सृजना  भएको हुनु पर्दछ।  तर उनीहरूको आगमन पूर्व नै त्यहाँ गोन्पा प्रचलनमा रहेको, गोन्पामा लामा रहेको, गोन्पा र धर्म मान्ने बस्तीहरू र तिनका  बासिन्दाहरुको उपस्थिति रहेको स्पष्ट छ। तसर्थ, शेर्पाहरूको इतिहास उनीहरूका पैत्रिक भूमिहरूमा केवल ५/६ सय वर्ष मात्र भएको बर्तमान भाष्य गलत साबित हुन जान्छ र उनीहरूको इतिहास उनीहरूका पैत्रिक भूमिहरूमा धेरै पुरानो रहेको प्रष्टिन्छ।

ताम्रपत्र अभिलेख

 

इतिहासको काल खण्डहरूमा कुनै पनि खास जातका नाममा ताम्रपत्र अभिलेख नै जारि हुनुले त्यस जातको त्यस क्षेत्रगत भूमिमा एकल स्वमित्त्व एवं एकल बर्चस्व स्पष्ट हुन्छ।   यसै सन्दर्भमा शेर्पा मिशारहरू, शेर्पा गोर्चाहरू, शेर्पा  जोत्तहरू, शेर्पा किपटहरूको संयुक्त नाममा राजा राजेन्द्र बिक्रम शाह र बहादुर शमशेर जंग देवबाट   बि.   सं. १८८२ को लालमोहर लाई सोहि बमोजिम बि सं   १९०१ जेष्ठ १० आइतबारमा मोहर ताम्रपत्र जारी गरेको पाइन्छ। जसमा विभिन्न शीर्षकहरूमा करको दर उल्लेख गर्दै सो कर राज्यको प्रतिनिधिहरू “अमालिहरु हरुसंग   रुजु गरि बुझाउनु, शासन गर्नु, भोग्य गर्नु ” भन्ने उल्लेख पाइन्छ।

 

यसरी शेर्पहरूका परम्परागत शासकीय हैंसीयतका नेत्रित्वहरूलाई नै त्येस क्षेत्रगत भूमिमा एकल नेत्रित्व एवं  स्वमित्त्व प्रदान गरि जनतालाई शासन गर्ने, तोकिएको कर असुल्ने, राज्यको ढुकुटीमा दाखिला गर्ने, शासकीय अधिकार भोग्य गर्ने जस्ता उपल्लो तहको अधिकार प्रदान गरिएको देखिन्छ। यसबाट शेर्पाहरू त्यस खास खास क्षेत्रगत भूमिहरूको मूल बासीको रूपमा त्यसताका सम्म स्थापित रही रहेको प्रष्टिन्छ।

 

पुरातात्विक वैज्ञानिक तथ्य

 

शेर्पाहरूको पूर्ख्यौली भूमिहरू मध्ये एक भूमि सोलुखुम्बू क्षेत्रहरूमा गरिएको एक वैज्ञानिक अध्ययनबाट यो पुष्टि भएको छ कि “त्यस क्षेत्रको भूमिहरू २७५० देखि ५००० बर्ष अघि सम्म मानव सृजित डढेलो लागेको, जमिनको एक पत्रमा २५,००० (पच्चीस हजार )बर्ष पुरानो बिबिध अन्नहरुको अवशेष प्राप्त भएको” छ। उक्त “अध्ययनको निष्कर्ष  त्यस भूमि कम्तिमा पनि ५००० बर्ष देखि मानव र पशुहरूले प्रयोग र परिमार्जन गरेको” निष्कर्ष निकाल्दछ (वेयर्स २००३)।

 

यो अध्ययनलाई  शेर्पाको इतिहासको बर्तमान भाष्यको सन्दर्भमा एक महत्वपूर्ण परिवर्तन बिन्दुको रूपमा लिनु पर्दछ। अति उच्च हिमाली क्षेत्रहरूमा शेर्पा  बाहेक अन्य प्रजातिका मानवहरूको   जीवन हज्जारौं बर्ष पूर्वको अति चिसो वाताबरणमा कल्पना बाहिरको कुरो थियो।   प्राचीन कालमा त्यस क्षेत्रको अति उच्च उचाइ एवं अति निम्न तापक्रमको कठीन वातावरणमा  जीवन यापन गरि सभ्यता बिकास गर्ने मानव अन्य प्रजातिका मानव नभै केवल शेर्पाहरू मात्रै रहने प्रबल सम्भावना रहन्छ।   यस तथ्यको आधारमा  शेर्पाको इतिहास उनीहरूको भूमिमा कम्तिमा ५००० बर्ष पछाडी धकेलिएको मान्न सकिन्छ।

 

पर्वतीय डि. एन. . परीक्षण

 

सन् २०१५ मा गरिएको शेर्पा र तिबेतीको एक डि. एन. ए. परीक्षणबाट शेर्पा र तिबेती बिचको जिन बढीमा ३०,००० (तीस हजार) बर्ष अघि तिबेतीहरूबाट अलग्गि परिवर्तन भएको र उच्च उचाईं अनुकूलन क्षमता शेर्पाले बढीमा ३०,००० (तीस हजार) बर्ष अघि देखि बोकी रहेको तथ्य पुष्टि गरेको छ। यहाँ यो स्पष्ट हुन जरूरी छ कि एक जिनबाट  अर्को जिनमा परिवर्तन हुन त्यसले हज्जारौं बर्षको यात्रा तय गर्नु पर्ने तथ्य पनि उक्त अध्ययनले जनाएको छ (भण्डारी २०१५)।

यस अध्ययनले शेर्पा तिबेती नै हुन् कि फरक प्रजातिका मानव हुन् भन्ने दिबिद्धा चिरी उनीहरू एक भिन्न प्रजातिका मानवको रूपमा बिकसित प्राचीन मानवका सन्तति रहेको प्रष्ट्याउँदछ।   यसबाट शेर्पाहरूको इतिहास उनीहरूको पैत्रिक भूमिमा आदि मानवकै रूपमा बिकसित भएको हुन सक्ने तथ्यलाई थप टेवा पुर्या उँदछ।

 

 

तिबेती प्ल्याटू चीनको गाङ्ग्सु प्रदेशको गुफामा प्राप्त जबडा

 

शेर्पाहरूसंग सम्बन्धित थप एक वैज्ञानिक परिक्षेण भएको पाइएको छ। पछिल्लो परिक्षणमा सन् १९८० दशकमा एक भिक्षुले तिबेती प्ल्याटू क्षेत्र  चीनको गाङ्ग्सु प्रदेशको पहाडी बैसिया कार्स्ट गुफामा एक मानवको जबडाको अस्थी पंजर (मूखको बंगारा सहितको हड्डी) प्राप्त गरेका थिए। उक्त  जबडाको वैज्ञानिक परिक्षेणको परिणामले शेर्पाको मानवीय विकासक्रम तथा उसको ऎतिहसिक जीवन यात्राको पक्षमा चमात्कारिक प्रमाणित तथ्यहरू प्रकाशित  गरिदिएको पाइन्छ।

 

उक्त परिक्षेण अनुसार यो जबडाको अस्थी  पंजर बर्तमान  नेपाल  हिमालय  निवासी  शेर्पा  जातीको भएको  पुष्टि  गरिएको  पाइन्छ।  सो  अस्थी  पंजर  प्राचीन  आदिम  मानव  (डेनिसोभान्स) को  भएको , जो  उच्च  उचाइमा  हुर्किएको,  बढेको , अति  निम्न  तापक्रम  -३० डिग्री  भन्दा  धेरै  कममा बाचेंको , परस्पर  समागमबाट  उत्पादित  सन्तान  मार्फत् जीन (यस्तो  प्रकारको  जीवन  शैलीको  क्षमता) अर्को  बंश   अर्थात् बर्तमान  शेर्पाहरूमा  हस्तान्तरण  भएको  देखाएको  छ ।

न्याचुरल हिस्ट्री म्युजिअमले  यसलाई  एक  महत्वपूर्ण उपलब्धि  मानेका  छन्। यो  अस्थी  पंजर  आधुनिक  मानवको  आगमन  जुन  ४०,०००  बर्ष  हो  त्यो  भन्दा  धेरै  अगाडिको  भएको  इङ्गीत  गर्दछ । यसबाट शेर्पा  र  केहि  तिबेतीहरू  प्राचीन  हाइपोकसिया  (रगतमा अक्सिजनको  कमि ) समस्यालाइ  झेल्न  सक्ने  जिनयुक्त  मानव  भएको  व्याख्या  गर्न  सहयोग  गर्ने  बताइएको  छ ।  यो  अस्थी  पंजरको नमूना  १६०,०००  (एक  लाख  साठी हजार ) बर्ष पुरानो  भएको  र  यसको   अति  उच्च  उचाइमा  बाँच्न  सक्ने  जिन  बर्तमान  शेर्पामा  हस्तान्तरण  भएको  उल्लेख गर्दछ  (द  गार्डीयेन  मे  १ , २०१९  )।

यो प्राचीन मानवको जवडा अस्थी पंजरको प्रयोगशाला परिक्षेण अध्ययनले बर्तमान शेर्पाको जीन १६०,००० बर्ष पहिले नै  तिबेतन प्ल्याटुमा बिकसित अवस्थामा रहेको जानकारी दिन्छ।  करिब २००० कि. मि. मात्र टाढा   १६०,००० बर्ष पुरानो शेर्पाको अस्थी पंजर प्राप्त हुनु, आधुनिक मानबको विकासक्रम केवल ४०,००० बर्ष जति मात्र हुनु र उच्च हिमाली क्षेत्रमा जीवन यापन गर्न सक्षम, योग्य जीन युक्त शेर्पाको इतिहास हाल बसोबासित पुर्खौली भूमिहरुमा १०/२० हजार बर्ष पुरानो हुनु अब उप्रान्त कुनै नौलो एवं अचम्मित पर्नु पर्ने बिषय रहेन।

निष्कर्षमा,

तसर्थ, यी तमाम तथ्य, प्रमाणहरू एवं मौखिक इतिहास, गौरबमय गाथा युक्त गीत, किम्बदन्ती, कथाका धनी शेर्पा समुदायको ऎतिहसिकता   उनीहरूको पूर्खौली भूमिहरूमा दशौं हजार बर्ष पुरानो रहन सक्नेमा दूई मत न होला। भलै उनीहरू हिमाल वारी-पारी दुवै तर्फ़ एक घरको आँगन र बलेसीको रूपमा प्रयोग गर्दै आएको कुरा अन्य लिखत, मालपोत करको रसिद, परम्परागत संस्कृति इत्यादीले पुष्टि गर्दछ।

प्राचीन कालमा तलाउ रूपी  काठमाडौँ उपत्यकाको गल्छी काटी पानीको निकास खोलि उपत्यकालाई मानब  बस्ति उपयुक्त भूमिमा परिणत गर्ने महान बोधिसत्त्व मञ्जुश्री बिशाल हिमालय क्षेत्र पार गरि आएका थिए।   ओहाँ पनि ती प्राचीन  आदिम शेर्पा वा भोट बासी रहेको प्रष्टिन्छ।   यहाँको भूमिलाई  नेपाल नामकरण गर्ने “ने” नामक मूनि पनि उक्त भेगका नै हुने सम्भावना रहन्छ किनभने प्राचीन कालमा यो उपत्यका निकै चिसो रहेको र उच्च उचाइमा रहेकोले अन्य प्रजातिहरू यहाँ रहन त्यत्ति सहज देखिन्न। उपत्यकाका गोपालबंशी एवं किराँतीहरू मध्ये   एक प्रजाति शेर्पा हुन सक्ने  प्रबल सम्भावाना रहन्छ। यी प्राग ऎतिहासिक किम्बदन्ती तथा तिनका तथ्यहरू उजागर गर्न यतातर्फ गहन अध्ययनको जरुरत देखिन्छ।

यो अध्ययनले नेपालको एक हिमाली बासिन्दा शेर्पाहरू कहीं कतै बाहिरबाट बसाईं सरेर आइ हालसालै मात्र बसोबासित नव आगन्तुक जाति नभई त्यँहीका जन्मजात मूलबासिन्दा रहेको तथ्य उजागर गर्दछ।

साथै शेर्पाहरूको पूर्ख्यौली, पैत्रिक भूमिहरूमा उनीहरुको इतिहास के कस्तो रहेको छ भन्ने कुरो पहिल्याउने क्रममा यी  विविध  तथ्य, प्रमाण एवं परम्पराहरूको आधारमा उनीहरूको त्यस क्षेत्रहरूसंगको सम्बन्ध तथा  ऎतिहासिकता   प्राग ऎतिहसिक काल देखि नै निरन्तर रूपमा अनोन्याश्रित सम्बन्धित रहेको तर्कलाइ थप टेवा पुर्याऊँदछ।   अतः शेर्पाहरूको इतिहासले नेपालको भूमिमा मानब बिकासको प्रारम्भिक चरण देखि नै निरन्तरता प्रदान  गरेको हामि सहजै अनुमान लगाउन सक्दछौं । खास निश्चित तीथिमिति सहितको इतिहास पहिल्याउन भने थप गहन अध्ययनको जरूरत देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार