कृषि अंगालौं, कृषकलाई सम्मान गरौंः आचार्य शेर्पा

काठमाडौं (सार्वजनिक) । हिमाली बौद्ध सम्प्रदायका विद्धान आचार्य कर्मा सङ्गपो शेर्पाले परम्परागत प्रणालीलाई विर्सनु नहुने बताउनुभएको छ । हिमाली शेर्पा समाज काठमाडौंको आठौं अधिवेशनमा आचार्यले परम्परागत प्रणाली अन्तर्गत कृषि र कृषकलाई सम्मान गर्नुपर्ने बताउनुभएको हो ।
विगतमा पितापूर्खाहरु अन्ना भण्डारण गर्ने, त्यसलाई समयसापेक्ष सदुपयोग गर्ने गरेता पनि अहिले महल बनाएर कृषिलाई अपहेलना भइरहेको आचार्य शेर्पाको दाबी छ । ‘हिजो हाम्रा पूर्खाहरु कर्मा योगी हुनुहुन्थ्यो, अन्ना भण्डारण गर्नु हुन्थ्यो । तर, अहिले हामी विलासी भएका छौं ।’ देखासीकी गर्ने र देखावटी खुसीको पछि अहिलेको पुस्ता बढेको बताउनु हुँदै आचार्य शेर्पाले भन्नुभयो ‘अहिले क्षणिक खुसी र दुनियाँलाई रंगिन देखाउने मात्रै काम भएको छ ।’
लुम्बिनी विकास कोषका तत्कालिन उपाध्यक्ष समेत रहनु भएका आचार्य शेर्पाले लोभ, इश्र्या, पाप कर्म नगर्नु भन्ने बुद्धको सन्देशलाई परिपालना गर्न सके मावन सुखमा रम्न सक्ने भएतापनि आधुनिकताले मानिसलाई त्यसको खिलापमा उभिन वाध्य बनाएको दाबी गर्नुभयो ।
उहाँकै शब्दमा ‘हिजो पूर्खाहरु खेती गर्नुहुन्थ्यो, मुरीका मुरी मकै, भकारीमा आलु हुन्थ्यो, अहिले हामीसँग सिमेन्ट र गिट्टीको घर त छ तर कथनकदाचित बजारमा चामल सकियो भने के यही खाएर बाँचिएला त ?’

No description available.
आचार्य शेर्पाले गाउँका सारा जग्ग बाँझो राखेर शहरमा आदर्शको कुरा गर्नले नै देश ठूलो आर्थिक संकटमा परेको संकेत गर्नुभयो । उहाँले भन्नु भयो ‘हामी कृषि गर्दैनौं, किसान गर्नेहरु साना हुन् भन्ने भावना बोक्छौं तर यदि किसानले उत्पादन नगरेको भए हामी बजारमा खुरुक्क गएर चामल, दाल किनेर ल्याउने र कुकरमा सिट्ठी लगाएर कसरी खान्छौं ?’
कामको सम्मान गर्नुपर्ने र कर्म गर्नेलाई सर्वश्रेष्ठ मान्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका आचार्य शेर्पाको भनाइ थियो । उहाँले बुद्धको शिललाई शिरोपर गर्ने हो भने उचनिच, जातवात्, धनिगरिव जस्ता जातीय र वर्गीय विभेद स्वत अन्त्य हुने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दाउछिरी शेर्पाले प्रमुख अतिथि, विशेष अतिथि लगायतलाई मायाको चिनो वितरण गर्नुयभो । राजधानीको अत्तरखेलमा भएको कार्यक्रममा नेपाल शेर्पा संघ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका प्रतिनिधी, संस्थाका पूर्व अध्यक्ष लगायत सहभागि रहनुभएको थियो । सोही अवसरमा संरक्षक, आजीवन सदस्य र कार्यक्रम प्रयोजकलाई सम्मान समेत गर्नुभएको पूर्व अध्यक्ष मध्येका एक दावा शेर्पाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार