काठमाडौँ । साउनयता करिब ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमति पत्र (एनओसी) लिएका छन् । वैदेशिक रोजगार शाखाबाट ९ महिनाको यो अवधिमा ७९ हजार ३०९ जनाले एनओसी लिएका हुन् । प्रत्येक वर्ष १ लाख ५० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने गरेका छन् । सरदरमा दैनिक ३०० जना अध्ययनका लागि विदेश जाने गरेको देखिन्छ । बिदेसिने विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ ।
एकातिर बिदेसिने क्रममा बढिरहेको छ भने अर्कोतिर कलेजहरूले विद्यार्थी नपाउने समस्या देखिएको छ । विद्यार्थीको अभावमा विश्वविद्यालयहरूले कतिपय कार्यक्रम त बन्द गर्नुपरेको अवस्था छ । सञ्चालनमा रहेका कार्यक्रममा पनि विद्यार्थीहरूको चार्म देखिँदैन । यस्तो अवस्थाप्रति कलेज सञ्चालकहरू तथा प्राध्यापकहरूले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल पब्लिक क्याम्पस संघको १२ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने प्राध्यापकहरू तथा प्रमुखहरूले यसप्रति चिन्ता व्यक्त गरेका हुन् । लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले कलेजहरूले विभिन्न समस्याको सामना गर्नु परिरहेको बताए । स्रोत साधनको अभावमा कलेजहरूले विद्यार्थीलाई आकर्षित गराउन नसकिरहेको उनको भनाइ छ ।
कतिपय कलेजहरू शिक्षक÷कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा पुगेको बताए । ‘कतिपय कलेजहरू भाडामा बसिरहेका छन् । कतिपयको आफ्नै भवन पनि छैनन् । भने कति कलेजको अर्बौँको सम्पत्ति छ । शिक्षक कर्मचारीलाई पेन्सन समेत खुवाइरहेका छन् । यस्तो खालको समस्या हाम्रा कलेजहरूमा देखियो,’ उनले भने ।
विद्यार्थीको अभावमा विश्वविद्यालयहरू भूत बंगला हुने अवस्थामा पुग्न लागेको उनको भनाइ छ । ‘कलेजमा इन्रोल हुँदा १७०० विद्यार्थी हुन्छन् । चार वर्षपछि अन्तिममा ३०० जना पनि पास हुँदैनन् । अनि यस्तो अवस्थामा विद्यार्थीहरू किन पढ्छन् ? हाम्रोसामु गम्भीर प्रश्न छ,’ उनले भने ।
अब विश्वविद्यालयहरूको प्रारूप नै परिवर्तन गर्नुपर्ने अवस्थामा आएको उनको भनाइ छ । ‘विश्वविद्यालयमा अहिलेकै अवस्था हुने हो भने केही वर्षमा विद्यार्थी खोज्नुपर्ने हुनसक्छ । अब विश्वविद्यालयहरूको प्रारूप नै परिवर्तन गर्नुपर्छ,’ उनले भने ।
शिक्षा क्षेत्रमा झापड हानिएको भन्दै उनले यसलाई समयमै सुधार गर्न सकिएन भने भोलि ठुलो समस्या निम्त्याउने चेतावनी दिए । पश्चिम रुकुमको राईझुला क्याम्पसका प्रमुख तेज बहादुर मल्लले क्याम्पसहरूको स्तरबृद्धि लामो समय हुन नसकेको बताए । राज्यले क्याम्पसहरूको विकासका लागि लगानी गर्न नसकेको भन्दै उनले भने, ‘सहरमा भन्दा गाउँघरतिरका क्याम्पसहरू कस्तो अवस्थामा सञ्चालन गर्नुपरेको छ, त्यो राज्यले देख्न सकेको छैन । हामी धेरै कुराहरू जोडजाड गरेर विद्यार्थीहरूलाई पढाउनुपर्ने बाध्यता छ ।’
सामुदायिक र निजी कलेजबीच निकै ठुलो खाडल रहेको भन्दै त्यसको अन्त्यका लागि कलेजहरूमा लगानी बढाउनुपर्ने बताए । कान्तिपुर क्याम्पसको सञ्चालक समितिका अध्यक्ष दीपक कुँईकेलले कलेजहरूले थुप्रै समस्याको सामना गर्दै आइरहेको बताए । २०३७ सालदेखि सामुदायिक क्याम्पस खुल्दै आएको भन्दै अहिले नयाँ नयाँ समस्या थपिरहेको उनको भनाइ छ ।
नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्कका अध्यक्ष लोचनलाल अमात्यले नेपालमा रिसर्चको पाटो निकै कमजोर रहेको बताए । नयाँ नयाँ कुराको रिसर्च गरेर अगाडि बढ्नुपर्नेमा पढेर विदेश जाने प्रचलन बढेको उनको भनाइ छ ।
विश्वमा भइरहेका नयाँ नयाँ रिसर्चहरूलाई पनि नेपालमा ल्याउन सकियो भने यसले नेपालमा विश्वविद्यालयहरूले चलायमान बनाउन सकिने बताए । सामुदायिक क्याम्पस जोगाएर अगाडि बढेको खण्डमा मात्र उच्च शिक्षालाई व्यवस्थित बनाउन सकिने उनीहरूको भनाइ थियो ।
विदेशमा पाइने शिक्षा नेपालमा पनि पाइरहेको तर, विद्यार्थीहरू एक छिन पनि नेपाल बस्न नचाहिरहेको भन्दै उनीहरूले यसमा गम्भीर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षामन्त्री अशोक कुमार राई राईले विदेश जाने क्रम बढिरहेको भन्दै यसप्रति सरकार गम्भीर रहेको बताए । शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या सबैको सहयोग र सहकार्यमा मात्र समाधान गर्न सकिने भन्दै त्यसका लागि राज्य हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताएका थिए ।
त्रिवि सभा हलमा आजदेखि सुरु भएको १२ औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । भोलिसम्म चल्ने महाधिवेशनमा सामुदायिक क्याम्पसले भोग्दै आएका समस्या, तिनको समाधान लगायतका विविध विषयमा समेत छलफल हुनेछ ।
यो संस्था सेवामुखी भावले समुदायबाट जनस्तरमा सञ्चालन भएका सामुदायिक क्याम्पसहरूको साझा संस्था हो ।