शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

काठमाडौ (सार्वजनिक) । ओखलढुंगाको मोलुङ ७ पात्लेका शिक्षक, अभिभावकले आफ्ना सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । वडा शिक्षा समितिको वैठकले यस्तो अनिवार्य गरेको हो ।
साउन २६ गते बसेको वैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्नो बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालय पठाउनुपर्ने निर्णय गरेको शिक्षा समितिका संयोजक तथा वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो ।
कतिपय सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्नो बालबालिकालाई निजी विद्यालयमा पढाउने गरेकै कारण शिक्षण क्रियाकलाप प्रभावकारी हुन नसकेको र व्यवस्थापन समितिका पदाधिकारीले समेत विद्यालयलाई ध्यान दिन नसकेको ठहर गर्दै शिक्षा समितिले यस्तो निर्णय गर्नुपरेको जनाइएको छ ।
त्यस्तै, समितिले शिक्षक दरबन्दी कम भएर विद्यालयको पठनपाठनमा समस्या आएको, दरवन्दी अनुसारको शिक्षक अभावमा तल्लो तहका शिक्षकले माथिल्लो तहसम्म पढाउनुपर्ने वाध्यात्मक अवस्था रहेकाले तत्काल दरवन्दी परिपूर्ति गर्न उपल्लो निकायमा लेखी पठाउने समेत निर्णय गरेको पात्ले माविका प्रधानाध्यापक लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै, शिक्षा समितिले नियमित रुपमा विद्यालयहरुको अनुगमन गर्ने, वडा भित्रका शिक्षित व्यक्तित्वहरुलाई आफूले हासिल गरेका ज्ञानसीपलाई एक दिन विद्यालयमा उपस्थित भएर विद्यार्थी माक्र आदनप्रदान गर्ने लगायतको निर्णय गरेको जनाइएको छ । वडाभित्र दुई वटा माध्यमिक र तीन वटा आधारभूत विद्यालय सञ्चालनमा छन् । त्यस्तै, सामुदायिक सिकाई केन्द्रले समेत शिक्षा क्षेत्रमा काम गरिरहेका जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार