खिजीदेम्बा ५ का जग्गाहरु विशेष मूल्याङ्कनमा

ङावाङ गोम्बु शेर्पा

ओखलढुंगा (सार्वजनिक) । खिजीदेम्बा गाउँपालिका वडा नं. ५ खिजीफलाटेका जग्गाहरु विशेष मूल्याङ्कनमा परेका छन् । साविक खिजीफलाटे गाविस वडा नं. ३ मा पर्ने खिजीफलाटे बजार, नयाँ बजार वसपार्क र उक्त क्षेत्रमा पर्ने बाटोको दायाँवायाँ कित्ताहरु विशेष मूल्याङ्कनमा परेका हुन् ।
मालपोत कार्यालय, खिजीफलाटे, ओखलढुंगाले प्रकाशन गरेको न्यूनतम् मूल्याङ्कन पुस्तिका अनुसार जग्गाहरुको मूल्याङ्कन कायम गरिएको कार्यालय प्रमुख लालबहादुर सुनुवारले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीको अध्यक्षतामा असार २९ गतेको वैठकले पारित मूल्याङ्कन पुस्तिका अनुसार उक्त क्षेत्रमा पर्ने जग्गाहरुको न्यूनतम् मूल्य प्रति रोपनी ११ लाख ३० हजार कायम गरिएको छ ।
उक्त क्षेत्रमा विशेष मूल्याङ्कनमा परेका वाहेकका जग्गाहरुको प्रति रोपनी औद्योगिक क्षेत्रमा ५ लाख व्यावसायीकमा ३ लाख र आवासीयमा १ लाख ५० हजार कायम गरिएको छ । त्यस्तै, कृषिमा ४० हजार र अन्य क्षेत्रको जग्गाहरु १० हजार प्रति रोपनी कायम गरिएको कार्यालय प्रमुख सुनुवारले जानकारी दिनुभयो ।
त्यस्तै, अन्य वडामा औद्योगिकमा समान ५ लाख, अन्य क्षेत्रको जग्गामा १० हजार नै कायम गरिएको छ । तर, साविक चण्डेश्वरी, रावादोलु र रगनीमा व्यावसायीकमा २ लाख ७५ हजार कायम गरिएको जनाइएको छ । त्यस्तै, साविक पात्ले गाविस वडा नं. ३ देखि ६ सम्म, भूसिंगा गाविस र पोकली गाविसको वडा नं. ९ मा व्यावसायीकतर्फ २ लाख ५० हजार कायम गरिएको छ । साविकका वडाहरुमा कृषि तथा आवासीय क्षेत्रमा भने १० देखि १५ हजारमात्रै फरक मूल्य कायम गरिएको पुस्तिकामा उल्लेख छ ।
कार्यालयले लिखत पारित गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गर्नुपर्ने, पारित हुने कित्तामा घर भए स्थानीय तहले तोेकेको मूल्याङ्कन अनुसार हुने र घर बाटो भएको जग्गाको विवरण ढाँटी छलि घटी मूल्याङ्कन राखेको पाइएमा नपुग राजश्व सम्वन्धित व्यक्तिबाट अशुल गर्ने र जग्गा समेत रोक्का राख्न सक्ने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार