खिजीदेम्बाका चौरी गोठहरु झिलीमिल्ली

अन्जना राई (अन्जु)

ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले चौरी पालक कृषकहरुका लागि सौर्य उर्जा प्रणाली (सोलार) वितरण गरेको छ । गाउँपालिकामा चौंरी पालन गर्ने ६ गोठलाई सोलार वितरण गरेको हो ।
देम्बाराम्दीङ्ग आसपासका ६ गोठ चौरी पालक कृषकलाई निःशुल्क ८० वाट क्षमताको सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।
गाउँमा विद्युतीकरण भएपनि लेकाली चौरी गोठ वस्ने क्षेत्रमा विद्युत अभावले मट्टीतेल, पुल्ठो, दियालो बाल्नुपर्ने वाध्यात्मक अवस्थाको अन्त्यका लागि चौरीपालक कृषकहरुलाई सौर्य उर्जा प्रणाली गाउँपालिकाले वितरण गरेको अधयक्ष शेर्पाको भनाइ छ ।
सौर्य प्रणाली जडानसँगै गोठभित्र र वाहिर गरी १० वटासम्म बत्ति वाल्न सकिने भएकाले चौँरीगाईको सुरक्षा, गोठमा पनि कृषकका वालबालिकाले उज्यालोमा पढ्न, लेख्न सहजता, कृषकहरुलाई चौरी पालनमा प्रोत्साहन होस् भन्ने हेतुले सहयोग गरेको जनाइएको छ ।
सोलार वितरणसँगै चौरीपालनलाई व्यवसायीकरण गर्दै रात्री समयमा पनि दुधजन्य वस्तुको काम गर्दै दुग्ध उत्पादनहरुको व्यवस्थापन गर्न कृषकलाई सहज हुने गाउँपालिकाको विश्वास छ । गोठगोठमा सोलार जडानसँगै दिनभर चौरीको चरणमा हुने भएकाले महि पार्ने, स्यारग्यम बनाउने लगायत कामहरु रातको समयमा गर्न सहज भएको कृषक माया शेर्पाको भनाइ छ ।
पशुपालनमा रुची भएपनि सुरक्षा, सेवा सुविधाहरु नहुँदा कृषकहरुमा नैरश्यता छाइरहेको अवस्थामा गाउँपालिकाले सोलार वितरण गरेर सहयोग गरेको प्रति कृषकहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले गाउँपालिकाले दुधजन्य वस्तुको बजारीकरण, विमा सुरक्षा, चरिचरण क्षेत्रको व्यवस्थामा सहजिकरण गरी दिन समेत अनुरोध गरेका छन् ।
परम्परागत रुपमा पशुपालन गर्दै आएका यस क्षेत्रका कृषकहरुलाई गाउँपालिकाले आधुनिक तवरले काम गर्न विभिन्न तालिम कार्यक्रमसहित प्रोत्साहन दिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार