साउन १५ भित्र न्यायधीश नियूक्त हुन्छः प्रधानन्यायधीश कार्की

जसिहव राई

काठमाडौं (सार्वजनिक) । प्रधानन्यायधीश हरिकृष्ण कार्कीले आगामी साउन १५ गतेभित्र उच्च अदालतमा रिक्त न्यायधीशको पदपूर्ति हुने बताउनुभएको छ । अनुगमन, निरीक्षणका क्रममा गृह जिल्ला ओखलढुंगा आइपुग्नु भएका कार्कीले उच्च अदालतमा न्यायधीश नहुँदा न्याय सम्पादनमा समस्या खेप्नु परेको र यस्तो अवस्थाको छिट्टै अन्त्य हुने बताउनुभएको हो ।
करीव एक बर्षदेखि उच्च अदालतमा न्यायधीश नियूक्त गर्न नसक्दा दरवन्दीको २५ प्रतिशत बढी रिक्त रहेको र साउन १५ गतेसम्ममा नियूक्त गर्ने तयारी रहेको प्रधानन्यायधीश कार्कीले जानकारी दिनुभयो ।
न्यायधीश नहुँदा सबै ठाउँमा व्यवस्थित र समयसापेक्ष फैसलाहरु गर्न चुनौती रहेको उल्लेख गर्नुहुँदै प्रधानन्यायधीश कार्कीले अपठ्यारो परिस्थितीमा पनि सन्तोषजनक रुपमा न्याय सम्पादनमा जुटिरहेको दाबी गर्नुभयो । उच्च अदालतमा न्यायधीश नियूक्तीको प्रक्रिया अन्तिम चरणमा पुगेको र बैठक बसेर तत्काल टुंग्याउने प्रधानन्यायधीश कार्कीले प्रष्ट पार्नुभयो ।
आफ्नो कार्यकाल छोटो रहेकाले जिल्लामा भएका कतिपय समस्याहरुको संबोधन गर्न कठिनाई हुने बताउँनुहँदै प्रधानन्यायधीश कार्कीले समस्यालाई समाधानका लागि योजना बनाउनकै लागि मुख्य रजिष्टारसहितको टिम जिल्ला आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मेरो कार्यकाल धेरै छैन, यसो गर्छु, उसो गर्छु भन्नु झुट्ठो बोल्नु हो । त्यसैले म त्यस्तै कुनै प्रतिबद्धता जाहेर गर्दिन ।’ जिल्ला अदालतको भौतिक अवस्थाको प्रगती भएकाले उच्च अदालतको सन्दर्भमा आफूहरुसँग भएको स्रोत साधन र राज्यको आर्थिक अवस्था हेरेर समयानुकुल संवोधन गर्दै लैजाने बताउनुभयो ।
सरकारले विनियोजित बजेटबाट प्रशासनिक खर्च समेत धान्न सक्ने अवस्था नरहेकाले भौतिक विकास, विस्तार, नयाँ निर्माण, भौतिक सामाग्रीतिर लाग्न सक्ने अवस्था नरहेको प्रधानन्यायधीश कार्कीको भनाई छ । अहिले भएकै स्रोत साधनलाई अधिकत् परिचालन गरेर काम गर्नुपर्ने अवस्था रहेको र मुलुकको आर्थिक अवस्था सुधारसँगै अपेक्षाहरु पूरा गर्न सकारात्मक रुपमा योजना निर्माणको प्रक्रियामा जाने उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार