जसिहव राई
ओखलढुङ्गा (सार्वजनिक) । भारतीय भुपु सैनिक संघ, ओखलढुङ्गाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । भारतीय सेनामा नेपाली युवाहरुलाई सहज रुपमा भर्ती हुन पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
संघ ओखलढुङ्गाका महासचिव मकर बहादुर गुरुङ्गको नेतृत्वमा पुगेको टोलीले प्रशाकीय अधिकृत रेवन्त दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा युवाहरुलाई सहज रुपमा भारतीय सैनिकमा भर्ती हुन पाउने व्यवस्थाको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
भारत सरकारको अग्निपथ योजना अन्तर्गत ४ बर्षको सेवा अवधी तोकिएको र नेपाली युवाहरुलाई भर्ती हुन पाउने व्यवस्थाका सन्दर्भमा नेपाल सरकार मौन बसेकाले ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराउनु परेको भुपु सैनिक मध्येका एक थगेन्द्रराज राईले जानकारी दिनुभयो ।
९ बुँदे मागसहित बुझाइएको ध्यानाकर्षण पत्रमा सरकारको मौनताले भारतीय सेनामा भर्ती भएर सेवा गर्न चाहने युवाहरुको मनोकांक्षमा कुठराघात गरेको आरोप छ । त्यस्तै, लाखौं युवाहरु वेरोजगार रहेको र समस्याको समाधानका लागि पनि सैनिक भर्ती खुलाउनुपर्ने संघको माग छ ।
४ बर्षसम्म भारतीय सेनामा काम गरेपछि पुनः अर्धसैनिक बलमा समेत काम गर्न पाउने गरी भर्ती खुलाउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गर्दै भुपु सैनिकहरुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ‘सरकारले अबलम्बन गरेको असंलग्न पराराष्ट्र नीति, मुलुकको विशिष्ट भू–राजनैतिक अवस्थिती आदि संवेदनशीलतामा असर पर्ने गरी कुनैपनि कार्य कोही कसैबाट नगर्ने वस्तुगत यर्थाथतामा महासंघ सदैव प्रष्ट र सचेत छ ।’
भारतले परिवर्तित सैन्य नीति अन्तर्गत २०७८ मा नेपाली युवाहरुलाई भर्ती गरी लैजान खोजेको भएता पनि सरकारी तवरबाट पहल र नीतिगत रुपमा व्यवस्थापन नहुँदा अवसरबाट बञ्चित भएको भुपुसैनिक गजेन्द्र राईको दाबी छ ।
भारतीय सेनामा युवाहरुलाई भर्ती गर्न सकेमा नेपालमा विद्यामान वेरोजगारको समस्यालाई आंशिक रुपमा भएपनि समाधान हुने र युवाहरुको भविष्य समेत सुनिश्चित हुने संघको विश्वास छ । ज्ञापन पत्र बुझ्दै प्रशासकीय अधिकृत दाहालले आफूहरुले माथिल्लो निकायमा जस्ताको तस्तै कार्वाहीका लागि फाइल पठाउने र माग संवोधन गर्न पहल गर्ने भन्दै भारतीय भुपु सैनिकहरुलाई विश्वास्त पार्नुभयो ।