विमला तिवारी
म खुसी हुन आफूलाई बाल्यकालका सेरोफेरो भित्र लगेर हेर्नेगर्छु। कति खुसी र उत्साह मिसिएको थियो त्यो कालमा। सम्झना गर्दा मात्र पनि कति आनन्द दिन्छ त्यो समयले।
म त्यही समयभित्रको सम्झनामा डुब्न पुग्छु। मलाई बारबार एउटै कुराले सताइरहन्छ। म पढेर के बन्नसक्छु होला? कहिले डक्टर, कहिले पाइलट त कहिले आर्मी बन्ने भूत पनि ममा सवार भइरहन्छ। यस्ता धेरै नामहरू छन् जुन म के बन्ने भनेर सोचेकी हुन्छु।
दिनैपिच्छे मस्तिष्कमा यी विषयले मलाई प्रश्न गरिरहन्छन्। त्यही कारण म आमालाई सोध्छु- आमा, म ठूली भएर के बनौँ?
आमा मलाई एकतमास हेर्नुहुन्छ र भन्नुहुन्छ- तिमीलाई के बन्न रहर छ त्यही बन न।
म खुसी भएर चङ्गा जस्तो गरी आकाशमा पुगेको अनुभूति गर्छु। साँझ बाबासँग सोध्छु त्यही प्रश्न जुन आमासँग सोधेकी थिएँ। उहाँ पनि खुसी भएर मलाई मेरो रोजाइमा छोडिदिनु हुन्छ।
आहा! कति सुन्दर थिए ती दिनहरू। कोही कसैले मलाई गाली गर्दैनथ्यो। जे भने त्यो पूरा हुन्थ्यो। नभए रोइदिन मिल्थ्यो। मलाई त्यतिबेला लाग्थ्यो, मैले आँट गरेँ भने चारैतिरबाट साहसी हौसला मिलिहाल्छ नि। मैले त जे पनि गर्न सक्छु नि।
जब म बाह्र/तेह्र वर्षमा प्रवेश गरेँ, मेरो शरीरमा शारीरिक परिवर्तनका लक्षणहरू देखा परे। त्यही क्रममा मलाई रजस्वला भयो। हुनु अनिवार्य थियो। शरीरबाट निस्किनु पर्ने अनिवार्य रगत निस्किएपछि मेरो नैतिक शिक्षाको अनौपचारिक कक्षा सुरु हुनथाल्यो।
अनौपचारिक शिक्षाको जिम्मेवारी मेरी आमाको भागमा थियो। रजस्वलालाई आमाले नछुनी भएको भन्नुभयो। त्यो समयमा मलाई परिवारका सदस्यबाट टाढा बस्न भनियो। भात भान्छाबाट पनि पन्छाइयो। भगवानको दर्शन गर्न बञ्चित गराइयो।
यी सबै चली आएका संस्कारहरू होलान्। तर मलाई भने यो कुराले तनाव दिन सुरु गर्यो। रजस्वला हुँदैमा पर बस्न पर्ने! अघिपछि आमाको भान्छामा सघाउने म यतिबेला भान्छामा नअटाउने!
भगवानको भाँडाकुडा पखाल्न सधैं म चाहिन्थ्यो। यतिबेला मैले हेर्न पनि नहुने। कस्तो संस्कार र संस्कृति रहेछ हाम्रो भनेर कता-कता पीडाको आभास दिलायो। परापूर्व कालदेखि सञ्चालनमा आएको नियमविरुद्ध जान सकिनँ। अझ यसो भनौं मैले त्यहाँ विद्रोह गर्न सकिनँ।
कक्षा आठमा पढ्दै गर्दा मलाई पढाउने सरले फरक दृष्टिले हेरेको थाहा पाएँ। मेरो शरीरको वरिपरि वहाँ हात डुलाउने गर्न थाल्नुभयो। मैले यो कुरा आमालाई बताएँ। आमाले मलाई चुप रहन सिकाउनु भयो। योबारे मैले केही भनेमा परिवारको इज्जतमा आँच आउने। भोलिपर्सि मेरो विवाहमा समस्या निम्तन सक्ने।
यस्ता कुरालाई बाहिर आउन दिन नहुने, भित्रै राख्न भन्दै आमाले मलाई सहने बाटो हिँड्न सुझाउनु भयो। संयोगवश सरको अर्को स्कुलमा सरुवा भएपछि म खुसी र सुरक्षित भएको पाएँ। सरको त्यहाँबाट सरुवा भएपछि मेरो मिल्ने साथी पनि अति नै खुसी भइन्। कारण त अरु केही नभएर जुन ममा भएको थियो त्यही नै रहेछ।
यहाँ पनि मेरो र उनको आवाजलाई भित्रै दबाइयो। मेरो र साथीको आवाजमा लगाम कसियो, त्योबेला आफ्ना बाबुआमाबाट। जब यो कुराको बारेमा कहीँकतै चर्चा चल्यो भने। यस्तो कुरा कोहीसँग पनि बताउन हुँदैन। यसले इज्जतमा दाग लाग्छ।
वहाँहरूको सम्झाइ बुझाइ यस्तै थियो। आमाबाबुको शिक्षा बमोजिम म कोहीसँग पनि दोहोरो सवालजवाफ नगर्ने बनेँ। मैले चाहेर पनि मान्छेको गलत प्रवृत्तिविरुद्ध त्यहाँ बोल्न सकिनँ। फेरि मैले अर्को गर्नैपर्ने एक विद्रोहलाई त्यही रोकेँ।
मैले विद्यालयको शिक्षा पूरा गरे। अब मलाई कलेज पढ्न जान कहिले पाइन्छ भन्ने चाहना बढ्न थाल्यो। तर परिवारले मेरो पढाइभन्दा विवाहलाई प्राथमिकता दिन थाल्यो। मैले थप शिक्षाको अवसर खोज्दा ‘पढ्नेलाई विवाहले असर गर्दैन, विवाहपछि पनि अध्ययन जारी राख्न सकिने’ बताउन थालियो।
तर वरपरका दिदी, अन्टी र भाउजूहरूको अवस्था मेरो अगाडि फनफन घुम्यो। एसएलसीपछि बिहे गरेकी दिदीले वर्ष दिनपछि काखे छोरालाई लिएर आउन थालिन्।
‘भिनाजुले पढ भन्नुहुन्छ, बच्चा कसले हेरिदिने? त्यसैले पढन छोडेँ। छोरो हुर्केपछि पढ्छु त भनेकी छु, के हुन्छ’ दिदी यस्तै-यस्तै भन्थिन्।
अरु भाउजू र अन्टीहरूको अवस्था पनि त्यस्तै थियो। कोहीले भइरहेको जागिर छोडेर घर धानिरहेका थिए, कोही पढ्न नपाउँदा दुखी थिए। कोही जागिर छोड्दा दुखी।
मैले आमालाई यो सब बताएँ। तर आमाले मलाई समाधानको उपाय बताउनभन्दा छोरी मान्छेको नियति यस्तै हो भन्नुभयो।
‘छोरी भनेको अर्काको भाग्य खाने जात हो। उसलाई जस्तो घर पर्छ, त्यो घर अनुकूल बनेर जीवन बिताउनु पर्छ। यही नै हाम्रो जिन्दगीको सार हो। तिमीले त यति शिक्षा लिन पायौ, हामीले भन्दा तिमीले धेरै अवसर पाएकी छौ।’
यो सत्य थियो आमाले नटेकेको स्कुल म पुगेकै हो। यस्तै-यस्तै कुरालाई अगाडि सार्दै मलाई नियति स्वीकार गर्न बाध्य पारियो। त्यही कारण मैले फेरि बोल्ती बन्द गर्न पुगेँ। विद्रोहले यहाँ पनि जन्म लिन सकेन।
यी प्रतिनिधि घटनाले समाज नारी स्वतन्त्रताको लागि सहयोगी नरहेको मैले चाल पाएँ। यस्ता घटनाक्रमले मलाई आफू हुनुमा कमजोरी दिलाउँदै गयो। आमाले नारी भएको कारण मलाई पनि सम्झौता गर्ने बाटोतिर ढल्काउनु भयो।
यी नै मेरा पटक-पटक छोरी भएका प्रमाणपत्रहरू थिए। मैले ती प्रमाणपत्रलाई स्वीकार गर्दा मात्र म आफू हुन पाउने वातावरण वरपर पाएँ। त्यसैले मैले आफ्नो बोलीलाई बन्द गरेँ। तर मनलाई शान्त पार्न सकिनँ।
कति सजिलै मेरो रुचीलाई अपनाइएका थिए। आज ती रुचीमाथि अंकुश लाग्न थाले। तिमी जे चाहन्छौ त्यही बन त भनेकै हो। अहिले कहाँ गए ति स्वीकारोक्तिहरू? मैले ममाथि कसैले अभद्र व्यवहार गर्दा आज आवाजलाई लुकाउन पर्ने! नियमित शारीरिक प्रक्रियामा पनि पर बस्नुपर्ने!
विवाह पनि वहाँहरूले भनेपछि गर्नैपर्ने! मैले सोच्न थालेँ यी सबैमा म कहाँ रहेँ? मलाई लाग्न थाल्यो अब म, म रहिनँ। म म हुनुभन्दा वरपरका मान्छेको ममाथि हक-अधिकार रहेको महसुस भयो।
मलाई म पनि एक मानव हुँ। मेरो आफ्ना इच्छा र आकांक्षा हुन्छन्। मैले गर्न सक्ने म आफै गर्छु भनेर आमालाई बताएँ। तर आमाले छोरी मान्छेहरूले आफ्नोभन्दा आफ्नाहरूको लागि सोच्नुपर्छ भन्नुभयो- तिमीले त कसरी परिवारको खुसी र इज्जतलाई सन्तुलनमा राख्ने त्यो जान्नुपर्छ।
अब मलाई लाग्न थाल्यो मैले म हुन खोज्ने होइन। तर छोरी मान्छेको पहिचानभित्र पुग्ने हो। म समग्र परिवारको इज्जत हुँ। मैले परिवारको खुसी र इज्जतलाई सन्तुलनमा राख्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्छ।
मैले पटक-पटक आफूलाई गलत लागेका यस्ता कुराहरूमा सहयोगभन्दा बढी लुकाउने दबाउने गरेको मात्र पाएँ। कहीँ कतै पनि तिमीमाथि गलत व्यवहार गरेको हो भनेर बुझाइएन। यो अन्याय हो भन्दा पनि नियतिमाथि दोष लगाउँदै गइयो। मेरो चेतनामाथि बारम्बार लगाम कसिरहने काम भयो।
बाल्यकालमा पाएका हौसलाहरू त केबल क्षणिक आनन्द मात्र रहेछन्। किशोरी भएपछि खुसीहरूमा नियन्त्रित नैतिक शिक्षाको अंकुश लाग्न थाल्दो रहेछ। छोरा र छोरी बीचको विभेद बालककालमा पाइँदैन। जब उमेर बढ्दै जान्छ, छोरीप्रतिको धारणामा परिवर्तन हुनथाल्छ।
आमाबाबुको चिन्ता पनि छोरीप्रति ज्यादा हुन्छ। यति छोरीलाई राम्रो घरमा दिन पाए आरामले बस्ने थिए जस्ता वाक्यहरू घरमा बारम्बार दोहोरिरहन्छन्। यही नै थियो सायद मेरो हकमा पनि।
मेरो मन मस्तिष्कमा धेरै प्रश्नहरूको बाढी आउन खोजे। ती प्रश्नहरूको लामै चाङ बनेपछि मैले मेरा अभिभावकसँग कुरा पनि राखेँ। वहाँहरूले धैर्य साथ मेरो कुरालाई सुनिदिनु भयो। तर यी प्रश्नहरूको समाधान गर्न सहज नहुने बताउनु भयो।
‘सामाजिक मूल्य-मान्यता यस्तै छ। छोरी कहिले बाबुको त कहिले उसको श्रीमानको जिम्मेवारी हो। छोरी मान्छेको घर र थरको भर नहुने’ आमाले भन्नुभयो।
बुबाले मेरो जिम्मेवारी पूरा गरेपछि बल्ल आफूलाई आराम हुने बताउनु भयो। आमालाई मेरो घर कस्तो पर्छ भन्ने पीर। बाबुलाई जिम्मेवारीको बोझबाट मुक्त बन्न आँतुर।
अब आमाको पीर, बाबुको बोझ बन्नभन्दा पनि वहाँहरूलाई मबाट मुक्त बनाउन म जे भन्नुहुन्छ त्यो मान्ने भएँ। जुन व्यवस्थाभित्र मलाई बारबार पीडा भयो, मैले त्यही व्यवस्थाभित्र रहेर बाँच्न खाजेँ। म एक्लैले यो व्यवस्थाको विरोध गर्न असमर्थ थिएँ।
मलाई यी सबै गलत लागेका थिए र, सधैँ लागिरहन्छ पनि। त्यसपछि मैले मभित्र रहेका सम्पूर्ण विद्रोहका चेतलाई गुम्साउने निर्णय गरेँ। त्यति गर्न सकेर म पितृसत्तात्मक व्यवस्थाकी एक अर्की आज्ञाकारी छोरी बनेँ।
रजस्वला, यौन दुर्व्यवहार र विवाह त उदाहरण मात्र हुन्। यस्ता धेरै खातहरू छन्, विभेद र अवरोधका जुन मैले यहाँ यति मात्र उल्लेख गरेँ। त्यस्ता ठाउँहरूमा कहीँकतै पनि तिमीले भविष्य सुमधुर बनाउन अघि बढ्नुपर्छ भनिएन। विशुद्ध परिवारको हक र हितको ख्याल राख्ने शिक्षामा मात्र प्रेरित गरियो। नारी मानव हुनुको छुट्टै पहिचान छ भन्ने आभास कहीँ भेटिएन। आफ्नो पहिचान बनाउने बाटो हिँड्न प्रेरणा दिइएन।
किन छोरीलाई यस्तो शिक्षा दिइन्छ? सधैँ दयाको छहारी बनेर हिँड्न मात्र सिकाइन्छ। आफ्नै बलबुतामा बाँच्न किन सिकाइँदैन? छोरीलाई सहनशीलता केको लागि? पीडित बन्नका लागि? छोरीलाई अनौपचारिक नियन्त्रित शिक्षा किन? अगाडि बढ्न नदिन? यस्ता प्रश्नहरू मेरो मन मष्तिस्कमा उब्जन थाले।
यी सबै कुराहरूको नजिक पुग्दा मैले यो थाहा पाएँ कि नारी र पुरुषबीचको विभेदीत संरचना निकै कहालिलाग्दो छ। यसको संहार गर्न विद्रोही चेत भएका नारी-पुरुषको समान सहभागिताबिना सम्भव नै छैन। दुवै जनाको समान उपस्थितिले मात्र यसलाई हल्लाउन सकिन्छ। अन्यथा सानोतिनो विद्रोहले यसलाई संहार गर्न सकिँदैन।
@सेतोपाटीबाट साभार ।