ओखलढुंगामा यातायात साधनमा नयाँ भाडादर लागू

ङावाङ गोम्बु शेर्पा

ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगामा यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । स्थानीय यातायात व्यवस्थापन समितिले जिल्लाभित्र तथा जिल्ला बाहिरका सडकमा सञ्चालन हुने यातायात सवारीसाधनको भाडादर निर्धारण गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले २०८० जेठ २३ गतेको निर्णयानुसार जिल्लामा पनि नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिरकारी प्रदर्शनी कुमारीले जानकारी दिनुभयो । अब सार्वजनिक यातायातका साधनहरु बस, मिनिबस, माइक्रोबसको लागि पहाडी बाटो (पक्की तथा ग्राभेल सडकमा) प्रति व्यक्ति प्रति किलोमिटर चार रुपैयाँ ५५ पैसा हुने प्रजिअ कुमारीको भनाई छ । त्यस्तै, ‘ज’ वर्गका जीप प्रकृतिका सवारी साधनको लागि पहाडी क्षेत्रमा (पक्की तथा ग्राभेल सडकमा) प्रति व्यक्ति प्रति किलोमिटर छ रुपैयाका दरले भाडादर कायम गरिएको छ ।
भाडा दर अनिवार्य रुपमा कार्यान्वयन गर्न गराउन, तोकिएको भन्दा बढी भाडा लिने, यात्रु टिकट जारी नगर्ने, सार्वजनिक यातायात आचारसंहिताको पालना नगर्ने, सहुलियत व्यवस्थाको पूर्ण पालना नगर्ने सवारी तथा चालकलाई नियमानुसार अनुसार कारबाही हुने प्रशासकीय अधिकृत रेवन्त दाहालले जानकारी दिनुभयो ।
बैठकले तिनपाङ्ग्रे सवारी साधनहरुलाई व्यवस्थित बनाउन यातायात व्यवस्था कार्यालयमा तत्काल पञ्जीकृत भई सेवा सञ्चालन गर्न भनेको छ । तिनपाङ्ग्रे सवारी साधनहरुलाई जिल्ला भित्रका पक्की सडकमा मात्र सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा आवश्यक प्रकृया पुरा गरि रुट इजाजत उपलब्ध हुने जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।
यस्तै तिनपाङ्ग्रे सवारी साधन (अटो रिक्सा) को भाडादर निर्धारण सम्बन्धमा जिल्ला ट्राफिक कार्यालय र यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी सम्बन्धित स्थानीय तहले तय गरी स्थानीय यातायात व्यवस्थापन समिति समक्ष पेश गर्न समेत आग्रह गरेको प्रशासकीय अधिकृत दाहालको भनाइ छ । नयाँ भाडादर अनुसार ओखलढुंगादेखि काठमाण्डौसम्म सार्वजनिक यातायातका साधनहरु बस, मिनिबस, माइक्रोबसको भाडा एक हजार एक रुपैया र जीप प्रकृतिका सवारी साधनका लागि एक हजार तीन सय २० रुपैयाँ भाडा निर्धारण गरिएको जनाइएको छ । तर, ओखलढुंगामा भने बसले १ हजार २ सय ७५ र जीप, सुमोले १ हजार ७ सय रुपैयाँ भाडा असुल्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार