कोशी नामाकरण गर्ने सांसदको पहिचान नामेट पारि दिन्छौंः अध्यक्ष शेर्पा

काठमाडौं (सार्वजनिक) । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले कोशी प्रदेश नामाकरण गर्ने सांसदको पहिचान नामेट पारि दिने चेतवानी दिनुभएको छ । २९ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो चेतवानी दिनुभएको हो ।
प्रदेश नम्बर १ को नाम ‘कोशी’ राखेर पहिचान नामेट पार्ने काम ८२ जना सांसदले गरेकाले २०८४ सालसम्ममा ती सांसदको पहिचानपनि पहिचान पक्षधरले नामेट पारी दिने अध्यक्ष शेर्पाको भनाइ छ । प्रज्ञा प्रतिष्ठान कलादीमा आयोजित कार्यक्रममा अध्यक्ष शेर्पाले पहिचानको आधारमा प्रदेशको नामकरणको खिलापमा लाग्ने सांसदहरुलाई गाउँ छिर्न नदिने कार्य जारी राख्ने समेत बताउनुभयो ।
प्रदेशको नाम खोलानाला, ऋषिमुनिको नामबाट राख्न हस्ताक्षर गर्ने कुनैपनि सांसदलाई उनको निर्वाचन क्षेत्र प्रवेश निषेध र बहिष्कार गर्ने नीति अन्तर्गत कडाईका साथ गर्ने अध्यक्ष शेर्पाको भनाइ छ । पहिचान विरोधीहरुलाई अहिलेसम्म भएका परिवर्तन र आदिवासीहरुले पहिचानका लागि गरेका आन्दोलन र त्यागबारे अध्ययन गर्न सुझाउँदै अध्यक्ष शेर्पाले पहिचानलाई जातीय भन्नु ‘अल्पज्ञान’ भएकाहरुको अहंत भएको आरोप लगाउनु भयो ।
अध्यक्ष शेर्पाले आदिवासीहरुलाई संविधानले दिएको अधिकार कटौती गर्ने काम भइरहेको भन्दै खुट्टा तान्ने प्रवृत्तिको अन्त्य नभए आफूहरु सोच्न वाध्य हुने भन्दै आक्रोश पोख्नुभयो । कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने र कुनैपनि हालतमा आन्दोलन नरोकिने समेत अध्यक्ष शेर्पाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार