अध्यक्ष शेर्पालाई साउन १२ गते तारिख तोकियो

जसिहब राई

काठमाडौं (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको रिटको मंगलबार लिखित जवाफ पेश गर्नुभएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगामा विहान ११ बजे रिटको जवाफ पेश गर्नुभएको हो ।
लिखित जवाफ पेश गरेसँगै अदालतले अध्यक्ष शेर्पालाई साउन १२ गते तारिख तोकेको छ ।

अमेरिकी नागरिकको हैसियतमा नै स्थानीय तहको निर्वाचनमा भाग लिएको भन्दै कांग्रेसतर्फका उम्मेदवार भूपेन्द्र वस्नेतले अध्यक्ष शेर्पा विरुद्ध रिट दर्ता गर्नुभएको थियो । अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेसँगै अध्यक्ष शेर्पाले असार २१ गते म्याद बुझेको र मगलबार लिखित जवाफ पेश गरेको अध्यक्ष शेर्पाका कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता हर्कबहादुर राईले जानकारी दिनुभयो ।
लिखित जवाफ पेश गरेपछि आयोजित पत्रकार सम्मेलानमा अध्यक्ष शेर्पाले आफू विरुद्धको आरोप शतप्रतिशत झुट्ठो रहेको दाबी गर्नुभयो । सबै प्रकृया पूरा गरेर नागरिकता पुनः प्राप्ती गरेको, अमेरिकी नागरिकता मौकामा त्यागेको र सोको निस्सा पेश गरेरै पुनः नागरिकता लिएको र सोही अनुरुप स्थानीय तहको निर्वाचनमा भाग लिएको अध्यक्ष शेर्पाले पत्रकार सम्मेलनमा बताउनुभयो ।
शुभचिन्तक र सञ्चारकर्मीसहित अदालत पुगेका अध्यक्ष शेर्पाले मातृभूमिको सेवाका लागि आफू अमेरिकी सुखसयल त्यागेर आएको र कानूनको खिलापमा गएर काम गर्नुपर्ने कुनै कारण नरहेको प्रष्ट पार्नुभयो । खिजीदेम्बामा भएको विकास र स्थानीय सरकार सञ्चालनको फरक दृश्य देख्न र सहन गर्न नसक्नेहरुले आफू विरुद्ध अनेकन प्रपञ्च रचेर काममा अवरोध गर्ने, राजनैतिक जलजेलमा फसाउन खोज्ने गरेको समेत आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार