कुलबहादुर तामाङ
ओखलढुंगा (सार्वजनिक) । कोशी प्रदेशको राजनीतिमा उथलपुथल आउँदा ओखलढुंगाका प्रदेशसभाका दुवै जना सदस्यले मन्त्री बन्ने अवसर प्राप्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन मन्त्रीको जिम्मेवारी तोक्दै प्रदेश क्षेत्र नम्बर (ख) का बाबुराम गौतम अर्थ र प्रदेश क्षेत्र नं. (क) का सदस्य प्रदीप सुनुवार खानेपानी मन्त्री बनेका हुन् ।
सभामुखबाट राजीनामा दिएर सरकार गठनमा लचक बनेका गौतम आर्थिक मामिला तथा योजना मन्त्री र यसअघि सरकारको प्रवक्ताको जिम्मेवारी पाएर २१ दिनमै मन्त्री पद गुमाउनु परेका सुनुवार खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री बनेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।
गौतम माओवादी र सुनुवार कांग्रेसबाट मन्त्री नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १ सय ६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मङ्गलवार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । यसअघि सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो । थापा यसअघि असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सर्वोच्चले साउन ११ गते बर्खास्त गरेको थियो ।