प्रकृया पुर्याएर मात्रै काम गर्न पिके हाइड्रोपावरलाई निर्देशन

ओखलढुंगा (सार्वजनिक) पुनः इआईए, आइइइ र सार्वजनिक सुनुवाई गर्न खिजीदेम्बा गाउँपालिकाले पिके हाइड्रोपावर कम्पनीको नाममा निर्देशन जारी गरेको छ । यसअघि ६ बुँदे स्पष्टिकरणको जवाफ प्राप्त भएपनि चित्त बुझ्दो नभएको भन्दै गाउँपालिकाले पुनः इआईए, आइइइ र सार्वजनिक सुनुवाई गर्न निर्देशन दिएको हो ।
खिजीदेम्बा गाउँपालिकास्थित लिखु खोलामा सञ्चालन गर्न लागेको हाइड्रोपावर आयोजनाले प्रभावित क्षेत्रको नागरिकको प्रत्यक्ष सहभागिता विना नै कागजी रुपमा सार्वजनिक सुनुवाई र प्रारम्भिक वातावणीय परीक्षण प्रतिवेदन तयार पारेको ठहर गर्दै गाउँपालिकाले पुनः इआइए, आइइइ र सार्वजनिक सुनुवाई गरेर मात्रै आयोजना अघि बढाउन निर्देश गरेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।
आयोजनालाई निर्बाद्ध रुपमा सञ्चालनका लागि गाउँपालिकाले वातावरण निर्माण गरिरहेतापनि आयोजनाले नै इआए, आइइइमा केही त्रुटी भएको स्वीकार गरेको जवाफमा उल्लेख छ । कागजमात्रै प्रकृया पूरा गरेर तर प्रभावित क्षेत्रको नागरिकलाई थाहा नदिएको गाउँपालिकाको वडा नं. ३, ४ र ७ को वस्तीहरुमा भाषिक, सांस्कृतिक जैविक तथा पर्यावरणीय अध्ययन विस्तृत रुपमा नगरिएकाले पुनः इआए, आइइइ गर्न पत्रचार गरिएको हो । गाउँपालिकाले आयोजनाले विद्युत विकास विभागको शर्त अनुसार स्थानीय सरकारको कामकाजी भाषामा प्रभावित क्षेत्रको नागरिक र सरोकारवालाको पहुँच पुग्ने गरी सञ्चारमाध्यमबाट र सार्वजनिक स्थलमा सूचना टाँस गरी विधिवत रुपमा प्रारम्भिक वातावरण परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन पुनः स्पष्ट रुपमा गरेर मात्रै आयोजनाको काम अघि बढाउन भनेको जनाइएको छ ।
प्रभावित नागरिक, आदिवासी समुदायको माग संवोधन गरी विवादरहित, सौहार्दपूर्वक आयोजना अघि बढाउन र आधिकारीक व्यक्तिबाट जवाफ पठाउन समेत हाइड्रोपावरलाई गाउँपालिकाले ताकेता गरेको छ । आयोजनाले झुक्यानमा पारेर काम गरेको भन्दै स्थानीय ५ सय ५० भन्दा बढी नागरिकले गाउँपालिका लगायत विभिन्न निकायमा ज्ञापन पत्र बुझाएको छ । त्यस्तै, संघर्ष समिति समेत गरेर आयोजना विरुद्ध दबाब सिर्जना गरिरहेको स्थानीय कमल सुनुवारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार