पिके हाइड्रोलाई सोध्यो खिजीदेम्बाले स्पष्टिकरण

अन्जना राई (अन्जु)

ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले पिके हाइड्रोपावर लिमिटेडलाई स्पष्टिकरण सोधेको छ । लिखु नदीबाट उत्पादन हुने गरी अघि बढाइएको आयोजनाले प्रभावित क्षेत्रका नागरिक, आदिवासी समुदायको माग संवोधन नगरेको गुनासो आएपछि गाउँपालिकाले स्पष्टिकरण सोधेको हो ।
प्रभावित क्षेत्रका नागरिकले पुनः वातावरणीय परीक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतको मागसहित ज्ञापन पत्र बुझाएपछि गाउँपालिकाले आयोजनालाई तत्काल यर्थाथ विवरण पेश गर्न पत्रचार भएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।
आयोजनालाई स्पष्टिकरण पेश गर्न ६ बुँदे निर्देशन जारी गदै गाउँपालिकाले प्रभावित क्षेत्रका नागरिकको माग, क्षति लगायतका विषयमा मौकामा प्रर्याप्त छलफल नगर्नुको कारण, वातावरणीय प्रभाव मूल्याङ्कन तथा वातावरणीय परीक्षण गर्दा स्थानीयहरुको सल्लाह, राय र सार्वजनिक सुनुवाई आयोजना नहुनुको कारण माग गरेको छ । त्यस्तै, भएको भए कुन विधि र कुन मितिमा भएको भनेर सोधिएको छ ।
गाउँपालिकाले प्रभावित क्षेत्रका नागरिकको सन्दर्भमा आयोजनाको योजना, नीति, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) महासन्धी १६९ अनुसार आयोजना प्रभावित क्षेत्रका आदिवासी जनजाति, सरोकारवालाहरुलाई पूर्व सूचित सूचनाको अधिकार हुनुपर्ने, स्थानीयलाई झुक्यानमा पार्ने र लाभ लिने कार्य मात्रै भएको भन्ने गुनासो सुनुवाईको सम्वन्धमा आयोजनाले तत्काल चासो दिन भनेको अध्यक्ष शेर्पाको भनाइ छ ।
आयोजनालाई वातावरणीय प्रभाव मूल्याङ्कन (आइइइ, इआइए) भएको भए सोको प्रति समेत संलग्न राखी तत्काल जवाफ पेश गर्न र स्थानीयको माग संवोधन भएपछि मात्रै आयोजना अघि बढाउन पत्रचार गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार