शेर्पा महिला टोली माउन्ट वेकरको चुचुरोमा

लाक्पा शेर्पा

काठमाडौं (सार्वजनिक) । शेर्पा महिला टोलीले नर्थ अमेरिकाको माउन्ट बेकर हिमालको सफल आरोहण गरेका छन् । १० हजार ७ सय ८१ फिट उचाइको माउन्ट बेकर १२ शेर्पा महिलाको टोलीले आरोहण गरेको हो ।
उनीहरूले जुलाई २ तारिखको दिन बिहान १०ः३० बजे चुचुरोमा पुगेर नर्थवेस्ट शेर्पा एसोसिएसनको ब्यानर फहराएको नर्थवेस्ट शेर्पा एसोसियसनका अध्यक्ष जाङबु शेर्पाले जानकारी दिनुभयो । टोलीको नेतृत्व १७ औं पटक सर्वोच्च शिखर सगरमाथा र पहिलो नेपाली सेभेन समिट आरोहण गर्ने आरोही ल्हाक्पा रिता शेर्पाले गर्नुभएको थियो ।
त्यस्तै, पाँच पटक सगरमाथा आरोहण गर्न सफल फुर्बा ग्याल्जेन शेर्पा र निमा नुरु शेर्पाले संयोजनको जिम्मेवारी लिनुभएको थियो । आरोहण दलका सदस्यमा फुरदिकी शेर्पा, पेमा शेर्पा, आङ टासी शेर्पा रहनुभएको छ । त्यस्तै, मिङमा शेर्पा, सानी शेर्पा, फुर्वा शेर्पा, ल्हाक्पा शेर्पा (वासिङ्टन), दाली शेर्पा, क्रिस्टल शेर्पा (कालिफोर्निया), सोनी शेर्पा, छिरिङ डिडेन शेर्पा (न्युयोर्क) र निमा याङजी शेर्पा (पोर्टल्यान्ड) रहनु भएको थियो ।
नर्थवेस्ट शेर्पा एसोसिएसनले आयोजना गरेको पहिलो शेर्पा महिला आरोहण अभियानको अन्तर्गत माउन्ट वेकरको सफल आरोहण गरिएको थियो । गत वर्ष प्रथम नेपाली टोलीको सफल आरोहणपछि दोस्रो पटक पहिलो शेर्पा महिलाको यो अभियान राखेको एसोसियसनका अध्यक्ष शेर्पाको भनाइ छ ।
एसोसिएसनको आयोजनामा नै अन्य दुई टोलीले जुलाई १४ देखि १६ र जुलाई २१ देखि २३ तारिखसम्म आरोहण गर्ने भएको छ । त्यस्तै, अगस्ट २ देखि ४ तारिखसम्म माउन्ट रेनियर (१४ हजार ४ सय ११ फिट) आरोहण गर्ने भएका छन् ।
यस पटक चार टोलीलाई आरोहणको आयोजना गरेबापत एसोसिएसनले करिब अमेरिकी डलर ५० हजार भन्दा माथि रकम संकलन गर्न सफल भएको जनाइएको छ । पर्वतारोहणको व्यवस्थापनबाट जम्मा हुन आएको रकम एसोसिएसनले निर्माण गर्न लागेको नर्थवेस्टमा शेर्पा सामुदायिक केन्द्रमा खर्च गर्ने योजना छ । एसोसिएसन अमेरिकाको उत्तरपश्चिम क्षेत्रको प्रदेशहरू वासिङटन, पोर्टल्यान्ड, आइडाहो, मोन्टाना, अलास्का र क्यानडाको ब्रिटिस कोलोम्बिया प्रदेशहरूमा बसोबास गर्ने शेर्पा समुदायको प्रतिनिधिमूलक संस्था हो । संस्थाको कार्यालय वासिंगटन प्रदेशको सियाटलमा रहेको छ । आफ्नो जन्मभूमि छाडेर अमेरिकाको विभिन्न क्षेत्रमा बसाइँ सरेपछि मातृभाषा, धर्म, संस्कृति र परम्पराको रक्षा गर्ने उद्देश्यका साथ स्थापना भएको एसोसिएसनले अमेरिकाको सियाटलमा शेर्पा सामुदायिक केन्द्र निर्माण गर्ने निर्णय गरेको छ ।

(स्थानीय सञ्चारकर्मीको सहयोगमा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार