युनेस्को आयोग सदस्यमा अध्यक्ष शेर्पा मनोनित

अन्जना राई (अन्जु)

ओखलढुंगा (सार्वजनिक) । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सदस्यमा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा मनोनित हुनुभएको छ । शिक्षा मन्त्री र आयोगका अध्यक्षको निर्णयबाट शेर्पालाई चार बर्षका लागि आयोग सदस्य पदमा मनोनयन गरेको हो ।
युनेस्को राष्ट्रिय आयोगको विधान २०३१ (संशोधनसहितको) परिच्छेद २ को दफा ३ उपदफा (२) र (३) बमोजिम असार ८ गतेको निर्णयले शेर्पालाई आयोगको सदस्य पदमा मनोनयन गरिएको सहायक महासचिव रामेश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।
अध्यक्ष शेर्पाको अनुभव, योग्यता र विशेषज्ञताले आयोगले प्राज्ञिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको सहायक महासचिव यादवको भनाइ छ । युनेस्को आयोग शिक्षा मन्त्रीको अध्यक्षतामा रहने विधानमा व्यवस्था छ ।

No description available.

के हो युनेस्को ?

दोस्रो विश्व युद्धको संन्तापले अक्रान्त विश्वलाई आपसी शान्ति, मैत्री र विकासको माध्यमबाट समुन्नत गर्ने अभिप्रायले स्थापित संयुक्त राष्ट्र सङ्घको बहुआयामिक पहल मध्ये विश्वमा शिक्षा, विज्ञान, संस्कृति, सामाजिक तथा मानवीय र सञ्चार क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्य सहित विशिष्टिकृत संस्थाको रूपमा स्थापित युनेस्को संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्ट सङ्गठन हो । यसको स्थापना सन् १९४५ नोभेम्वर १६ मा भएको हो । शुरूमा यस सङ्गठनका सदस्य ३७ राष्ट्रहरू थिए भने हाल यसका सदस्य राष्ट्रहरू १९६ पुगेका छन् । यसको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ । क्षेत्रीय कार्यालयहरू तथा फिल्ड कार्यालयहरू विभिन्न मुलुकमा छन् । युुनेस्कोको नेपाल पनि सदस्य राष्ट्र हो । नेपाल सन् १९५३ देखि युनेस्कोको सदस्य भएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले सन् १९५४ देखि युनेस्कोको निमित्त अन्तरिम आयोगको रूपमा काम गर्न थालेको थियो । यसको एउटा छुट्टै सचिवालय शिक्षा मन्त्रालय अन्तर्गत रहेको छ ।
युनेस्कोका प्रत्येक सदस्य राष्ट्रले आफ्नो देशमा राष्ट्रिय आयोग गठन गरी सोही आयोगमार्फत सरकार र युनेस्को बिच सञ्चार तथा समन्वय गर्ने गराउने, युनेस्कोबाट राष्ट्रले प्राप्त गर्ने सहयोगमा अभिवृद्धि गर्ने गराउने र युनेस्को सम्वद्ध कार्यक्रम कार्यान्वयन गर्ने गर्दछन् । नेपाल पनि उक्त सङ्गठनको सदस्य राष्ट्र भएकोले यसै सन्दर्भमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको स्थापना भएको हो । युनेस्कोको प्रधान कार्यालयसँग समन्वय गरी कार्यलाई सहजता प्रदान गर्न पेरिसस्थित नेपाली राजदूतावासलाई युनेस्कोका निमत्त नेपाल राष्ट्रिय आयोगका स्थायी प्रतिनिधिको रूपमा कार्य गर्न तोकिएको छ । प्रत्येक २–२ वर्षमा युनेस्कोको महासभा युनेस्कोको प्रधान कार्यालय पेरिसमा सञ्चालन हुने गर्दछ ।

No photo description available.आयोगको उद्देश्य के हो ?

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले निम्न उद्देश्यसहित विभिन्न कार्यहरु सञ्चालन गर्दछ ।
१) शिक्षा, विज्ञान र संस्कृतिको माध्यमद्वारा संयुक्त राष्ट्र सङ्घको घोषणा पत्रमा उल्लेखित उद्देश्य अनुरूप युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको उद्देश्य निम्न अनुसार छन्ः
२) शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक कार्यक्रमहरूको माध्यमद्वारा नेपाली जनताको आर्थिक, सामाजिक एवम् बौद्धिक विकास गर्ने ।
३) शिक्षा, संस्कृति, विज्ञान, आमसञ्चार तथा सामाजिक क्षेत्रमा अध्ययन अनुसन्धान, तालिम, गोष्ठी, सभा, सम्मेलन आदि गर्ने, गराउने ।
४) आफ्नो देशको गौरवमय संस्कृतिको वैभवलाई विश्वका अन्य राष्ट्रहरूमा स्रोत साधनले भ्याएसम्म परिचित गर्ने, गराउने ।
५) युनेस्कोको उद्देश्य एवम् कार्यक्रमहरूको प्रचार प्रसार गरी सर्वसाधारण जनता समक्ष पुर्याउने ।
६) अन्तर्राष्ट्रिय एवम् क्षेत्रीयस्तरमा युनेस्कोबाट सञ्चालित कार्यक्रममा सघाउ पुर्याउने ।
७) युनेस्कोको सहयोगमा सञ्चालित राष्ट्रिय तथा क्षेत्रीय विकास आयोजना एवम् कार्यक्रमहरूको कार्यान्वयनमा सहयोग पुर्याउने ।

No photo description available.
युनेस्कोका कार्यहरुः

युनेस्को पेरिसको विधानबाट समेत निर्देशित रहेको युनेस्कोका निमित्ता नेपाल राष्ट्रिय आयोगको विधानले आयोगको संरचनालाई युनेस्को पेरिसको संरचनासँग मिल्दो किसिमले अंगिकार गरेको छ । आफ्नो विधान, युनेस्को पेरिसका कार्यक्रम तथा नेपाल सरकार विशेष गरी शिक्षा मन्त्रालयसँगको समन्वय एवम् निकटतामा रहेर यसले विभिन्न कार्यहरू गर्दछ । आयोगका प्रमुख कार्यहरूमा शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक कार्यक्रमहरूको माध्यमद्वारा नेपाली जनताको आर्थिक, सामाजिक एवम् बौद्धिक विकास गर्ने, शिक्षा, संस्कृति, विज्ञान, आमसञ्चार तथा सामाजिक क्षेत्रमा अध्ययन अनुसन्धान, तालीम, गोष्ठी, सभा, सम्मेलन आदि गर्ने, गराउने, आफ्नो देशको गौरवमय संस्कृतिको वैभवलाई विश्वका अन्य राष्ट्रहरूमा आफ्नो साधनले भ्याएसम्म परिचित गर्ने, गराउने रहेको छ ।
त्यस्तै, युनेस्कोको उद्देश्य, आदर्श एवम् कार्यक्रमहरूको प्रचार प्रसार गरी सर्वसाधारण जनता समक्ष पुर्याउने, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीयस्तरमा युनेस्कोबाट सञ्चालित कार्यक्रममा सघाउ पुर्याउने, युनेस्कोको सहयोगमा सञ्चालित राष्ट्रिय तथा क्षेत्रीय विकास आयोजना एवम् कार्यक्रमहरूको कार्यान्वयनमा सहयोग पुर्याउने रहेको छ ।

No photo description available.
आयोगले प्रत्येक दुइ वर्षमा हुने युनेस्कोको महाधिवेशनमा भाग लिन जाने प्रतिनिधि मण्डललाई आवश्यक सरसल्लाह र निर्देशन दिने, युनेस्कोद्वारा पारित प्रस्तावहरू कार्यान्वयन गर्ने गराउने, युनेस्कोको उच्चतम आदर्श प्राप्तिका लागि समय समयमा सदस्य राष्ट्रहरू बिच भ्रमणको आदान प्रदानबाट अन्तर्राष्ट्रिय समझदारी र आपसी सहयोग बढाउने कार्य गर्दछ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय समझदारी बढाउने खालका सामाग्रीहरूको अन्तर्राष्ट्रियस्तरमा आदान प्रदान आदि कार्य गर्ने गराउने, आयोगसँग सम्वद्ध युनेस्को क्लबद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरूको सुपरिवेक्षण गर्ने गराउने, युनेस्कोका अरू सदस्य राष्ट्रहरूको आयोगसँग सम्पर्क बढाउने र सहकार्य गर्ने, आयोगको महाधिवेशन कम्तीमा वर्षको एक पटक बोलाउने र युनेस्कोको उद्देश्य प्राप्तिका लागि सङ्कल्प प्रस्तावहरू पारित गर्ने काम गर्दछ ।

No photo description available.

को हुन शेर्पा ?

ओखलढुंगा जिल्लाको खिजीदेम्बा ६ फेदीमा जन्मिनुभएका शेर्पा १८ बर्षसम्म अमेरिकामा वसोवास गर्नुभई नेपाल फर्किनुभएको हो । स्वच्छ राजनैतिक प्रतिस्पर्धामार्फत समाज रुपान्तरणमा योगदान दिने उद्देश्यसहित अमेरिकन विशिष्ट नागरिकता त्यागी नेपाल आउनु भएको हो ।
राजनैतिकमा आउनु अघि कलाकारिता र समाजसेवामार्फत विश्व पहिचान बनाउनु भएका शेर्पाले शिक्षा, स्वास्थ्य, जिविकोपार्जनका क्षेत्रमा विभिन्न सहयोग गर्दै आउनु भएको थियो । त्यस्तै, भूकम्प, बाढी पहिरो लगायत प्राकृतिक विपती, कोरोना महामारी लगायतमा नागरिकलाई राहात सहयोग गर्दै उहाँले योगदान दिनुभयो । सांगीतिक कार्यक्रममार्फत विश्व भ्रमण गर्नुभएका शेर्पाले कलाकारितामार्फत विश्वभर ख्याती कमाउनु भएको छ ।

No photo description available.
नेपाल आउनुभएको छोटो समयमा नै खिजीदेम्बा गाउँपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुँदै स्थानीइ सरकारको नेतृत्वमा पुग्नु भएका शेर्पा राष्ट्रिय निर्देशक समितिको सदस्य समेत हुनुहुन्छ । पालिका अध्यक्ष भएसँगै श्रम संस्कृतिको विकास गर्दै आफै घैँती, वेल्चा लिएर सडक सफाई विकास निर्माण जुटेर चर्चामा समेत आउनुभयो । त्यस्तै, स्थानीय सरकारलाई चुस्त, जनमैत्री र मिताव्यायी बनाउँदै समृद्ध बनाउनुपर्ने अवधारणसहित विभिन्न नवितम् योजना, नीतिहरु अघि सार्नुभयो ।
त्यस्तै, गाउँपालिकामा मातृभाषा, असहायहरुका संरक्षणका लागि आमा घर लगायत विभिन्न महत्वकांक्षीहरु अघि सारेर शेर्पाले कार्यकालको शुरुवातमै आम नागरिकको मन जित्न सफल हुनुभएको छ । घरघर सरकारी सेवा, वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीतिसहित शेर्पाले कार्य गर्नुभयो । शेर्पाको क्रियाशिलता, योगदान र विशिष्ठ क्षमताको मूल्याङ्कन गर्दै युनेस्को राष्ट्रिय आयोगको सदस्यमा मनोनित हुनुभएको हो ।

No photo description available.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार