अदालतको सुशासन कायम हुँदै गएको छः प्रधानन्यायधीश कार्की

श्यारोन शेर्पा

ओखलढुंगा (सार्वजनिक) । प्रधानन्यायधीश हरिकृष्ण कार्कीले आफ्नो नेतृत्वमा अदालतमा हुने भनेर सुनिने गरेका विसंगती अन्त्य हुँदै गएको बताउनुभएको छ । सिद्धिचरण नगरपालिका, ओखलढुंगाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्नु हुँदै प्रधानन्यायधीश कार्कीले यस्तो बताउनुभएको हो ।
हिजो सुनिने गरेका अदालतमा हुने भनिएको अनियमितता, विकृती र विसंगतीका कुराहरु धेरै हदसम्म हटेर गएको प्रधानन्यायधीश कार्कीले दाबी गर्नुभयो । न्यायधीशहरुलाई मुद्धाहरु गोला प्रकृयामार्फत दिने पद्धतीले अदालतको न्याय सम्पादन छिटो छरितो रुपमा हुँदै गएको प्रधानन्यायधीश कार्कीको भनाइ थियो ।
विगतमा न्याय माग्नका लागि बर्षौंबर्ष अदालत धाउनुपर्ने अवस्थालाई अन्त्य गर्दै जिल्ला तथा उच्च अदालतहरुमा दुई बर्षभित्रका मुद्दाहरु समेत शून्य हुँदै गएको बताउनु हुँदै प्रधानन्यायधीश कार्कीले यसबाट पनि वेतिथी, ढिलासुस्तीको अन्त्य हुँदै गएको प्रमाणित भएको धारण व्यक्त गर्नुभयो । अदालतप्रति नागरिक, सेवाग्राहीको विश्वास बढ्दै गएको उल्लेख गर्नु हुँदै प्रधानन्यायधीश कार्कीले छिटो छरितो र सर्वसुलभ रुपमा न्याय दिन आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
अदालत थितिमा अघि बढेपछि न्याय पाउनका लागि कसैलाई भनसुन गर्नुपर्छ भन्ने विगतका मान्यताहरु हट्दै गएको बताउनुहुँदै प्रधानन्यायधीश कार्कीले न्यायालयमा न्याय पाउनका लागि अन्य कुनै कुराहरु गर्नुपर्छ भन्ने आमधारण छोड्दै गएको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार