ओखलढुंगामा यातायात भाडा मनलाग्दी

कुलबहादुर तामाङ

ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगामा यातायात भाडादर अझै समायोजन हुन सकेको छैन । प्रदेश सरकारले एक महिनाअघि नै मूल्य समायोजन गरी पठाएपनि ओखलढुंगामा कार्यान्वयन हुन सकेको छैन ।
अन्तरिक मामिला तथा कानून मन्त्रालयले १ महिना अघि जेष्ठ २३ गते नै प्रदेशभरका रुटहरुमा सञ्चालन हुने सवारी साधनमा भाडादर निर्धारण गरेको थियो । प्रदेशले पहाडी बाटोमा प्रति किलोमिटर ४ रुपैँया ५५ पैंसा दर निर्धारण गरेको हो । यससँगै सामान्यतय ओखलढुंगाबाट काठमाडौंको भाडादर एक हजार १ रुपैँया प्रतिव्यक्ति हुन आउँछ तर व्यवसायीले भने काठमाडौं ओखलढुंगाको भाडा प्रतिव्यक्ति १ हजार २ सय ७५ रुपैयाँ लिँदै आएका छन् ।
त्यस्तै, जिप, सुमोको प्रतिकिमी प्रतिव्यक्ति ६ रुपैयाँ प्रदेशले भाडादर कायम गरे अनुसार ओखलढुंगाबाट काठमाडौंसम्मको प्रतिव्यक्ति १ हजार ३ सय २० हुन आउँछ तर जिल्लामा भने १ हजार ७ रुपैयाँ भाडा लिने गरेको यात्रुहरुको गुनासो छ । जिप, सुमोमा सरकारले तोकेको भन्दा प्रति किमी १ रुपैयाँ ७३ पैँसा बढी भाडा असुल्दै आएको देखिन्छ ।
प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०७७ को नियम ७५ ले दिएको अधिकार प्रयोग गरी यातायात व्यवस्था विभाग, मीनभवनले विभिन्न मितिमा कोशी प्रदेश अन्तर्गत कायम गरेको भाडादर र २०७९ असार २७ गतेको निर्णयले रुट कायम गरेको सडकमा सञ्चालन हुने सवारी साधनको भाडादर निर्धारण गरेको थियो । जिल्लामा सवारीको भाडादरमा एकरुपता आउन नसकेको गुनासाहरु सुनिने गरेपनि नियमक निकायवीच समन्वय नहुँदा व्यवसायीहरुले मनपोली गरिरहेको यात्रुहरुको गुनासो छ । भाडादर निर्धारण गर्ने जिम्मा यसअघि जिल्ला प्रशासन कार्यालयले गर्दै आएपनि संघीयता लागू भएसँगै यो अधिकार प्रदेश सरकारमा गएको छ । मन्त्रालयले भाडादर निर्धारण गरेपनि नियमक निकायको अभावमा कार्यान्वयन हुन नसकेको कतिपयको भनाइ छ ।
भाडादर लागू गराउने सन्दर्भमा व्यवसायी, सरोकारवालाहरुसँग छलफल भइरहेको र कडाईका साथ कार्यान्वयन हुने जिल्ला ट्राफिक कार्यालय, ओखलढुंगाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार