पन्तले माफी नमागे कडा आन्दोलन गर्ने चेतावानी

काठमाडौं (सार्वजनिक) । केही समयअघि एक सार्वजनिक कार्यक्रममा एमाले नेता रघुजी पन्तले दिएको अभिव्यक्ति नसच्याए कडा आन्दोलन गर्ने शेर्पा समुदायले चेतावानी दिएको छ । नेपाल शेर्पा संघ संघीय कार्यालयमा आयोजित छलफलले पन्तले माफी मागेर अभिव्यक्ति नसच्याए कडा आन्दोलन गर्ने निर्णय गरेको हो ।
संघको संघीय सचिवालयको वैठक र अन्य विभिन्न राजनैतिक दल आबद्ध संगठन, संघसंस्थाहरुको छलफलले अभिव्यक्ति सच्याउन अनुरोध गर्ने र माफी नमागे आन्दोलन गर्ने निष्कर्ष निकालेको महासचिव लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
पन्तले शेर्पा समुदायलाई अपहेलित हुने गरी अभिव्यक्ति दिएको र त्यसले समुदायमा ठूलो चोट पुगेको भन्दै सतहीमा अभिव्यक्ति दिएर सस्तो लोकप्रियता कमाउन खोजेको शेर्पा समुदायको निष्कर्ष रहेको शेर्पाको भनाइ छ ।
जातीय सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचाराको नाता र विविधतायूक्त समाजलाई विखण्डनतर्फ डोहोर्याउँने खाले पन्तको अभिव्यक्तिलाई समुदायले स्वीकार गर्न नसक्ने र त्यसको प्रतिवाद गर्ने संघका उपाध्यक्ष च्येङा शेर्पा (साहिल)ले बताउनुभयो ।
कुनैपनि जाति, धर्म, सम्प्रदायमाथि धावा बोल्ने छुट कसैलाई नभएको र नेपालको राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्ने बेलामा कुनैपनि बहानामा अर्को जातिलाई होच्याउने, अपहेलित गर्ने हेतुले धारणहरु सार्वजनिक हुनु राम्रो नभएको र त्यस्तोको कार्य कोही कसैबाट हुन नहुने संघका अध्यक्ष गेल्जे लामा शेर्पाको भनाइ थियो ।
केही समयअघि पन्तले शेर्पाहरु ५–७ बर्षअघि मात्रै नेपाल आएका हुन् । शेर्पाहरु जाति हैनन् जस्ता अभिव्यक्ति दिएको थियो । त्यसपछि पन्तको अभिव्यक्ति विरुद्ध देशविदेशबाट कडा विरोध र आलोचना भइरहेको छ । एमाले निकट लोकतान्त्रिक शेर्पा संघका पदाधिकारीहरुले भने पन्तको बचाउ गर्दै आएका छन् ।
छलफलमा नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमी शेर्पा, कांग्रेस निकट लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष लाक्पा ठिलेन शेर्पा, जसपा निकट शेर्पा लुङ राष्ट्रिय समितिका अध्यक्ष दावा शेर्पा, संघीय लोकतान्त्रिक मञ्च निकट शेर्पा प्रन्तका अध्यक्ष तेम्डी शेर्पा, शेर्पा किदुगका प्रतिनिधी काले शेर्पा पिनासा, शेर्पा सञ्चारका अध्यक्ष पासाङ शेर्पा, पिके टाप्टिङ समाजका अध्यक्ष ङावाङ फुरी शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार